भारतसँगको टेस्टमा अस्ट्रेलिया पहिलो पारीमा १ सय ४ रनमै अलआउट
मंसिर ८, २०८१ शनिबार
नेपाली दाजुभाइ दिदीबहिनीको सुरक्षित वैदेशिक रोजगारीका लागि बोर्डले परिमार्जनसहित पूर्व प्रस्थान अभिमुखीकरण तालिम पाठ्यक्रम कार्यान्वयनमा ल्याएको छ ।
परिमार्जित पूर्व प्रस्थान अभिमुखीकरण तालिम पाठ्यक्रममार्फत विगतमा जसरी अभिमुखीकरण तालिम भइरहेको थियो त्यो भन्दा फरक हिसाबले जाने बोर्डको प्रयास हो ।
अहिले वैदेशिक रोजगारीका लागि खाडीका देश हिँडेका दाजुभाइ दिदीबहिनीहरु कुन पृष्ठभूमिबाट आउनुहुन्छ भनेर मैले भन्नै पर्दैन । त्यसकारण उहाँहरुलाई घरबाट निस्केदेखि नेपालको विमानस्थल नपुग्दासम्म अपनाउने सावधानी, विमानस्थलमा हुने चेकिङ र जहाजमा चढ्नेदेखि यात्रा र सम्बन्धित देशमा पुगेपछि गर्न हुने/नहुने कुराहरु यो पाठ्यक्रममा समेटिएको छ ।
पहिलाको नै पाठ्यक्रमलाई आधार बनाएर अहिले पाठ्यक्रम बनाएका हौं । तर अहिले केही व्यवहारिक कुराहरु पनि समावेश गरिएको छ । परिवारसँग छुट्टिएर बस्दा तनावको कारणले पनि मानिसको जीवनमा विभिन्न दुर्घटनाहरु भएका हुन्छन् । त्यो दुर्घटना हुन नदिनका लागि के गर्ने, तनाब कम गर्ने उपायहरु के हुन्छन्, के गर्दा तनाब कम गर्न सकिन्छ भन्ने कुराहरु पनि पाठ्यक्रमले समेटेको छ ।
जो दाजुभाइ दिदीबहिनीहरु रोजगारीका लागि विदेश जानुहुन्छ । उहाँहरुको जीउ ज्यान एकदमै प्यारो छ । ज्यान भएन पैसा आउने हो । ज्यान सद्दे भए पैसा त जति पनि कमाउन सकिन्छ ।
त्यसैले कार्यस्थलमा हुने दुर्घटना, काम गर्दा ध्यान दिने कुराहरु, केमिकलहरुमा काम गर्नुपर्ने हो भने त्यसबाट बच्ने उपायहरु पनि अभिमुखीकरण तालिममा सिकाइन्छ । आफ्नो जीवन रक्षाका लागि शारीरिक र मानसिक हिसाबले जीवन रक्षाको उपयाहरु अभिमुखीकरण तालिममार्फत नै पाइन्छ ।
विदेश किन गइन्छ भन्दा आफ्नो, परिवार, बालबच्चा र आमाबुवाको लागि भनेर नै कमाउन जाने हो नि । त्यसकारण विदेशमा कमाएको पैसा सही तरिकाले पठाउने उपायसँगै त्यसको सही सदुपयोगको कुरासमेत यो तालिममा समेटिएको छ । यी कुरा हरेक श्रमिकले नबुझी हुँदैन ।
मलेसियामा जाने श्रमिकले कतारको कुरा बुझेर हुँदैन । त्यसकारण अहिलेको पाठ्यक्रमले देश अनुसारको जानकारी दिने कुरा समावेश गरेको छ ।
श्रमिक कुन देशमा जाने हो त्यो देशको कानुन, रीतिरिवाज, धर्म, चालचलन र रहनसहन लगायतका कुराहरु पनि देश अनुसार सिकाइन्छ । कम्तिमा सामान्य भाषा जस्तै मेरो नाम यो हो त भन्न सक्नुहोस् भन्ने हो । पहिला देशगत रुपमा थिएन । अहिले यो कुरा पनि समेटिएको छ ।
पहिले भन्दा अहिले त पठनपाठन गर्ने विधि पनि फरक छ । पहिले स्कुलको कक्षा कोठामा जस्तोगरी सिकाइन्थ्यो । तर अहिले बोर्डले त्यसरी हुँदैन भनेर निर्देश गरिसकेको छ ।
श्रव्यदृश्यको माध्यममार्फत पढाउन पर्छ भनेका छौं । कम्तिमा ६० प्रतिशत श्रव्यदृश्यमार्फत पाउनुपर्ने कुरा अहिलेको पाठ्यक्रमले समेटेको छ । कोही मानिसले किताबमा पढेको भन्दा भिडियोमा हेरेको कुरा छिटो सम्झन्छ र सिक्छ पनि ।
त्यसैले पनि अब बोर्डको जोड भनेको श्रव्य दृष्यको माध्यममार्फत तालिम भन्ने छ । कतिपय यस्ता सामग्रीहरु बनिसकेका छन् भने कतिपय बन्ने क्रममा पनि छन् । तालिमका लागि आवश्यक यी सामग्री बोर्डले नै तालिम प्रदायक संस्थालाई उपलब्ध गराउँछ ।
जसरी पनि श्रमिकलाई बुझाउनुपर्र्छ भन्ने हाम्रो उदेश्य छ । शारीरिक र मानसिक रुपमा जसरी उहाँहरु जानुहुन्छ, फर्कंदा त्योभन्दा पनि राम्रो भएर फर्कनुहोस् भन्ने हाम्रो चाहना हो ।
साँच्चै भन्ने हो भने त यो तालिममार्फत जे जति कुराहरु सिकाउन खोजिएको छ, त्यो सबै कुरा सिक्नका लागि अहिले तोकिएको दुई दिन या १२/१४ घण्टा पर्याप्त छैन । अहिलेको नेपालको सन्दर्भमा पर्याप्त नभएको हो । तर पनि बाध्यता के हो भने थोरै समयमा यस्तो महत्वपूर्ण विषय बुझिनेगरी सिकाउन पर्ने हाम्रो चुनौती छ ।
अब घर अघिल्तिर तालिम प्रदाय संस्था हुँदैनन् । ७७ वटै जिल्लाका दाजुभाइ दिदीबहिनीलाई चार पाँच दिनसम्म काठमाण्डौ या अन्य ठाउँमा गएर तालिम लिनुहोस् भन्न पनि व्यवहारिक हुँदैन । तर हामीले उहाँहरुले बुझ्नु पर्ने कुराहरु छाटो समयमा पढाउन सकियोस् भनेर प्रविधिको प्रयोग गरेका छौं । प्रविधिको उच्चतम प्रयोग गर्ने र अहिले भएका सञ्चारका माध्यमहरुलाई प्रयोग गर्ने हो भने छोटो समयमा पनि आवश्यक सूचना लिन सकिन्छ । हामी यही गर्ने प्रयत्न गरिरहेका छौं ।
यो पाठ्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउनका लागि अब हामी रणनीतिक हिसाबले अघि बढ्दै छौं । पहिलो कुरा त बोर्डले पूर्वप्रस्थान अभिमुखीकरण दिने इजाजतपत्र संस्थाहरुका प्रशिक्षकहरुलाई बोलाएर यो परिमार्जित पाठ्यक्रमका बारेमा तालिम दिइसकेको छ ।
यी विषयहरु यसरी पढाउनपर्छ भनेर भनेका छौं । उनीहरुको रोस्टर पनि बनाएका छौं । पढाउने र पढ्ने सिलसिलामा आवश्यक पर्ने कुराहरु पनि उपलब्ध गराउँछौं । यो कुरा अनलाइनमार्फत नै उहाँहरुले लिन सक्नुहुन्छ । व्यवहारिक हिसाबले कार्यान्वयन गर्छौं भनेर पनि उहाँहरुले प्रतिवद्धता व्यक्त गर्नुभएको छ । अब उहाँहरुले दिने अभिमुखीकरण तालिमको दिनहुँ अनुगमन गर्छौं ।
पहिलेजस्तो हैन अब हामी फरक तरिकाले अनुगमन गर्छौं । ७७ जिल्लामै उहाँहरुले तालिम दिएको स्थानमा गएर अनुगमन गर्ने जनशक्ति पनि छैन र यो सम्भव पनि छैन । तर हामीले चाहेको खण्डमा जुन तालिम प्रदायक संस्थाको पनि अनुगमन गर्न सक्नेगरी अब अनलाइन प्रणालीको विकास गर्दैछौं ।
अनलनइनमार्फत तुरुन्तै हेर्न सक्ने गरी व्यवस्था गर्छौं । त्यो अनुगमनको काम अब कल सेन्टरबाट हुन्छ । कल सेन्टरबाट चाहेको बेला उहाँहरुलाई सीसीटीभी खोल्न लगाउने र त्यसबाट अनुगमन गर्ने गरी हामीले व्यवस्था गरेका छौं । सबै तालिम प्रदायक संस्थामा अब सीसीटीभी पनि अनिवार्य गरिएको छ ।
तीन, चार जना सहभागीसँग सिधै कुरा गर्न सकिने व्यवस्था पनि हामीले मिलाएका छौं । बोर्डमा राष्ट्रिय आप्रवासन स्रोत केन्द्र पनि स्थापना भएको छ । अब ३९ जिल्लका १५६ पालिकाका आप्रवासी स्रोत केन्द्रहरुलाई पनि हामी सूचना सम्प्रेषणका लागि अनुरोध गछौं । त्यसकारण अब अभिमुखीकरण तालिमलाई गुणस्तरीय र नजितामुखी बनाउने काममा हामी प्रयत्नशिल छौं ।
यसबाट हाम्रो अपेक्षा भनेको अभिमुखीकरण तालिममा जुन खालको विकृतीहरु छ, त्यसको अन्त्य होस् भन्ने नै हो । अभिमुखीकरण तालिम दिनका लागि यतिको प्रयास गर्नु भनेकै हाम्रा दाजुभाइ दिदीबहिनीको जीवन प्यारो छ पैसा हैन ।
सरकारको काम भने एउटा श्रमिक सुरक्षित हिसाबले रोजगारीका लागि विदेश जाने, बस्ने र फर्कने वातावरण तयार गर्ने हो । त्यही अनुरुप यो तालिम पनि हो । त्यो भयो भन्दैमा सचिवालयले मात्र प्रयास गर्दैमा हुँदैन । तालिम प्रदाय संस्था, प्रशिक्षक, महासंघदेखि सबैजना जिम्मेवार हुनुपर्यो । सबैभन्दा ठूलो कुरा त जाने व्यक्ति पनि जिम्मेवार हुनु पर्यो । यो त कुनै संस्था वा बोर्डका लागि होइन नि ।
दुई दिन मैले यी कुरा बुझेर गयो भने मेरो वैदेशिक रोजगारी सुरक्षित हुन्छ भन्ने सोचेर तालिम लिनु पर्यो । तालिममा सिकाइने कुरालाई मनन गर्नुपर्यो । तीनै पक्षको जिम्मेवारी बोधले मात्र हामीले अपेक्षा गरेका नतिजा हासिल गर्छौं ।
अहिले दिनमा सरदर दुईदेखि तीनवटा शव आउँछ । दैनिक एक जनाको जस्तो त विभिन्न दुर्घटनाकै कारण अंगभंग भएको छ, ज्यान गएको छ । यसलाई जे भए पनि होस् भन्ने कि सङ्ख्या घटाउने त ? हो सङ्ख्या घटाउनतर्फ हामी सबैजना लाग्नु पर्यो ।
केही समस्या भयो भने हामी सबै मिलेर अघि बढ्ने हो र समाधान गर्ने हो । तालिम प्रदायक संस्थालाई यो पाठ्यक्रम कार्यान्वयन गर्न केही समस्या छ भने आउनुहोस् छलफल गरौं । अब कार्यान्वयन नगर्दासम्म त यो कस्तो हुन्छ भन्ने थाहा हुँदैन ।
यदि कार्यान्वयन गर्दा साँच्चिकै व्यवहारिक हिसाबमा समस्या देखियो भने हामी सबै मिलेर त्यो समस्याको समाधान गरौं । त्यसरी समाधान गर्दै जाँदा त हामीले सोचेअनुसार हाम्रो दाजुभाइ दिदीबहिनीको वैदेशिक रोजगार सुरक्षित हुँदै जाने हो नि । त्यसैले यो विषयमा तालिम प्रदायक संस्था पनि जिम्मेवार हिसाबले अघि बढ्नुहोस् हामी पनि अघि बढेकै छौं ।
आजको भोलि नै त नतिजा नदेखिएला । तर हामी सबै लागि परेका छौं । भन्छन् नि हिँडेपछि पुगिन्छ भनेर । एकदिन हामीले सोचेजस्तै नतिजा पनि आउला भन्नेमा म विश्वस्त छु । दुई दिनमा भाषा कसरी जान्ने त भन्ने कुरा पनि आउँछ । तर अब चाहने हो भने असम्भव त छैनन् नि ।
अब एउटा भाषाकै लागि छुट्टै एप बनाउँदैछौँ । त्यसमा मलेसिया भनेर थिचेपछि ठ्याक्कै दुईसय शब्द खुल्ने गरी एउटा एपको विकास गर्छौं । खाडी जाने हो भने त्यही अनुसारको भाषासहितको हामीले अब एउटा एप ल्याउछौं । आशा छ त्यसले कम्तिमा पनि श्रमिकले विदेश पुग्दा मेरो नाम यो हो, म यहाँ यसरी आएको, मलाई पानी तिर्खा लाग्योसम्म चाहिँ भन्न सकोस् भन्ने हो ।
सामान्य भाषा जान्दा गन्तव्य देशमा रोजगारदाता पनि सुखी हुन्छन् भने श्रमिक स्वंयमलाई पनि त सहज हुन्छ । यसरी नै बोर्डले तपाईँ श्रमिक दाजुभाइ दिदीबहिनीलाई सहयोग गर्न खोजिरहेको छ । आशा छ श्रमिक दाजुभाइ दिदीबहिनीले पनि अब गम्भीरताका साथ अभिमुखीकरण तालिम लिएर नै रोजगारीका लागि विदेश जानु हुनेछ ।
(कार्यकारी निर्देशक श्रेष्ठसँग कार्यक्रम देश परदेशका लागि सन्जिता देवकोटाले गर्नुभएको कुराकानीमा आधारित ।)
श्रेष्ठ वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक हुनुहुन्छ ।