सय दिन काम गरेको पारिश्रमिक लिन बैंकमा दुई हप्तासम्म लाइन बस्नुपर्ने

 साउन ८, २०७८ शुक्रबार १६:५७:७ | रासस
unn.prixa.net

जाजरकोट – जुनिचाँदे गाउँपालिका–४ की रुपा दमाईं पहिलो पटक सदरमुकाम खलङ्गामा पुग्नुभयो । घुम्ती सेवाबाट गाउँमै नागरिकता बनाएकी रुपाले पहिलो पटक सदरमुकाम पुगेको बताउनुभयो । आर्थिक वर्ष २०७७र७८ मा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत एक सय दिन काम गरेबापत पारिश्रमिक स्वरुप प्राप्त ५० हजार रुपैयाँको चेक भुक्तानीका लागि उहाँ सदरमुकाम आउनुभएको हो ।

आदर्श मावि लुहादहको घेराबारको काम गरेबापत गाउँपालिकाले उहाँलाई ५० हजार रुपैयाँको चेक दिएको थियो । चेक लिएर आएको र बैंकमा लाइन कुर्न थालेको १४ दिन बितिसकेको छ तर काम भने ज्यूँकात्यूँ रहेको रुपाले बताउनुभयो । लाइन बस्दाबस्दा दिक्क लागेर आएको उहाँको भनाइ छ ।

“सदरमुकाम पहिलो पटक आएको हुँ, यहाँ कसैलाई चिन्दिन, काम पनि हुँदैन, के अचम्म हो यस्तो रु होटलको बास बस्दा आजसम्ममा सात हजार आठ सय रुपैयाँ खर् भइसकेको छ ।” आउँदा दुई हजार पाँच सय गाडी भाडा खर्च गर्नुभएकी रुपाको जाँदा पनि त्यति नै रकम खर्च हुनेछ । निम्न आर्थिक अवस्था रहेको रुपाको घरमा बिरामी श्रीमान् र छ वटा छोराछोरी छन् । घरको सबै काम उहाँकै काँधमा छ ।

“प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाएको ५० हजार रुपैयाँ सदमुकामको होटल बास र आउन जानमै सकिने हो कि भन्ने चिन्ताले पिरोलिएको छ”, उहाँले भन्नुभयो, “बिहान ५ बजेदेखि लाइन बसेको बेलुकी ४ बजेसम्म बल्लबल्ल पालो आउँछ । आएको पालोमा पनि कहिले इन्टरनेट चलेन, त कहिले रकम नै छैन भन्दै रकम नदिएर भोलि आउन सल्लाह दिँदै दिन बितिरहेका छन् ।”

उहाँजस्तै जुनिचाँदे गाउँपालिका–४ का शङ्कर खड्का सदरमुकाममा १४ दिन बिताएर बल्लबल्ल रकम भुक्तानी लिएको बताउनुभयो । सङ्घीय खानेपानी आयोजना अन्तर्गत काम गरेको पारिश्रमिक लिन आउनुभएका ६८ वर्षीय खड्काले भुक्तानी रकमको आधा बजेट होटल र यातायातमा खर्च भएको पीडा पोख्नुभयो । उहाँसहित एकै योजनाका तीन जना सदरमुकाम आउँदा र धेरै दिन बैंकले झुलाउँदा धेरै खर्च भएको हो । जुनिचाँदे –१ का नरसिंह दमाईं जनता आवासअन्तर्गत काम गरेको पारिश्रमिकबापत रकम लिन आएको एक हप्तापछि आधा रकम सदरमुकाममै खर्च भएको बताउनुभयो ।

निकासा भएको रकमको आधा सदरमुकाममै सकिँदा अब ऋण कसरी तिर्ने भन्ने चिन्ता रुपाको छ । ४७ हजार पाँच सय रुपैयाँ लिन उहाँ सदरमुकाम आउँदा भाडा, बास र नास्तामा धेरै खर्च भएको थियो । बैंक र कार्यालयमा काम ढिला हुँदा यसरी समस्या भएको थियो । उहाँहरु जस्तै जुनिचाँदे गाउँपालिकाबाट बैंकको काम लिएर सदरमुकाम आउने अधिकांशको काम नहुँदा र भए पनि हप्ता दिन बढी बस्नुपर्दा पारिश्रमिकबापत पाउने रकमको आधा सकिने गरेको हो ।

गाउँमा बैंक नहुँदा यहाँका सर्वसाधारण सदरमुकाममा रहेको कृषि विकास बैंकमा आउने गरेका छन् । गाउँपालिकाको केन्द्रका विषयमा विवाद भएपछि जुनिचाँदेमा बैंक स्थापना हुन सकेको छैन । गाउँपालिकाको दुई तिहाइको निर्णयानुसार लुहादहमा २०७५ वैशाख ३१ गते केन्द्र तोक्ने निर्णय भएको थियो । निर्णय भएको केही समयपछि तीन जना सदस्यले आफ्नो हस्ताक्षर फिर्ता लिएको भन्दै प्रदेशले सङ्घीय सरकारलाई गाउँपालिका तोक्ने निर्णयमा गणपूरक सङ्ख्या नपुगेको भन्दै कार्यान्वयन गर्न नसकिने भनी पत्राचार गरेपछि अहिलेसम्म जुनिचाँदे गाउँपालिकाको प्रशासकीय केन्द्रको टुङ्गो लागेको छैन ।

केन्द्रको टुङ्गो नलागेका कारण गाउँमा बैंक जान नसकेको बताइएको छ । गाउँमा बैंक नजाँदा सबै काम सदरमुकाम आएर गर्नुपर्दा सर्वसाधारण हैरान हुँदै आएका छन् । त्यस्तै सदरमुकाममा सामाजिक सुरक्षा भत्ता लिन ज्येष्ठ नागरिकको सङ्ख्या बढेका कारण बैंकमा कामको चाप बढेको हो ।

कृषि विकास बैंकका प्रमुख सन्तोष योगीले नेपाल बैंकबाट रकम ल्याउने गरेको र त्यहाँ नै रकम नभएपछि समस्य भएको बताउनुभयो । बिहीबारदेखि पर्याप्त बजेट भएकाले समस्या नभएको तर ग्राहक सङ्ख्या बढी भएकाले काममा ढिला भएको बताउनुभयो । सबै काम सदरमुकाममै गर्नुपर्दा आफूहरु सङ्घीयताको अनुभूति गर्न नपाएको स्थानीयवासीको भनाइ छ । गाउँमै सिंहदरबार आएको भन्ने नेताहरु यसप्रति संवेदनशील हुनुपर्ने उनीहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया