आबुधाबी डाइलगमा सहभागी हुन श्रम मन्त्री श्रेष्ठ यूएईमा

 कात्तिक ७, २०७८ आइतबार १७:५७:१६ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई – संयुक्त अरब इमिरेट्स (यूएई) मा सोमबारबाट हुने छैठौ श्रम मन्त्री स्तरीय ‘आबुधाबी डाइलग’ मा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ ‘किसान’ यूएई आइपुग्नु भएको छ । 

दुबईको अल हप्तुर प्यालेसमा हुने कार्यक्रममा नेपालले नेपाल भित्र सिकेको सीपलाई मान्यता दिनुपर्ने विषयलाई महत्त्वका साथ उठाउने भएको छ । त्यसका लागि गन्तव्य देशहरूलाई नेपालमा लगानी गर्न आग्रह गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 

‘आबुधाबी डायलग’ खाडी मुलुकमा श्रमिक पठाउने र श्रमिक लिने देशका श्रम मन्त्री सहभागी हुने क्षेत्रीय मञ्च हो ।

श्रमिक आयात गर्ने मध्यपुर्वी अरबी खाडी मुलुक र कामदार उपलब्ध गराउने एसियाली मुलुकका उच्च सरकारी प्रतिनिधिहरूसहित मन्त्री स्तरीय संवादमा बहुपक्षीय छलफल तथा कामदार दिने र लिन दुवै देशबीच पारदर्शिता हुनुपर्ने विषय अघिल्ला वर्षहरूमा महत्त्वका साथ उठाइँदै आएको थियो ।

डाइलगमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्रेष्ठसहित श्रम सचिव सूर्यप्रसाद गौतम र उपसचिव थानेश्वर भुसाल यूएई आइपुग्नुभएको छ । उहाँहरूलाई यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल तथा श्रम काउन्सिलर निर्मला थापाले विमानस्थलमै पुगेर स्वागत गर्नुभएको छ । 

मन्त्री श्रेष्ठले आबुधाबी डाइलग बाहेक साइड लाइनमा  यूएई रहेका नेपालीहरूसँग अन्तरक्रिया गर्ने तथा जेल भ्रमणको पनि सम्भावना रहेको छ । स्वास्थ्य प्रोटोकलका कारण यसबारे सरोकारवाला निकायसँग छलफल गरेर कार्यक्रम तय गरिने राजदूत ढकालले जानकारी दिनुभयो ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया