दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डौ – धनुषाकी इन्दु रावतसँग छोरीले मागेको पहिलो कुरा थियो ‘साइकल’ । कतिपय बुवाआमाका लागि सामान्य झैँ लाग्ने कुरा इन्दुका लागि छोरीको यो चाहना पूरा गर्न कठिन थियो ।
श्रीमानले साउदीमा कमाएको पैसाले घर चलाउनु पर्ने बाध्यता । नुनदेखि चामलसम्म किन्नु पर्ने । विदेश जाँदा काढेको ऋण तिर्दा घर चलाउन हम्मे हम्मे हुने ।
कसरी किनिदिनु साइकल ? तर एक वर्ष अघि देखिको इन्दुकी जेठी छोरीको साइकल चढ्ने चाहना जसोतसो पूरा भएको छ ।
इन्दु भन्नुहुन्छ, ‘पैसा भएर हैन, नहुँदा नहुँदै पनि बचत गरेर किनिदिएको हुँ ।’
इन्दुका श्रीमान् अहिले साउदीमा काम गरिरहेका छन् । साउदी जानुअघि अन्य देश पनि गएका थिए ।
अहिले पनि मासिक ८ सय रियाल मात्रै छ तलब । त्यही पैसा पनि पहिले पहिले त इन्दुका ससुराको नाममा पठाउँथे । इन्दुलाई घर चलाउन ससुराले नै खटाएर रकम दिन्थेँ । यसो गर्दा पठाएको पैसा बचत हुन छाड्यो । अनि, श्रीमानले इन्दुकै नाममा रकम पठाउन थाले ।
‘मेरो नाममा पैसा पठाउन थालेपछि भने मैले ऋण तिर्ने, अलिअलि घर खर्च चलाउने र एक सय दुई सय भए पनि बचत गर्न थालेको हुँ,’ इन्दु भन्नुहुन्छ ।
विदेशमा कमाएर मात्र हुँदैन । कमाएको रकमको सही सदुपयोग नहुँदा पहिला पहिला जाँदा जस्तै फर्कँदा पनि रित्तो हात फर्किए इन्दुका श्रीमान् । तर यसपालि भने इन्दुले आफ्नै गाउँमा पैसाको महत्त्व सिकाउने वित्तीय साक्षरता कक्षामा बस्नुभयो । कक्षामा बसेर बचत गर्ने र खर्च घटाउने तरिका जाने पनि भने इन्दुलाई पनि सहज भयो ।
आफूले दैनिक गर्ने खर्चको हिसाब राख्न थाल्नुभयो ।
विद्यालय गएर औपचारिक शिक्षा नलिएका कारण इन्दु कापीमा लेख्न जान्नुहुन्न ।
‘मलाई त लेख्न आउँदैन, छोराछोरीलाई लेख्न लगाए, यसरी महिना भरि श्रीमानले पठाएको, अनि खर्च भएको रकम लेख्दा त फाइदा हुने रहेछ,’ इन्दु भन्नुहुन्छ,‘श्रीमानलाई पनि कहाँ खर्च गर्यो होला भनेर चिन्ता भएन, पहिले पहिले ससुरालाई पैसा पठाउँदा उहाँले कहाँ खर्च गरिदिनुभयो भन्ने थाहा नै भएको थिएन ।’
कक्षामा बस्न थालेपछि इन्दुलाई जति भए पनि बचत गर्नुपर्छ भन्ने लाग्यो । उहाँले तरकारी किन्दा होस् या चामल किन्दा उब्रिएको रकम खुत्रुके किनेर छोरीको नाममा बचत गरिदिन थाल्नुभयो ।
आमाले बचत गरेको देखेपछि तीन छोरीले पनि एक एक वटा खुत्रुके किनेर ल्याए र त्यसमा चकलेट बिस्कुट खान भनेर कसैले दिएको रकमसमेत बचत गर्न थाले ।
‘छोरीहरूलाई मामाघरतिर आमाले मामाले दिएको पैसा पनि ल्याएर यही बचत गर्न थाले, मैले जे गर्यो त्यो गर्न छोरीहरूलाई पनि मन लाग्दो हरेछ,’ इन्दु सुनाउनुहुन्छ ।
त्यही खुत्रुकेमा जम्मा भएको पैसाले नै इन्दुले छोरीलाई साइकल किनिदिनुभयो ।
इन्दु भन्नुहुन्छ ‘छोरीको र मेरो गर्दा ४७ सय बचत भएछ, अनि मैले त्यो पैसाले छोरीको इच्छा पूरा गरिदिएको हुँ ।’
आफूले भनेजस्तो साइकल चढ्न पाउँदा छोरी खुसी छन् । साइकलले छोरीलाई मात्र खुसी दिएको छैन । घरमा दैनिक काम गर्न पनि सजिलो भएको छ ।
छोरी स्कुल साइकल चढेर जान्छिन् । अनि बिहान बेलुका बजार जानदेखि खेतमा जानसमेत साइकलले सहज भएको छ ।
आमाछोरीले मिलेर किनेको साइकल र गरिरहेको काम देख्दा उता साउदीमा श्रीमान् पनि खुसी छन् इन्दुको ।
इन्दुलाई पढ्न विद्यालय जान नपाएको आज पनि पछुतो लाग्छ । घर चलाउने खर्च, चुरा पोते किन्ने पैसा समेत आधा जीवन श्रीमानकै कमाइमा भर पर्नुपर्दा नरमाइलो लाग्छ ।
उहाँ सोच्नुहुन्छ,‘ छोरीलाई म जस्तो बनाउँदिन, पढाउँछु, लेखाउँछु र जागिर खाएपछि मात्रै बिहे गरिदिन्छु ।’
इन्दुका तीन छोरी छन् । अहिले तीनै जना विद्यालय जान्छन् । तीनै छोरीलाई समान शिक्षा दिने उहाँको रहर छ ।
उहाँको समुदायमा कतिले इन्दुलाई भन्छन्, ‘छोरीलाई किन यति दुःख गरेर पढाएकी ?’
इन्दु भन्नुहुन्छ,‘छोरीहरूलाई म ठुलो मान्छे बनाउँछु, मजस्तो औँठाछाप बनाउँदिन ।’
इन्दुको मनमा छोरीहरूले पढेर आफ्नो खुट्टामा उभिन सकुन् भन्ने छ । बिहे पछि आफ्नो खर्चका लागि पनि आफूजस्तै श्रीमानको भर नपरून् भन्ने चाहना छ ।
Ramesh
Sept. 22, 2021, 9:06 p.m.सामुदायिक विद्यालयमा अध्यन गर्ने सबै छात्राहरुलाई २ नं.प्रदेश सरकारले नि:शुल्क साइकल बितरण गर्दै आएको भन्ने सुनिएकोमा यिनले किन पाएनन् त?