ओमानमा 'गैरकानुनी' भएका विदेशी नागरिकलाई जरिवाना नतिरेरै घर फर्किन पाउने अवधि थप

 चैत १९, २०७७ बिहिबार १७:५४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ओमानमा अलेखबद्ध (गैरकानुनी) भएका विदेशी नागरिकलाई घर फर्किने अवधि थप गरिएको छ । 

भिसाको म्याद तथा आवासीय परिचयपत्रको अवधि समाप्त भइ अवैध रुपमा ओमानमा बस्दै आएका वा काम गरिरहेका सबै विदेशी नागरिकहरुलाई घर फर्किनको लागि निःशुल्क कानुनी प्रक्रियामा सहभागी हुने अवधि थप गरिएको हो ।

योभन्दा पहिले ओमानको श्रम मन्त्रालयले २०२० नोभेम्बर १५ देखि डिसेम्बर ३१ सम्मको अवधि थप गरेर २०२१ मार्च ३१ सम्म बनाएको थियो । कोरोना महामारीका कारण अवैधानिक नागरिक आफ्नो देश फर्किन नसकेकाले समय अवधि बढाएर अहिले जुन ३० सम्म बनाएको छ ।

यो सँगै ओमानमा रहेका नेपाली श्रमिकले पनि यसको फाइदा लिन सक्नेछन् । यो अवसरको फाइदा लिएर जरिवाना नतिरेरै आफ्नै खर्चमा घर फर्किन अलेखबद्ध नेपालीलाई ओमानमा रहेको दूतावासले आग्रह गरेको छ ।

यस्तै दूतावासले कामदार अनुमति पत्र तथा भिसाको म्याद सकिएर ओमानमा अलेखबद्ध भएका नेपाली श्रमिकलाई दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ । यो प्रक्रिया सम्बन्धी थप बुझ्नको लागि दूतावासको फोन नम्बर ७१५९२४९० वा ७१५९२५०६ मा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।
 

तपाईको प्रतिक्रिया