दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – मे/जुनको गर्मीले भतक्कै पोल्छ खाडीमा । त्यसैमाथि कामविहीन भएर महिनौंसम्म कोठाभित्रै बस्दाको छटपटी । अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै स्वदेश फर्किन नपाएपछिको बेचैनी । अनि त्यही बेचैनीले गर्दा दिमागभरि मडारिन्छ निराशाको बादल ।
‘अब त यहीँ मरिएला कि जस्तो छ’, उज्यालोको फेसबुक पेजमा यूएईबाट सन्तोेष सुनार लेख्नुहुन्छ, ‘करार अवधि सकियो, काम छैन, कम्पनीले कोठा छाडेर निस्क भनिसक्यो । एक महिना त जसो तसो बाँचियो अब कसरी बाँच्ने सरकार ?’
सन्तोषसँगै उहाँका अरु साथीहरु पनि यही समस्या झेलिरहेका छन् । उडान खुल्लान् वा सरकारले उद्धार गर्ला भन्ने आशा पालेर बसेका छन् । तर न उडान खुल्ने खबर सुनिन्छ न त उद्धार गर्ने ।
‘परदेशीको पक्षमा नेताले बोलेको समाचार नै सुनिदैन, हाम्रो सरकार कहाँ हरायो’, सन्तोष प्रश्न गर्नुहुन्छ ।
गएको वैशाख २३ गते मध्य रातिदेखि नेपाल सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो । त्यसैमाथि यूएईले गएको बैशाख २९ गतेदेखि नेपालसहित चार देशका नागरिकको प्रवेशमा पनि रोक लगायो । लामो समयदेखि उडान बन्द भएका कारण अहिले धेरै नेपाली खाडी तथा मलेसिया लगायतका देशमा अड्किएका छन् ।
सन्तोष जस्तै करार अवधि सकिएको दुई महिना बितिसक्दा पनि साउदीबाट रवि बराल घर फर्किन पाउनुभएको छैन । बन्द भएका उडान चाँडै खुल्लान् भन्ने आशामा आफूसँग भएको पैसा पनि घर पठाएपछि अहिले उहाँ आपट सापट गरेर गुजरा चलाइरहनुभएको छ । नियमित उडान नगरे पनि सरकारले उद्धार उडान गरिदेओस् भन्ने उहाँको भनाइ छ ।
‘साथमा भएको पैसा घर पठाइयो, अहिले साथमा खाने पैसा पनि छैन’, रवि भन्नुहुन्छ, ‘न काम नै दिएको छ कम्पनीले । जेनतेन गरेर साथीभाइसँग मिलेर गुजारा चलाइ रहेको छु, सरकारले हाम्रो पीडा सुनोस् ।’
खाडी देशमा जस्तै मलेसियामा रहेका नेपाली श्रमिकको पीडा पनि उस्तै छ । धेरै नेपाली श्रमिकहरुको गन्तव्य देश मलेसिया लामो समयदेखि लकडाउनमा छ । कोरोनाको तीव्र संक्रमण रोक्न त्यहाँको सरकारले पटक पटक लकडाउन लम्ब्याइरहेको छ । तर यसको मारमा त्यहाँ कार्यरत नेपाली श्रमिक परेका छन् । लकडाउनसँगै कतिले रोजगारी गुमाएका छन् भने कति घर फर्किनैपर्ने अवस्थामा पनि फर्किन पाइरहेका छैनन् ।
मलेसियाबाट जीवन धामी कम्पनी बन्द भएसँगै तलब दिन पनि रोकेको गुनासो गर्नुहुन्छ । बस्न दिएको तर खाने कुरा सबै आफैँले जाहो गर्नुपर्ने र साथमा पैसा नहुँदा निकै समस्या भइरहेको उहाँ दुखेसो पोख्नुहुन्छ ।
‘कम्पनी बन्द भएपछि हामी धेरै नेपाली साथीले दुई महिनादेखिको तलब पाएका छैनौं, खुल्ने नखुल्ने कुनै टुंगो छैन’, उहाँ भन्नुहुन्छ, ‘यस्तोमा हामीले कि त घर फर्किन पाउनुपर्यो, कि त दूतावासले हामीलाई सहयोग गर्नुपर्यो ।’
मलेसियाबाटै राजु खड्का नेपाल सरकारलाई अनुरोध गर्दै भन्नुहुन्छ, ‘नियमित उडान गर्न नसके पनि उद्धार उडान गरेर भए पनि हामी परदेशीलाई आफ्नो देश फर्किन देउ ।’
आफ्नै ‘घर झगडा’मा व्यस्त सरकारले महामारीको बेला विदेशमा रहेका नेपाली श्रमिकलाई हेरेन भन्ने जनगुनासो बढ्दै गएको छ । वैदेशिक रोजगारीमा रहेका श्रमिकको अभिभावक श्रम मन्त्रालय स्वंले केही समय मन्त्री पनि पाएन । कर्मचारीहरु पनि कोरोना संक्रमित हुँदा लथालिङ्ग मन्त्रालय आफै असहाय झैं देखियो ।
यहीबीच पनि नेपाल सरकारले पछिल्लो समय कतार, टर्की र चीनको लागि अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरेको छ । यसै निर्णयको आधारमा साउदीमा रहेको नेपाली दूतावासले पनि त्यहाँ रहेका नेपाली श्रमिकलाई कतार र टर्कीलाई ट्रान्जिट बनाएर नेपाल फर्किन सक्ने जनाएको छ । तर हप्तामा एउटा मात्र उडान हुँदा यसले सबै पीडितलाई राहत नपुग्ने सोझै अनुमान गर्न सकिन्छ ।
वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठका अनुसार अहिलेको अवस्थामा खाडी तथा मलेसियाबाट मात्रै २० हजार जति श्रमिकले स्वदेश फर्किन खोजिरहेको अनुमान गरिएको छ । नियमित उडान सञ्चालन नगरिँदा अझै यो संख्या बढ्दै जानेछ । विदेशमा रहेका नेपाली श्रमिकहरु सरकारका निर्णय सुन्दै आफ्नो उद्धार हुने दिन, बाटो खुल्ने दिन कुर्दै बसेका छन् ।
लामो समयदेखिको बन्दमा केही देशको लागि भए नि नियमित उडान सुरु भए । उडान खुला गरेका देशलाई ट्रान्जिट बनाएर नेपाल प्रवेश गर्न पाइन्छ भनेर थोरै आशा त जागेको छ । तर जति आशा जागेको छ त्यति निराशा छाएको बताउनुहुन्छ एक महिनादेखि कतारमा जागिर गुमाएर बस्नुभएका कैलालीका रुपेश कटवाल । नेपाल प्रवेश गर्नेहरुलाई अनिवार्य होटल क्वरेण्टीन बस्नुपर्ने भन्ने सरकारको नियमले उहाँलाई झसँग बनायो ।
‘आफूसँग कोरोना नेगेटिभ रिपोर्ट हुँदा हुँदै पनि क्वरेण्टीन बस्नैपर्छ र ?’, उहाँ प्रश्न गर्नुहुन्छ, ‘जागिर गुमाएर बेरोजगार भएर बसेको छु, घर फर्किने टिकट पनि साथीहरुसँग मागेर आउनुपर्ने छ, त्यसैमाथि यति महंगो भाडा तिरेर होटल क्वरेण्टीनमा बस्नुपर्ने ?’
साथमा कोरोनाको नेगेटिभ रिपोर्ट तथा कोरोना विरुद्धको दुवै डोज खोप लगाएको भए पनि विदेशबाट फर्कने यात्रुले अनिवार्य रूपमा होटल क्वरेण्टीनमा बस्न पर्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको नयाँ मापदण्डमा उल्लेख छ । मापदण्डमा कोरोना विरुद्धको खोप लगाएका यात्रु होटल क्वरेण्टीनमा बस्न नपर्ने भनेर कतै पनि उल्लेख गरिएको छैन ।
‘दुवै डोज खोप लगाएको भए पनि होम क्वरेण्टीनमा बस्न पाउनेहरू भनेर मापदण्डले तोकेका बाहेक सबै यात्रुले होटल क्वरेण्टीनमा बस्नपर्छ’ मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले भन्नुभयो,‘मापदण्ड सबै यात्रुका लागि हो यसमा खोप लगाएको नलगाएको भन्नै हुँदैन ।’
रुपेश मात्र होइन परदेशमा रहेका धेरै नेपालीहरुका साझा समस्या हुन् यी । यसरी परदेशमा जागिर गुमाएर तथा विभिन्न कारण समस्यामा परेका श्रमिकहरु देशले केही गर्छ कि भन्ने आशामा बसेका छन् । तर योबीचमा देशमा चुनावी घोषणा भए । बजेट भाषण भयो । नेतानेताबीच झगडा भइरहे । संसद बिघटन भए । मन्त्रीमण्डल गठन भए । तर कहिल्यै पनि विदेशमा रहेका नेपाली श्रमिकको खबर के छ भन्नेबारे न नेताहरुलाई चासोको विषय भयो न सम्बन्धित निकायलाई । देशको अवस्था राजनीतिक विवादमै अल्झिरहँदा परदेशमा अलपत्र परेका नेपालीहरुको एउटै प्रश्न छ, ‘के हामीले स्वदेश फर्किन नपाउने हो ?’
उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ।
Biren Ghale
June 7, 2021, 12:30 a.m.आफ्नै देश फर्किन पनि कहिलेसम्म पर्खिनुपर्ने हो नेपाल सरकार ? कहिलेसम्म हामी यसरी काम र दाम बिना अरुको देशमा बस्नुपर्ने हो ? प्रतिक्षाको समय पनि धेरै लामो भैसक्यो , अब त के गर्ने नेपाल सरकार / #Presidentnepal #PMofnepal
Uttam Tamang
June 6, 2021, 10:43 p.m.हाल म साउदि अरबमा छु।म जस्तै हजारौ नेपाली छन्।घर जाने भनि बसेको २ महिना भईसक्यो ।भिषा सकिन लागि सक्यो ।घर जाने कुनै टुङ्गो छैन ।खाना पनि राम्रो संग खाना पाको छैन।भको पैसा पनि सकिन लागिसक्यो।यता भिषा सकेर फाईन पर्ला भन्ने पिर ।एका तिर घर परिवारको टेन्सन।हैन सरकार हामिलाई यतै मार्ने बिचार गर्यो कि के हो?
पुर्ण बहादुर बि.क
June 5, 2021, 1:01 p.m.हाल म UAE मा बिगत may 21 तारिक बाट कोठा मै बस्न बाध्य भएको छु कारण हवाई उडान।नेपाल सरकार को गलत बिचार र निर्णय ले बिदेश मा रहनु हुने हजारै लाखौं नेपाली श्रमिक हरु गाँस बास बिहिन भएर बाच्न बाध्य भएका छन्।कस्ले बुझ्छ खाडी मा पसिना बगाएर परिवार पाल्ने लाखौं नेपाली श्रमिक को पीडा अनि कस्ले उद्धार गर्छ हामी लाई?अबत यतै प्राण जान्छ होला जस्तो महसुस हुदैछ।बुढा भयका बुबा आमा अनि सा-साना छोराछोरी हरुले आउछु नि भन्दा झुट बोल्नु हुन्छ भन्न थाली सके।मेरो अनुरोध छ,यदि कसैको मन मा अलिकती पनि दया र मया छ भने म मात्रै होइन हजारौ नेपाली श्रमिक को उद्धार गरिदिनु होला।हामी समस्या मा छौ हाम्रो गुहार र पुकार सुनी दिनुस् 🙏🙏🙏