नेपाल वायुसेवा निगमले पायो साउदी अरेबियामा उडानको अनुमति

 वैशाख १, २०७९ बिहीबार ७:११:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल वायुसेवा निगमले साउदी अरेबियामा नियमित उडान गर्ने भएको छ । निगमका अनुसार आउँदो वैशाख ९ गते पहिलो उडान हुनेछ ।

नेपाल वायुसेवाको राष्ट्रिय ध्वजावाहक विमानले पहिलो पटक साउदी अरेबियाको रियादमा नियमित उडान गर्न लागेको हो ।

यो उडानका लागि नेपाल नागरिक उड्डययन प्राधिकरणले पनि नेपाल वायुसेवा निगमलाई उडानको अनुमति दिइसकेको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार वायुसेवा निगमले साउदी अरेबियाको रियाद, दमाम तथा जेद्दामा उडान गर्न सक्ने गरी अनुमति पाएको छ ।

निगमले व्यावसायिक योजना अनुसार काठमाण्डौ–रियाद–काठमाण्डौ नियमित उडान सुरु गर्ने भएको हो । यो रुटमा निगमले लामो समयदेखि उडानको तयारी गरे पनि अनुमति पाएको थिएन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय ध्वजावाहक विमानबाट साउदी अरेबियामा नियमित उडान भर्नका लागि पहल गर्नुभएको थियो । यसअघि हिमालय एअरलाइन्सले मात्रै साउदीमा उडान अनुमति पाएको थियो ।

तपाईको प्रतिक्रिया