दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
कृष्णप्रसाद चौहान, कपिलवस्तु ।
हेर्नुस् न, ७ वर्ष भइहाल्यो, छोराले फोन नगरेको ! कस्तो अवस्थामा होला अहिले । मन वेचैन भइरहन्छ । शिवमोहन चौहान हो छोराको नाम । ११ वर्ष पहिले सन् २०१२ मा भारतको बाटो भएर कुवेत गएको थियो ।
नियमित पैसा पठाइरहन्थ्यो । त्यही बेला आफू कुवेत जाँदाको ६० हजार रुपैयाँ ऋण पनि तिर्याे । कुवेतमा अढाइ वर्ष बसेर घर फर्कियो । घर आउँदा भने उ भारतबाट नभएर काठमाण्डौको त्रिभुवन विमानस्थलबाटै आएको थियो । साथमा फर्किने टिकट पनि थियो । बिदामा आएको हो भन्थ्यो । चार महिना घर बसेर फेरि कुवेत गयो । त्यतिबेला सबै राम्रै छ भन्थ्यो ।
नेपालबाट फर्केर कुवेत गएपछि पनि शिवमोहनले घरमा फोन गरिरहन्थ्यो । तर केही महिनामै फोन आउन बन्द भयो ।
हेर्दाहेर्दै छोराको फोन नआएको सात वर्ष बितिसक्यो । केही आपत विपतमा पो परेको छ कि ? वा गर्न नहुने काम गरेर जेलमा पो परेको छ कि ? मनमा अनेक कुरा खेलिरहन्छन् । तर अर्को मनले भन्छ, उ गलत काम गर्ने केटा हुँदै होइन । कसरी जेल पर्ला ?
म अहिले गाउँकै स्थानीय विद्यालयमा कार्यालय सहयोगीको रुपमा कार्यरत छु । मेरा ११ जना छोराछोरीमध्ये जेठो छोरो हो शिवमोहन । दिदीबहिनीको बिहे गर्छु र पक्की घर लगाउँछु भन्दै धन कमाउन परदेश लागेको थियो । कुवेतमा घरेलु काममा छु भन्थ्यो । कहिले घरको काम त कहिले उट चराउने काम गर्नुपथ्र्याे रे ।
रोजगारदाताले शिवमोहनलाई कुवेतबाट कहिलेकाहीँ साउदीमा पनि लैजान्थे रे, उसैले भनेकाे । कहिलेकाहीँ उँट पनि चराउँछु भन्थ्यो । साउदीको आइडी अकामा पनि बनाइदिएको थियो । घरको जिम्मेवारी बोकेर त्यसरी कमाउन गएको छोरा घरपरिवारको माया नै मारेर सम्पर्कमै नआएको होला जस्तो त मलाई लाग्दैन ।
मोबाइल पनि नदिएर रोजगारदाताले कतै टाढा उँट हेर्न पो पठाएको छ कि जस्तो लाग्छ । त्यसैले एक दिन छोराको फोन आउँछ भन्ने विश्वास छ मलाई । म त फोन पनि शिरानीमुनै नै राखेर सुत्छु । एक सेकेण्ड पनि फोन स्वीच अफ गरेर राख्दैन । नत्र स्वीच अफ भएकै बेला छोराको फोन आयो भने के गर्ने ?
कार्यलय सहयोगीकै जागिरको भरमा जसोतसो दुई छोरी र दुई छोराको बिहे त गरिदिएँ । अरु दुई छोरी बिहे गर्ने उमेरकी भइसके । फुसको छानो हटाएर पक्की छानो छाउन सकेको छैन । बाउको आश त हो नि, कुनै दिन छोराको फोन आइहाल्छ कि ।
उसैले घरको छानो बदल्ने कुरा पो गरिहाल्छ कि भन्ने मनमा लागिरहन्छ । मोबाइलको घण्टी बज्नेबित्तिकै कतै छोराकै जानकारी पो आयो कि या उसैले पो फोन गर्याे कि भनेर मन झसंग हुन्छ । आँखाबाट आँसु बग्न थालिहाल्छ । छोराको पीरले बुढिया (शिवमोहनकी आमा) पनि पागल जस्तै भएकी थिइन् । अहिले अलि सञ्चो छ । छोरा शिवमोहनको नाम लिएर बरबराउने गर्थिन् । के बोलेको होसै नहुने, यताउता डुलिरहने गर्थिन् । उपचारको लागि भारतको गोरखपुर पनि पुर्यायौँ हामीले । अहिले सञ्चो भएको छ ।
शिवमोहन अहिले ३६ वर्षका भइसक्यो । उसको बारे गाउँलेले विभिन्न अड्कलबाजी गर्छन् । गाउँघरमा कुनै साधु आयो भने फलानाको छोरा जस्तै लाग्छ भन्छन् । कसैकसैलाई त तिमै्र छोरा हो भनेर पनि भन्छन् । कतिपटक त मेरो श्रीमती कतै साँच्चै आफ्नै छोरा पो हो कि भनेर दगुर्दै जोगीको अनुहार हेर्न गएकी छिन् । तर मलाई भने, मेरो छोरा त्यसरी आयो होला भनेर विश्वास लाग्दैन ।
विदेशबाट आउँदा त काठमाण्डौ भएर आउँछन् नि । त्यो रिपोर्ट सरकारसँग हुन्छ । हामीले छोरो हराएको बारेमा सरकारलाई निवेदन दिएका छौँ । त्यसैले सरकारले नै हामीलाई जानकारी गराउँछ होला नि । छोरा बाँचेको भए राम्रै होला तर यसरी जोगी बनेर आयो होला भन्ने पत्यारै लाग्दैन ।
लामो समयसम्म त उसको विदेश गएको कुनै कागजात हामीसँग नहुँदा खोजी गर्न पनि समस्या भएको थियो । तर काँकाँबाट शिवमोहनको पासपोर्टको फोटोकपी भेटियो ।
अहिले त्यही पासपोर्टको आधारमा हामीले निवेदन दिएका छौँ । बाँचेको छ भने छोरासँग भेट भइहाल्छ ।