एन्टाको छैटाैँ महाधिवेशन स्थगित, अर्को वर्ष हुने

 साउन ३१, २०७८ आइतबार १३:५९:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकामा बस्ने नेपालका तराईवासीहरुको संस्था एसोसिएशन अफ नेपाली तराइयन इन अमेरिका (एन्टा)ले यस वर्ष हुने आफ्नो छैटोँ महाधिवेशन स्थगित गरेको छ । 

एन्टाले कोरोना महामारीको विषम परिस्थितिका कारण यस वर्ष हुने महाधिवेशन स्थगित गरिएको जनाएको छ । एन्टाले महाधिवेशन अर्को वर्ष अर्थात् सन् २०२२ मा सम्पन्न गरिने जानकारी पनि दिएको छ।

एन्टाका अध्यक्ष अपराजिता झाले अमेरिकामा कोरोना भाइरसको डेल्टा भेरियन्टको बढ्दो प्रकोपको कारण यस वर्षको महाधिवेशन स्थगित गरिएको जानकारी दिनुभयो। डेल्टा भेरियन्टको बढ्दो प्रकोपका साथै एन्टाका सदस्यहरु नेपालको तराई क्षेत्रमा राहत वितरण कार्यमा नियमित रुपमा व्यस्त रहेकाले यस वर्ष महाधिवेशन आयोजना गर्न असम्भव रहेको झाले बताउनुभयो । 

उहाँले आउँदो नोभेम्बर महिनामा वार्षिक बैठक बसेर सन् २०२२ मा गरिने महाधिवेशनको मिति र ठाउँ तय गरिने जानकारी दिनुभयो । एन्टाको विधानअनुसार यसको महाधिवेशन प्रत्येक दुई वर्षमा हुने गर्दछ । सन् २०१९ मा सम्पन्न एन्टाको पाँचौँ महाधिवेशनले अध्यक्ष झाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यकारिणी समिति चयन गरेको थियो ।        

तपाईको प्रतिक्रिया