बोर्डमार्फत पाइने आर्थिक सहायताको लागि आफैँले निवेदन दिन मिल्ने अनलाइन प्रणालीको विकास

 साउन १३, २०७८ बुधबार १५:७:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगार बोर्डले कानुन अनुसार बोर्डमार्फत पाइने आर्थिक सहायताका लागि व्यक्ति आफैँले  निवेदन दिन मिल्ने गरी अनलाइन प्रणालीको विकास गरेको छ ।

अहिले पालिकामार्फत बोर्डबाट पाइने आर्थिक सहायताको लागि निवेदन दिन पाइने व्यवस्था भए पनि अब व्यक्ति स्वयमले नै निवेदन दिन मिल्ने गरी अनलाइन प्रणालीको विकास गरिएको बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले बताउनुभयो । 

‘कानुन अनुसार बोर्डबाट जति पनि सेवा सुविधा उहाँहरूले पाउनुहुन्छ त्यसको लागि अब, बोर्डमा धाउन पर्दैन,’ कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो,‘इन्टरनेटको जमानामा छ त्यसैले हामीले व्यक्ति स्वयमले आफ्नै मोबाइलबाट निवेदन दिन र सहयोग माग्न सक्ने गरी अनलाइन प्रणालीको विकास गरेका हौँ ।’

पछिल्लो समय बोर्डले विकास गरेको अनलाइन प्रणाली कार्यान्वयनका लागि कार्यविधि समेत बनाइएको छ । कार्यविधि स्वीकृतिका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाइएको र मन्त्रालयबाट स्वीकृति भएपछि अनलाइन प्रणाली कार्यान्वयनमा आउने कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो । 

व्यक्तिले निवेदन दिएपछि आएका कागजातको जाँच गर्ने र सबै आवश्यक प्रक्रिया र कागजात पूरा गरेका व्यक्तिलाई बोर्डले तत्कालै सेवा दिने छ ।

यो अनलाइन प्रणाली मार्फत कानुन अनुसार बोर्डबाट पाइने आर्थिक सहायता जस्तै, कोही आफन्तको विदेशमा मृत्यु भएमा, अङ्गभङ्ग भएर फर्किएमा आवश्यक कागजातसहित निवेदन दिन सकिन्छ ।

यस्तै विदेशमा अलपत्र परेमा, आफन्तको शव अलपत्र परेमा, बिरामी भएर अस्पताल भर्ना भएमा या अन्य कुनै सेवा चाहिएमा देश विदेश जहाँबाट पनि निवेदन दिन सकिन्छ ।

यो अनलाइन प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउनका लागि पालिकासँग पनि समन्वय गर्ने गरी कार्यविधि बनेको बोर्डले जनाएको छ ।

अहिले पनि बोर्डले प्रदान गर्ने आर्थिक सहायताका लागि पालिका बाटै निवेदन दिन पाउने व्यवस्था छ । पालिकाबाट निवेदन दिएका व्यक्तिहरूलाई बोर्डले पाउनु पर्ने आर्थिक सहायता बैङ्क खातामा पठाइरहेको छ ।

तपाईको प्रतिक्रिया