कोरोना महामारीकै बीच एक वर्षमा १ लाख ६६ हजार बढीले रोजे वैदेशिक रोजगारी

 साउन १४, २०७८ बिहिबार १७:२:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – कोरोना महामारीकै बीच एक वर्षमा एक लाख ६६ हजार बढी नेपालीले वैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिएका छन् ।

विश्वका विभिन्न एक सय १६ देशमा रोजगारीमा जानको लागि आर्थिक वर्ष २०७७/०७८ मा मात्रै १ लाख ६६ हजार ६ सय ९८ जनाले श्रम स्वीकृति लिएका हुन् । जसमध्ये ७२ हजार ८१ जनाले पहिलोपटक श्रम स्वीकृति लिएको तथा ९४ हजार ६ सय १७ जनाले पुनः श्रम स्वीकृति लिएको विभागले जनाएको छ । 

विभागको तथ्याँक अनुसार एक लाख ५५ हजार दुईसय ४२ पुरुष र ११ हजार ४ सय ५६ महिलाले श्रम स्वीकृति लिएका हुन् ।

सबैभन्दा बढी कतार जानको लागि ५४ हजार ९१५, साउदीमा ४६ हजार ९६० र यूएई जानको लागि ४० हजार ४७७ जनाले श्रम स्वीकृति लिएका छन् । नेपालीहरु धेरै रोजगारीमा जानेमध्ये मलेसियामा कोरोना महामारीका कारण यो वर्ष रोजगार क्षेत्र बिथोलिएको छ । बाहिरी देशका नागरिकलाई प्रतिबन्ध लगाएको छ । वर्षभरि मलेसियामा एक हजार १३५ जनाले मात्र श्रम स्वीकृति लिएको विभागको तथ्याँकमा उल्लेख छ ।

यस्तै सबैभन्दा धेरै धनुषाबाट वैदेशिक रोजगारीमा गएका छन् । गएको आर्थिक वर्षमा धनुषाबाट १२ हजार ६ सय ८९ जनाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका छन् । यस्तै सिराहाबाट ९ हजार ८ सय ८८, महोत्तरीबाट ८ हजार एक सय ८ र झापाबाट ७ हजार ४ सय ९० जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् ।
 

तपाईको प्रतिक्रिया