श्रमिकलाई भेरोसेल  :  टाउको दुखेको औषधि नाइटोमा

 असार २९, २०७८ मंगलबार १७:५०:५० | सन्जिता देवकोटा
unn.prixa.net

शरणार्थीलाई एक डोज लगाउँदा पुग्ने जोन्सन एण्ड जोनसनको र विदेशमा काम गर्ने नेपालीलाई चार हप्ताको अन्तरमा लगाउनुपर्ने भेरोसेल खोप दिने सरकारी निर्णयको व्यापक आलोचना हुन थालेको छ । 

सरकारले असार २८ गते खोप अनिवार्य गरिएका देशमा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई भेरोसेल खोप लगाउने र शरणार्थीका लागि जोन्सनको खोप दिने निर्णय गरेको थियो । सरकारको यो निर्णयले हजारौँ नेपाली विदेशको रोजगारी गुमाउने अवस्थामा पुगेका छन् । 

यसरी श्रमिक अप्ठेरोमा पर्ने दुई कारण छन् । पहिलो, नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य खाडीका कतार, कुवेत, साउदी जस्ता देशले भेरोसेललाई मान्यता दिएका छैनन् । त्यहाँ मोडेर्ना, अष्ट्राजेनेका, फाइजर र जोन्सन एण्ड जोन्सनले मात्र मान्यता पाएका छन् ।

दोस्रो, भेरोसेल खोपको दुई मात्रा लगाउन श्रमिकले कम्तीमा २१ दिनदेखि एक महिनासम्म कुर्नुपर्छ र खोप कुर्दा रोजगारी गुम्ने खतरा छ । जोन्सन एण्ड जोन्सनको खोप एक डोजको हो र यो खोप लगाएपछि श्रमिक तुरुन्तै काम गर्ने देशमा जान पाउँछन् । 

विज्ञ भन्छन्  गरिब श्रमिकको आवाज सरकारले सुनेन

वैदेशिक रोजगारीमा तत्कालै जानुपर्ने श्रमिकलाई भेरोसेल खोप पाउनेको सूचीमा राख्नु भनेको गरिब श्रमिकलाई सिंहदरबारले गरेको उपेक्षा हो भन्नुहुन्छ श्रम तथा आप्रवासन विज्ञ डा. गणेश गुरुङ । 

‘वैदेशिक रोजगारीमा तत्काल पुग्नु पर्ने श्रमिकलाई जोन्सन एण्ड जोन्सन खोप नदिएर दुई मात्रा लगाउनु पर्ने खोप दिन्छु भन्नु र त्यो पनि गन्तव्य देशले मान्यता नदिएको खोप लगाउनु उनीहरूमाथिको भद्दा मजाक हो, त्यसको कुनै अर्थ छैन’ डा. गुरुङले भन्नुभयो । 

खोपको राजनीतिमा नेपालका धनी र हुने खाने मात्र परेको र रोजगारीका लागि विदेश जाने दूर दराजका युवाहरूको समस्या सरकारको आँखाले नदेखेका कारण श्रमिकहरूले रोजगारी गुमाउने जोखिम बढेको उहाँले बताउनुभयो ।

यस्तै नेपाल ट्रेड युनियन महासङ्घ(जिफन्ट)का उपाध्यक्ष जितेन्द्र श्रेष्ठले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सरकारले खोपको प्राथमिकतामा राख्नु सुखद भए पनि भेरोसेल खोप दिने सरकारको निर्णयले वैदेशिक रोजगारीमा जानुपर्ने श्रमिकहरूको समस्या सम्बोधन नगर्ने बताउनुभयो ।

‘कतिपय गन्तव्य देशहरूले भेरोसेल खोपलाई मान्यता नदिएको र दुवै डोज लगाउन समय कुर्नुपर्ने हुँदा श्रमिकलाई ढिला हुनसक्छ, सरकारले जोन्सन एण्ड जोन्सन खोप दिनु पर्ने हो,’ उहाँले भन्नुभयो ‘हामी पुनः स्वास्थ्य सचिवसँग कुरा गर्छौँ ।’

धेरै गन्तव्य देशमा भेरोसेल अमान्य छ

साउदीले आफूले मान्यता दिएको बाहेक अरू खोपलाई स्वीकार नगरेको साउदीस्थित नेपाली दूतावासका सूचना अधिकारी ऋषिराज आचार्यले जानकारी दिनुभयो । साउदीले अक्सफोर्ड एस्ट्राजेनेका, मोडर्ना, बायोएनटेक र जोनसन एण्ड जोनसनको खोपलाई मात्र मान्यता दिएको छ ।

सूचना अधिकारी आचार्यका अनुसार साउदी जानुअघि नै श्रमिकहरूले अनलाइनमार्फत आफूले खोप लगाए नलगाएको जानकारी दिन अनलाइन फारम भर्नुपर्छ । त्यो अनलाइन फारममा साउदीले मान्यता दिएको बाहेक अन्य खोप लगाएको विवरण भर्न मिल्दैन । साउदीले भेरोसेल खोपलाई मान्यता दिएको छैन । 

‘साउदीले अहिले चार ओटा खोपलाई मात्र मान्यता दिएको छ, यी चारभन्दा बाहेक अरू खोप लगाएको भए यहाँ आएपछि क्वरेण्टीन अनिवार्य छ’ सूचना अधिकारी आचार्यले भन्नुभयो । 

कतारले पनि फाइजर, मोर्डना, अस्फोर्ड अस्ट्राजेनेका र जोन्सन एण्ड जोन्सन खोपलाई मात्र मान्यता दिएको छ । कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाजका अनुसार भेरोसेल खोप लगाएर गए पनि श्रमिकहरूले कतार पुगेपछि १० दिन होटल क्वरेण्टीन वा १४ दिन मेखाइनिस क्वरेण्टीनमा बस्न पर्नेछ ।

‘मान्यता दिएको बाहेक अन्य खोप लगाएर आएको मानिसका लागि पनि कतारमा क्वरेण्टीनको व्यवस्था अनिवार्य छ,’ राजदूत डा. भारद्वाजले भन्नुभयो ‘नेपालबाट भेरोसेल लगाएर आए पनि कतारको नियम अनुसार क्वरेण्टीन अनिवार्य छ ।’ 

कुवेतले अनुमति दिएको चार वटा खोपमा पनि भेरोसेल पर्दैन । अगस्ट १ देखि कुवेतमा पनि फाइजर, बायोएनटेक, मोर्डेना, जोनसन एण्ड जोनसन र एक्ट्राजेनेकाका पूरा डोज लगाएका विदेशी नागरिकले मात्र प्रवेश अनुमति पाउनेछन् ।

अर्को मुख्य श्रम गन्तव्य देश यूएईले अहिले नेपाली श्रमिकका लागि प्रतिबन्ध फुकुवा गरेको छैन । अब फुकुवा गर्दा कस्तो मापदण्डहरू बनाउँछ भन्ने निश्चित नभएको यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले बताउनुभयो । 

छानी छानी खोप पाइँदैन : स्वास्थ्य मन्त्रालय

तर, स्वास्थ्य मन्त्रालय विदेशमा काम गर्ने श्रमिकलाई भेरोसेल खोप दिने निर्णय गरेर ठुलो उपकार गरेको भ्रममा देखिन्छ । वैदेशिक रोजगारीमा जानेलाई खोपको प्राथमिकतामा राख्नु नै ठुलो कुरा ठान्नुहुन्छ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतम ।

‘अहिले अमेरिकाले दिएको जोन्सन एण्ड जोन्सन सीमित मात्रामा उपलब्ध भएकाले प्राथमिकतामा उहाँहरूलाई नराखिएको हो,’ डा. गौतमले भन्नुभयो, ‘छानी छानी खोप पाइँदैन, अहिले जे उपलब्ध छ त्यही लगाउने हो ।’

जोन्सन एण्ड जोन्सन खोपको प्राथमिकतामा किन वैदेशिक रोजगारीमा जानेहरूलाई राखिएन भन्ने प्रश्नमा उहाँले भन्नुभयो ‘अहिले उहाँहरूलाई प्राथमिकतामा राखेका छौँ, त्यही ठुलो कुरा हो, जोन्सन एण्ड जोन्सन खोप नआएको भए के गर्ने त ? वैदेशिक रोजगारीमा जानेहरु मात्र प्राथमिकतामा पर्ने भन्ने पनि त हुँदैन ।’

श्रम गन्तव्य देशले मान्यता दिएको जोन्सन एण्ड जोन्सन खोप पाउनु पर्ने श्रमिकले पाएका छैनन्, तर नेपालमा रहेका शरणार्थी त्यो खोप पाउने प्राथमिकतामा परेका छन् । 

नेपाल सरकारले वैदेशिक रोजगारीमा जानेहरूलाई खोपको प्राथमिकतामा राख्नु सुखद भए पनि प्राथमिकता चयन खोटपूर्ण भएको श्रमिकहरूको गुनासो छ । गन्तव्य देशबाट बिदामा आएका र तत्कालै फर्कंन पर्नेहरू सरकारको यो निर्णयपछि हतास र निराश देखिन्छन् । 

भेरोसेल खोपको प्राथमिकतामा ५५ वर्षभन्दा माथि उमेर समूहका, विश्व विद्यालयका शिक्षक र कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक, नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकीहरू र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरू छन् । 

जोन्सन एण्ड जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समूहका, पूर्ण र अति अशक्त क र ख वर्षका व्यक्तिहरू, नेपालमा बसिरहेका शरणार्थीहरू र स्वास्थ्य तथा सफाइकर्मीहरूलाई दिने सरकारको प्राथमिकता छ ।

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

4 Comments

  • suk lal gurung

    July 25, 2021, 9:11 a.m.

    हाम्रो स्वास्थ मन्त्रीलाई मेरो अनुरोध security gard लाई पनि तोकेेर प्रथामिक मा राखे हुन्थ्यो नि सरकार अहिलेसम्म म 5 अोटा खोप केन्द्रमा लाईनमा बसि यतिकै फर्किनुपरेको छ

  • Tikaram magar

    July 14, 2021, 9:29 a.m.

    नेपाली श्रमिकबाट नै देशमा अत्यधिक रूपमा रेमिटेन्स भित्रिएको कुरा थाहा हुँदा हुँदै पनि श्रमिकको आखामा छारो हाल्ने काम मात्र हो भेरोशेल खोप । यस्को कुनै अर्थ छैन भनेर जान्दजान्दै पनि भेरोसेल दिनु भनेको मुर्खता हो यो कुराले घोर अपमान गेरिरहेको छ वैदेशिक रोजगारमा जाने युवा हरुको

  • याेग बहादुर कुवँर

    July 14, 2021, 5:49 a.m.

    किन हामी दीनदुखीकाे पछि घाँटीमा अडेकेकाे माछाझै गरेकाे छ याे नियमले ? भेराेसिल अरू खाडीका देशहरूले मान्यता पाएको छैन भन्ने थाहा नभए जस्तो किन गर्छ सरकार ??

  • Surendra kumar

    July 13, 2021, 6:10 p.m.

    धेरै देशले भेरोसेललाई मान्यता दिएको छैन / जसको टिकट १० दिन पछिको छ, उसले त टिकट क्यान्सिल कुर्नुपर्छ ,त्यसैले वैदेशिक रोजगारीमा जानेलाई जोन्सन को खोप देउ, जसको कारण देशको अर्थतन्त्रमा टेवा पुगेको छ /

तपाईको प्रतिक्रिया