ईपीएस परीक्षाको निष्पक्षताप्रति नेपालीहरू विश्वस्त : श्रम मन्त्री श्रेष्ठ

 जेठ २५, २०७९ बुधबार १८:११:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सञ्चालन हुने कोरियन भाषा परीक्षा प्रभावकारी र विश्वसनीय रहेको बताउनुभएको छ ।

ललितपुरको भैँसेपाटीमा सञ्चालन भइरहेको कोरियन भाषा परीक्षाको निरीक्षण गर्न पुग्नुभएका मन्त्री श्रेष्ठले सरकारी तवरमा श्रमिक पठाउन सञ्चालन हुने भाषा परीक्षा प्रणालीलाई वैज्ञानिक बनाउँदै लगेको भन्दै कोरियाको मानव संसाधन विकास विभाग (एचआरडी) को प्रशंसा गर्नुभयो ।

ईपीएस परीक्षाको निष्पक्षताप्रति नेपालीहरूको गहिरो विश्वास रहेको मन्त्री श्रेष्ठले दाबी गर्नुभयो । 

वैदेशिक रोजगार विभाग अन्तर्गत (ईपीएस) शाखाले कोरिया जानका लागि आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा सञ्चालन गरिरहेको छ । कृषि तथा पशुपालन र उत्पादनमूलक समूहमा रोजगारीका लागि कोरिया जान  ४४ हजार ८ सय ५३ युवाले आवेदन दिएका छन् । कृषि र पशुपालन क्षेत्रमा जाने १० हजार ८ सय ५८ जना रहेका छन् । 

उत्पादनमूलक समूहमा ३३ हजार ९ सय ९५ जना छन् । कृषि तथा पशुपालनमा जाने १० हजार ८ सय ५८ जनामध्ये ६ हजार ५ सय ९७ जनाको परीक्षा अहिले भइरहेको छ भने बाँकी ४ हजार २ सय ६१ जनाको आगामी असार १३ गतेबाट सुरु हुनेछ । अन्य परीक्षा पनि नियमित रूपमा सञ्चालन हुने ईपीएस कोरिया शाखाले जनाएको छ ।  

सन् २००७ मा दुई देशका सरकारबीच श्रमका लागि नेपाली श्रमिक लैजाने सहमति भएको थियो । श्रमिकहरू जाने क्रम सन् २००८ बाट सुरु भएको हो । कोरियामा नेपालीहरू उत्पादन र कृषि तथा पशुपालन गरी क्षेत्रमा कार्यरत छन् ।

सन् २०२० देखि रोकिएको रोजगार अनुमति प्रणाली (ईपीएस) छिट्टै नवीकरण हुनेसमेत मन्त्री श्रेष्ठले बताउनुभयो ।

तपाईको प्रतिक्रिया