अध्यागमनले विमानस्थलबाट श्रमिक फर्काएको भन्दै म्यानपावर व्यवसायी आन्दोलित, महानिर्देशकको राजीनामा माग

 असार ३१, २०८० आइतबार १४:३६:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – म्यानपावर व्यवसायीहरुले अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीको राजीनामा माग गर्दै आन्दोलन गरेका छन् । 

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जान लागेका श्रमिकलाई बिना कारण अध्यागमनका कर्मचारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काएको भन्दै म्यानपावर व्यवसायीहरुले महानिर्देशकको राजीनामा माग गरेका हुन् । आइतबार अध्यागमन विभाग अगाडि पुगेर व्यवसायीहरुले कार्यालय घेराउ गरेका छन् । अध्यागमन र महानिर्देशकको विरोधमा नारा लगाउँदै आन्दोलन गरेका छन् । 

यही असार २७ र २८ गते कुवेत जान लागेका एक सय १७ जना श्रमिकलाई विमानस्थलमा रहेको अध्यागमन कार्यालयले फर्काएको थियो । यस्तै त्यसको तीन दिन अगाडि पनि वैदेशिक रोजगारीमा जोर्डन जान लागेका १४ महिलासहित १५ जना श्रमिकलाई अध्यागमनका कर्मचारीले कागजात नमिलेको, भिसामा शंका लागेको भन्दै फर्काएका थिए । 

श्रम स्वीकृति लिएर, सबै कानुनी प्रक्रिया पूरा गरेर जान लागेका श्रमिकलाई यसरी फर्काएर अध्यागमनले मनपरि गर्न खोजेको व्यसायीहरुको आरोप छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेल महानिर्देशकको ज्यादति बढ्दै गएकाले राजीनामा माग गरेको बताउनुहुन्छ ।

वैदेशिक रोजगार ऐन २०६४ अनुसार सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरि संस्थागत रुपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जान लागेकालाई यसरी फर्काइनु कानुनविपरीत भएको 
उहाँको भनाइ छ । विदेश जान विमानस्थल पुगेका श्रमिकलाई यसरी अध्यागमनले राेक्दा उनीहरुमा परेकाे दु:ख र जान नदिँदा भएकाे क्षतिपूर्ति नदिएसम्म आन्दोलन गर्ने पनि उहाँले बताउनुभयो । 

 

तपाईको प्रतिक्रिया