वैदेशिक रोजगारीमा जानेलाई खोप सुनिश्चित गर्न आयोगको आग्रह

 साउन १, २०७८ शुक्रबार १४:७:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय मानव अधिकार आयोगले वैदेशिक रोजगारीमा जाने नेपालीलाई  गन्तव्य देशले मान्यता दिएको कोरोना विरुद्धको खोपको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ । 

आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कोरोना विरुद्धको खोपका कारण वैदेशिक रोजगारीमा जाने श्रमिकहरू समस्यामा परेको भन्दै एक पटक मात्र लगाए हुने र गन्तव्य देशले पनि मान्यता दिएको खोपको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको हो । 

यसका साथै आयोगले महामारीको बेलामा रोजगारीका लागि जाने नेपाली श्रमिकको मानवअधिकारको रक्षा गर्न पनि सरकारलाई भनेको छ । 

महामारीको समयमा रोजगारीका लागि विदेश जाने नेपालीलाई पर्न सक्ने कठिनाइ न्यूनीकरणका लागि आवश्यक सहजीकरण गर्न पनि आयोगले सरकारलाई आग्रह गरेको छ ।

कतार, साउदी अरब, कुवेत लगायतका श्रम गन्तव्य देशहरूको कोरोना महामारी नियन्त्रणका लागि आफ्नो देश प्रवेश गर्नेहरूलाई खोप अनिवार्य गर्दै लगेका छन् । खोप नलगाई आउनेले क्वरेण्टीन बस्न पर्ने, पीसीआर परीक्षण गर्न पर्ने र त्यसको खर्च पनि आफैंले उठाउन पर्ने जस्ता नियम बनाएका छन् । 

श्रम गन्तव्य देशहरूले ल्याएका यस्ता नियमले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई आर्थिक व्ययभार बढ्ने देखिएको आयोगले जनाएको छ । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई कोरोना विरुद्धको खोप तत्काल व्यवस्थापन गर्न कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलगायत सम्बन्धित निकायलाई पत्राचार गरिसकिएको पनि आयोगले उल्लेख गरेको छ । 

तपाईको प्रतिक्रिया