व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रिया सहज बनाउँदै विभाग, स्वघोषणा पत्र अनिवार्य

 चैत २८, २०७८ सोमबार १७:३४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आउँदो वैशाख १ गतेदेखि व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने व्यक्तिले स्वघोषणा पत्र अनिवार्य रुपमा भर्नु पर्ने भएको छ ।

वैदेशिक रोजगारीका नाममा भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृति लिएर गएका व्यक्ति अलपत्र पर्ने, ठगिने, सरकारले तोकेकोभन्दा बढी शुल्क तिर्न बाध्य पारिने जस्ता प्रवृत्ति देखिएपछि वैदेशिक रोजगार विभागले स्वघोषणा पत्र भर्नु पर्ने व्यवस्था गरिएको जनाएको छ ।

तत्कालका लागि साउदी अरेबिया, कतार, कुवेत, युएई, क्रोएसिया, अल्बानिया, पोल्यान्ड, रोमानिया, स्लोभाकिया, हङ्गेरी, माल्दोभा र बेलारुसमा भिजिट भिसा तथा तथा व्यक्तिगत श्रम स्वीकृतिमा जाने व्यक्तिले स्वघोषणा पत्र अनिवार्य रुपमा भर्नुपर्ने छ । 

वैदेशिक रोजगारीमा व्यक्तिगत रुपमा जाने श्रमिकले श्रम स्वीकृति लिँदा नै स्वघोषणा भर्नु पर्ने छ । 

व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा जाने श्रमिकले राहदानीको प्रतिलिपि, सम्बन्धित सरकारबाट जारी प्रवेशाज्ञाको प्रतिलिपि, रोजगार सेवा, सर्त, सुविधा र तलब स्पष्ट उल्लेख भएको करार वा सम्झौता पत्रको प्रतिलिपि दूतावासमा पेस गर्नुपर्नेछ ।

यस्तै, रोजगारदाताको इजाजत दर्ता प्रमाणपत्रको प्रतिलिपि वा स्पोन्सरको परिचयपत्रको प्रतिलिपि, रोजगारदाता कम्पनीको ट्रेड लाइसेन्सको प्रतिलिपि वा निजी कामदारको हकमा रोजगारदाताको राहदानी वा परिचयपत्रको प्रतिलिपि, संस्थामा जाने कामदारका हकमा कम्पनीको संक्षिप्त विवरण र गन्तव्य मुलुकको सरकारले रोजगारदाता संस्थालाई वा स्पोन्सरलाई दिएको पत्र स्वीकृति पत्र पेस गर्नुपर्ने विभागले जनाएको छ ।

व्यक्तिगत श्रम स्वीकृति लिएर जाने व्यक्तिले रोजगारदाता कम्पनी वा स्पोन्सरमार्फत अङ्ग्रेजी भाषामा अनुवाद गरिएका कागजात प्रमाणीकरणका लागि दूतावासमा पनि दिनुपर्ने व्यवस्था गरिएको छ ।

यस्तै अब, विभागले वैशाख २ गतेदेखि म्यानपावर कम्पनीमार्फत लिइने श्रम स्वीकृति पनि अनलाइन प्रणालीबाट मात्रै जारी गर्ने भएको छ । श्रम स्वीकृति लगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई प्रविधिमैत्री बनाउँदै लैजाने रणनीतिअनुसार संस्थागत श्रम स्वीकृति अनलाइनबाट जारी गर्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ ।

श्रम स्वीकृति अनलाइनबाट जारी हुन थालेसँगै वैदेशिक रोजगार कार्यालयमा हुने भिडभाड घटेको छ । अनलाइन प्रणालीले गर्दा सेवा प्रवाहमा व्यापक सुधार भएको विभागको दाबी छ । 

श्रम स्वीकृतिका लागि सेवाग्राही तथा म्यानपावरका कर्मचारी विभागका कार्यालयमा जानुपर्ने अवस्था अन्त्य भएको छ ।

सम्पूर्ण सेवा ‘फेसलेस’ बनाइसकिएको अवस्थामा बिना कारण म्यानपावर कम्पनीका कर्मचारी कार्यालयमा देखिए सम्बन्धित संस्था र व्यक्तिलाई कारबाही हुने विभागले चेतावनी दिएको छ । विभागले गएको माघ २ गतेदेखि पुनः श्रम स्वीकृति सेवा पनि पूर्ण रुपमा अनलाइनबाट प्रदान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया