वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

 पुस २६, २०७८ सोमबार १४:३३:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पछिल्लो समय वैदेशिक रोजगारीमा जाने क्रम बढेको छ । मंसिर महिनामा मात्रै ७४ हजार भन्दा बढीले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका छन् ।

कोरोना महामारीपछि विदेश जाने क्रम बढ्दै गएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । गएको असोजमा ३९ हजार ६७१ जना नेपाली श्रमिकले वैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिएका थिए । यो क्रम बढेर कात्तिक महिनामा श्रम स्वीकृति लिनेको संख्या ५४ हजार ९१८ पुग्यो । 

मंसिरमा पुनः श्रम स्वीकृति समेत गरि ७४ हजार ३५४ जनाले वैदेशिक रोजगारीमा जानको लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । यीमध्ये ३४ हजार ४९७ ले पहिलोपटक श्रम स्वीकृति लिएका  र बाँकी दोस्रो पटक श्रम लिएर जानेहरु रहेको विभागले जनाएको छ ।

वैदेशिक रोजगारीमा जाने नेपालीहरुको सबैभन्दा बढी रोजाइको गन्तव्य अहिले साउदी बनेको छ । मंसिरमा २४ हजार ९१५ पुरुष र ७७ महिला गरि २४ हजार ९९२  जनाले साउदीको लागि श्रम स्वीकृति लिएका छन् । साउदीपछि सबैभन्दा धेरै कतारमा गएका छन् । २३ हजार २५ पुरुष र ७५२ महिला गरि २३ हजार ७७७ जनाले कतारको रोजगारीको लागि श्रम स्वीकृति लिएका छन् । यस्तै कतारपछि यूएई धेरैको रोजाइ गन्तव्य बनेको छ ।  १४ हजार १०४ पुरुष र २ हजार ५४३ महिला गरि जम्मा १६ हजार ६४७ जनाले यूएईको लागि श्रम स्वीकृति लिएका छन् ।

नेपालीहरु धेरै वैदेशिक रोजगारीमा जाने मध्ये मलेसियामा अहिले नयाँ श्रम स्वीकृति नखुलेकाले दुई वर्षदेखि त्यहाँ जाने क्रम रोकिएको छ । बिदामा घर आएका र भिसाको म्याद भएकाहरुमात्र मलेसिया जान पाउँछन् ।

तपाईको प्रतिक्रिया