बायोमेट्रिक हाजिरी नमिलेमा श्रमिकलाई विमानस्थलको श्रम कक्षबाटै फर्काइने

 चैत १८, २०७७ बुधबार १४:२३:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  आउँदो वैशाख १ गतेदेखि अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षमा बायोमेट्रिक हाजिरी नमिलेमा वैदेशिक रोजगारीमा हिँडेका श्रमिकलाई श्रम कक्षबाट फर्काइने भएको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकले जानु पूर्व तोकिए अनुसारको अभिमुखीकरण तालिम र बायो नलिई प्रमाणपत्र मात्र लिने गरेको र नक्कली बायोमेट्रिक लिई जाने गरेको पाइएको भन्दै वैदेशिक रोजगार विभागले अब यसो गरेमा र श्रम कक्षमा बायोमेट्रिक हाजिरी नमिलेमा फर्काइने जनाएको हो ।  

वैदेशिक रोजगार ऐन र नियमावलीले वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रूपमा पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिनुपर्ने व्यवस्था गरेको छ । अभिमुखीकरण तालिम दिने संस्थाले समेत तोकिएको समयमा सम्बन्धित व्यक्तिको बायोमेट्रिक हाजिरी गराई तालिम दिनुपर्ने हुन्छ । त्यो हाजिरीको विवरण विभागको अनलाइन सूचना व्यवस्थापन प्रणालीमा उपलब्ध गराउनुपर्छ । 

तर पछिल्लो समय अनिवार्य रूपमा लिनुपर्ने अभिमुखीकरण तालिम नलिई तालिमको प्रमाणपत्र मात्र लिने र दिने गरिएको पाइएको विभागको भनाइ छ । 

विभागका अनुसार तोकिएको समयभित्र तालिम नलिएको तथा अर्कै व्यक्तिको बायोमेट्रिक हाजिरी विवरण रेकर्ड गराई तालिम गराएको लिएको कारणले विभागको श्रम कक्षमा वैदेशिक रोजगारीमा जाने श्रमिकको हाजिरी विवरण नमिल्ने गरेको छ ।

यसरी हाजिरी नमिल्दा इन्स्योरेन्स तथा कल्याणकारी कोषबाट प्राप्त हुने सुविधाबाट श्रमिक वञ्चित हुनेछन् भने बायोमेट्रिक नमिल्दा विदेशबाट पुनः श्रम स्वीकृति लिन समेत गाह्रो हुन्छ । 

साथै गन्तव्य देश सम्बन्धी  जानकारी, वैदेशिक रोजगार सम्बन्धी कानुन तथा अन्य आवश्यक जानकारीसमेत नहुँदा श्रमिकलाई नै परदेशमा जोखिम हुन्छ । त्यसैले वैदेशिक रोजगारीमा जानुअघि अनिवार्य रूपमा पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिन विभागले आग्रह गरेको छ । 

1 Comments

  • pradeep sanjel

    April 4, 2021, 1:37 a.m.

    वायोमेट्रिक हाजिर कहाँ र कुन ठाउँवाट गर्न सकिन्छ ?

तपाईको प्रतिक्रिया