कुवेतमा अवैधानिक बनेका विदेशी नागरिकलाई आफ्नो कानुनी अवस्था सुधार्न मौका

 जेठ ७, २०७८ शुक्रबार १५:४०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कुवेतले त्यहाँको आवासीय कानुन उल्लङ्घन गरेका विदेशी नागरिकलाई वैधानिकता कायम गर्ने अवधि (ग्रेस पिरेड) थप गरेको छ ।

अघिल्लो पटकको म्याद यही मे १५ मा सकिएको छ । योसँगै कुवेतले फेरि एक महिनाको लागि ग्रेस पिरेड लम्ब्याउने त्यहाँका आन्तरिक मामिला मन्त्री थामेर अलीलाई उदृत गर्दै गल्फ न्युजले जनाएको छ । मानवीयताको जगमा रहेर नयाँ ‘ग्रेस पिरेड’ ल्याएको मन्त्री थामेरले बताउनुभएको गल्फ न्युजले जनाएको छ ।

थप गरिएको समयावधि भित्रमा  आफ्नो कानुनी अवस्था सच्याउन कुवेतले आग्रह गरेको छ । यो समयभित्र पनि आफ्नो कानुनी अवस्था नसच्याउनेहरुलाई कारबाही गरिने तथा जरिवाना तिराइने त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

उनीहरुको आवासीय भिसा रद्द गरिने, देश निकाला गरिने तथा पछि फेरि फर्केर आउन नमिल्ने गरी देश निकाला गर्ने जनाइएको छ । कुवेतले अहिलेसम्म चार पटक यो अवधि बढाइसकेको छ । गएको वर्ष मार्चमा कोरोना भाइरसको महामारी सुरु भएसँगै कुवेतले यस्तो अवसर दिन थालेको हो । कुवेतमा रहेका र अवैधानिक बनेका नेपाली श्रमिकले पनि यो अवसरको फाइदा लिन सक्नेछन् ।

कुवेतमा अवैधानिक भएर बसेका आप्रवासी यति नै छन् भन्ने कुनै तथ्यांक नभए पनि अघिल्लो वर्ष कुवेतमा भिसा उल्लंघन गरेका एक लाख जना जति आप्रवासी रहेको जनाइएको छ ।
 

तपाईको प्रतिक्रिया