सफ्टवेयर अपडेट गरेसँगै अनलाइन राहदानी फारम भर्न सहज भयो : विभाग

 असार १२, २०७९ आइतबार १३:३७:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सफ्टवेयर अपडेट गरेसँगै विद्युतीय राहदानी (ई–पासपोर्ट)को लागि अनलाइन फारम भर्ने काम सजिलो भएको विभागले जनाएको छ । राहदानी विभागले गएको ६ गते विद्युतीय राहदानीको सफ्टवेयरमा अपडेट गरेको छ ।

विभागका अनुसार पहिले खोलेको बुकिङ अनाधिकृत रुपमा ओगट्ने गरी तुरुन्त बुकिङ्ग भरिने गरेको अवस्था थियो । यसको मुख्य कारण क्यान्सिल गरेको बुकिङगमा पुनः फारम भर्न मिल्ने हुनाले त्यसो भएको थियो । पैसा लिएर फारम भरिदिनेहरुले फेक नाम तथा कागजात राखेर फारम सब्मिट गर्ने र पछि विशेष गरी रात्रिको समयमा बुकिङ क्यान्सिल गरी खाली हुने ठाउँमा अर्को वास्तविक फारम भर्ने गरेको कारणले धेरै सेवाग्राहीले फारम भर्न नै नपाउने भएको थियो ।

सफ्टवेयर अपडेट गरेसँगै अब क्यान्सिल गरेको बुकिङ्गको ठाउँ खाली हुने छैन र पुनः प्रयोग हुनेछैन । साथै पहिले फारम भरीसकेपछि मिति र समय बुक गर्ने व्यवस्था भएकोमा अब मिति र समय छनौट गरीसकेपछि मात्र फारम भर्ने व्यवस्था गरिएको पनि विभागले जनाएको छ । यसले गर्दा अनावश्यक रुपमा समय खर्च हुने छैन ।

यस्तै, कसैले बुकिङ्ग सम्बन्धमा कुनै किसिमको अनाधिकृत काम गरेमा प्रणालीबाटै जाँच गरी तुरुन्त कानुनी कारबाही गर्न सकिनेछ । विभागले अबदेखि सबै नियोग, जिल्ला तथा इलाका प्रशासन कार्यालयहरुलाई बुकिङ्ग भरिएकाे अवस्था नराख्न पनि अनुरोध गरेको छ । अनाधिकृत रुपमा विभागले खोलेको बुकिङ्ग ओगट्ने गरी दुई महिना भन्दा माथि गएकोमा अब एक हप्ता भित्रै सीमित गरिएको पनि विभागको भनाइ छ । विभागका अनुसार बुकिङ्ग अवधि एक हप्ता भित्रै सीमित हुनाले बुकिङ्ग भएको मितिलाई अगाडि सार्न सकिने छैन ।

तपाईको प्रतिक्रिया