साउदीमा ठगहरुबाट बच्न त्यहाँ रहेका नेपाली श्रमिकलाई दूतावासको आग्रह

 पुस २९, २०७८ बिहिबार १८:१:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साउदीमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपाली श्रमिकलाई ठगहरुबाट बच्न आग्रह गरेको छ । साउदीमा समस्यामा परेका श्रमिकहरुलाई लक्षित गरी ठगी गर्नेहरु बढ्दै गएको भन्दै त्यस्ता ठगबाट बच्न दूतावासले सूचना मार्फत आग्रह गरेको हो ।

साउदीमा बेखर्ची भएर दूतावासको सेल्टरमा बसेका, साथीभाइको आर्थिक सहयोगमा स्वदेश फर्किन प्रयास गरिरहेका, टिकटको लागि ट्राभल एजेन्सीमा गएका श्रमिकलाई विभिन्न बहाना बनाएर ठग्ने क्रम बढेको छ ।

दूतावासका अनुसार ठगहरुले ट्राभल डकुमेण्ट खर्च, फोटोकपी खर्च, सीसीएमसी फारम भरेको खर्च जस्ता बनावटी शीर्षकका नाममा रकम लिने गरेका छन् । दूतावासबाट निःशुल्क प्रदान गरिने सेवाको लागि पनि बाहिर बसेर पीडितलाई फकाइ अनावश्यक खर्च गर्न लगाउने गरेको दूतावासको भनाइ छ ।

आफूलाई समाजसेवी भन्नेहरुले नै यसप्रकारको ठगी गर्दा वास्तविक समाजसेवीहरुको कामको अवमूल्यन हुने भन्दै दूतावासले आपत्ति जनाएको छ । कसैले यस्ताे ठगी गरेकाे पाएमा दूतावासमा वा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराउन समेत दूतावासले आग्रह गरेको छ ।
 

तपाईको प्रतिक्रिया