‘बाटो नहेर्नु है आमा परदेशी छोराको, खाली निधार लिएर म डिउटी हिँडेको’

 असोज १०, २०७९ सोमबार १५:९:१० | मेरो कथा मेरो भोगाई
unn.prixa.net

क्षत्र लकाई खड्का/मोरङ, दुलारी हाल मलेसिया । 

नमुछे आमा दहीमा टीका नछरे जमरा

दैवले पर्दा उठायो आमा आउँदिन फर्केर...

हरेक वर्ष दसैँ तिहार नजिकिँदा मलाई यही गीतले रुवाउँछ । किनकि यो गीतले म परदेशीको व्यथालाई बोकेको छ । 

देशमा चाडबाड आउँदा मलेसियामा सुरक्षा गार्डको काममा खटिन पर्दा मेरी आमालाई सम्झँदै म यही गीत गुनगुनाउँछु । जब जब दसैँ आउँछ तब तब आफू परिवारसँग सँगै भएर चाडबाड मनाउँदाको यादले सताउँछ । यता उता हेर्छु म मात्रै होइन नि यहाँ त यस्तै दुःखमा परेका लाखौँ युवाहरू छन् जो सुन्दर भविष्यको कल्पनामा मजस्तै घर परिवारदेखि टाढा रहेर काम गरिरहेका छन् । यो देख्दा त चित्त बुझ्छ । तर अघिपछि भन्दा चाडबाडको बेलामा छटपटी छुट्टै हुन्छ । आमालाई सम्झँदा मन भारी हुन्छ । 

बाटो नहेर्नु है आमा परदेशी छोराको, 

वर्षौँ भयो परदेशमै बितेको, 

खाली निधार लिएर म डिउटी हिँडेको ।

१२ घण्टा ३० दिन डिउटी छदै छ यहाँ त । आफ्नै गाउँघरमा हुँदा कति रमाइलो हुन्थ्यो । के गर्नु आमा बाध्यताले छोरालाई परदेशी बनायो । मलाई सम्झेर नरुनु है आमा मूलबाटो हेरेर । फर्की आउने छु अर्को दसैँमा खुसी लिएर । 

ज्यान जहाँ भए पनि मन उडेर गाउँघरमै आइसकेकाे छ । अर्काे साल ज्यान पनि  आउन पाउने छ भन्ने आशा छ । मेरो परिवार, मेरो आफन्त, मेरा साथीभाइ तपाईँहरू सबैलाई यो बडा दसैँ २०७९ को मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।  

2 Comments

  • मोहन गौली

    Sept. 26, 2022, 5:30 p.m.

    हामी परदेशीको यो दर्दनाक पिडालाई बुझ्ने सरकार अहिलेसम्म पाउन सकिएन यो अर्को पिडा । युवा शक्ति बिदेश पलाएन, रेमिटान्सले आकाश छुदैन आगामी दिनहरुमा देश बर्बादी तिर धकेलिदै छ, दु:ख लाग्छ।

  • ओम पाण्डे

    Sept. 26, 2022, 4:35 p.m.

    परदेशीको पीडा।

तपाईको प्रतिक्रिया