कोरोना सङ्क्रमण बढेपछि कुवेत सरकारले बढायो सतर्कता

 पुस २०, २०७८ मंगलबार १६:३३:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि कुवेत सरकारले थप कडाइ गरेको छ ।

कोरोना सङ्क्रमण रोकथामका लागि सोमबार बसेको कुवेतको मन्त्रीपरिषद्को बैठकले  ९ जनवरीदेखि २८ फेब्रुअरीसम्म सबै भित्री सामाजिक जमघटमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । 

यस्तै कुवेत प्रवेश गर्ने सबै यात्रुको यात्रा गर्नु पूर्व ७२ घण्टाको पीसीआर नेगेटिभ रिपोर्ट साथमा हुनुपर्ने छ ।

यसका साथै कुवेत सरकारले कोरोना भाइरस विरुद्धको बुस्टर डोज खोप छिट्टै लगाउन समेत अनुरोध गरेको छ । 

पछिल्लो समय कुवेतमा झण्डै एक हजार जनामा नयाँ सङ्क्रमण भएको छ । सोमबार मात्रै ९८२ नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । 

कुवेतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ७७३ पुगेका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  कोरोनाबाट बच्न भौतिक दूरी कायम गर्न, भिडभाडमा नजाने र भिडभाड नगर्ने, मास्क तथा पन्जाको प्रयोग गर्ने, शारीरिक स्पर्श नहुने गरी अभिवादन गर्ने, साबुन पानीले पटक पटक हात धुने र सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएको खण्डमा रुघाखोकी, ज्वरोजस्ता कोरोनाका लक्षणहरू देखा परेमा नजिकैको स्वास्थ्य केन्द्र र अस्पतालमा तुरुन्तै सम्पर्क गर्न कुवेतमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ । 

तपाईको प्रतिक्रिया