कतारमा आवास र श्रमिक भिसा उल्लङ्घन गरेका आप्रवासीलाई कानुनी अवस्था सुधार्ने अवसर

 पुस २१, २०७८ बुधबार १५:३३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कतारले आवास र श्रमिक भिसाको नियम उल्लङ्घन गरेका आप्रवासी श्रमिकलाई आफ्नो कानुनी अवस्था सुधार्ने अवसर दिएको छ ।

कतारमा आवास र श्रमिक भिसाको नियम अर्थात् कानुन नम्बर २१ उल्लङ्घन गरेका सबै आप्रवासीले यसबाट फाइदा लिन सक्ने कतारमा रहेको नेपाली दूतावासले जनाएको छ । 

कानुन नम्बर २१ कतार सरकारले आप्रवासीको प्रवेश, निकास र आवास नियमन गर्न सन् २०१५ मा जारी गरेको हो ।  आप्रवासी श्रमिकले ३१ मार्च २०२२ सम्ममा आफ्नो कानुनी अवस्था सुधार गर्न सक्नेछन् । 

आफ्नो कानुनी अवस्था सुधारको निवेदन सर्च एण्ड फलो अप डिपार्टमेन्ट वा रोजगारदाता परिवर्तनको आवेदन लिने उम्म सलाल, अल रयान, मेसाइमिर, अल वाक्रा वा उम्म सुनाइमस्थित केन्द्रमा दिन सकिन्छ ।

यसका साथै अल समाल, अल खोर, अल दायेन, उम्म सलाल, द पर्ल, ओनाइजा, सुक वाफिक, अल रयान, उम्म सुनाइम, अल सहानियाँ, मेसाइमिर, अल वाक्रा वा दुखानका साविकको रोजगारदाता अन्तर्गतको आवास अनुमति जारी वा नवीकरणको आवेदन लिने सेवा केन्द्रमध्ये कुनै एकमा जाँदा पनि हुन्छ ।

यी विभाग वा सेवा केन्द्रमा दिउँसो १ बजेदेखि साँझ ६ बजेभित्र निवेदन दिन सकिन्छ । 

कतारमा रहेर कानुन नम्बर २१ उल्लङ्घन गरेका सबै आप्रवासी र रोजगारदातालाई समयमै आफ्नो कानुनी हैसियत सुधार गर्न र हुने कारबाहीबाट बच्न कतारको आन्तरिक मन्त्रालयले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया