प्रहरीले पैसा खाएर मापदण्ड विपरीतका गाडी चलाउन दिएको मन्त्री दाहालको आरोप

 चैत २५, २०८१ सोमबार १७:५६:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले धुवाँ उत्सर्जन मापदण्ड विपरितका गाडीहरु चलाउन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । आज सिंहदरबारमा यातायात व्यवसायी राष्ट्रिय महासङ्घका प्रतिनिधिहरुसँग छलफल गर्दै मन्त्री दाहालले मापदण्ड विपरितका गाडीहरुको कारण यात्रुबाहक गाडीहरुमा समेत प्रभाव परेको र गृह मन्त्रालयसँग बसेर आवश्यक कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाइने बताउनुभयो ।

मन्त्री दाहालले मालबाहक गाडीहरुको तौलपुलको विषयमा समेत सरकारको ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले मालबाहक गाडीहरुको नाप तौलबारे अध्ययन गर्न कार्यदल बनाएको र यो समस्या छिट्टै समाधान गरिने बताउनुभयो । उहाँले मालबाहक गाडीको अनुगमन र आवश्यक कारबाही प्रक्रियामा प्रहरीले सहयोग नगरेको समेत बताउनुभयो ।

प्रहरीले चालकबाट पैसा खाएर ओभरलोडका गाडीहरु चलाउन दिएको मन्त्री दाहालले आरोप लगाउनुभयो । उहाँले गाडीको ओभरलोडका सम्बन्धमा गृह मन्त्रालयसँग आवश्यक छलफल गर्ने बताउनुभयो । निर्माणाधीन नारायणघाट–बुटवल सडकको दाउन्ने खण्डमा यात्रुबाहक सार्वजनिक गाडी चलाउन सहज वातावरण निर्माण गर्ने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।

स्तरोन्नति भइरहेको नारायणघाट–बुटवल सडकको दाउन्ने खण्डमा आवश्यक मर्मतसम्भार र निर्माणका लागि पहिलो चरणमा यही चैत २७ गते देखि ३१ गतेसम्म दिउँसोको समयमा यातायात सञ्चालनमा रोक लगाइने जनाएको थियो । यसप्रति यातायात व्यवसायीहरुले भने असन्तुष्टि जनाएका छन् ।

यातायात व्यवसायी राष्ट्रिय महासङ्का महासचिव सरोज सिटौलाले सडकहरुमा भइरहेको राजनीति अन्त्य गर्न सुझाव दिनुभयो । उहाँले यात्रुबाहक सार्वजनिक गाडी चल्ने सडकहरुमा प्राविधिक रूपमा सहयोग गर्न मन्त्रालयसँग आग्रह गर्नुभयो । उहाँले यात्रुबाहक गाडीको सहज ढङ्गले हिँड्ने वातावरण मिलाउन मन्त्री दाहालको ध्यानाकर्षण गराउनुभयो ।

छलफलपछि कुराकानी गर्दै उहाँले देशभरको सडकमा सार्वजनिक गाडीका लागि उपयुक्त वातावरण निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएको उल्लेख गर्दै माग सम्बोधन नभएर सडक आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो । उहाँले दाउन्नेमा मालबाहक गाडीका कारण सार्वजनिक गाडीहरुले दुःख पाइरहेको उल्लेख गर्दै केही दिनमा समाधान नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो ।

यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँरले वायु प्रदूषण बढ्नुमा सार्वजनिक गाडीको मात्र नभई निजी र व्यक्तिगत गाडीहरुको योगदान पनि उत्तिकै रहेको बताउनुभयो । उहाँले सार्वजनिक यातायातभन्दा संस्थागत र नीजि गाडीको कारण बढी वायु प्रदूषण भइरहेको बताउनुभयो । उहाँले मोटरसाइकलहरुलाई समेत वायु प्रदूषणको मापदण्डभित्र राखेर चेकजाँच गर्न माग गर्नुभयो ।

निर्माणाधिन सडकहरुमा मालबाहक गाडीमा रोक लागएर भए पनि सार्वजनिक गाडी चल्ने वातावरण मिलाउनुपर्नेमा व्यवसायीको जोड छ । 

अन्तिम अपडेट: चैत २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया