सहलेशलाई पेनाल्टीमा हराउँदै एनआरटी क्लब फाल्गुनन्द गोल्डकपको स...
पुस ११, २०८१ बिहिबार
त्रिभुवन विमानस्थलको ‘नेपाल’ लेखिएको भित्तोमा आफन्तसँग फोटो खिचाउने हतारोमा हुनुहुन्छ २५ वर्षीय प्रदीप सुनुवार । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका सुनुवार सात वर्ष दुबई बसेपछि दुई महिने छुट्टीमा नेपाल आउनु भएको हो । छुट्टी सकाएर फेरि दुबइ जान लाग्नुभएका सुनुवारले पहिले देशमै रहँदा पनि नेपाल प्रहरी, नेपाली सेना, ब्रिटिश लाहुरे, गैरसरकारी संस्था गरी थुप्रै ठाउँमा जागिरका लागि कोसिस नगर्नुभएको होइन । तर, जहाँ जता कोसिस गरे पनि जागिर मिलेन । उहाँ भन्नुहुन्छ, ‘त्यति चाहँदा चाहँदै पनि भएन । अनि लागियो विदेश ।’
दुबइको सेनामा जागिरे उहाँलाई सात वर्षपछि फर्किँदा देशमा केही परिवर्तन भएको भने लाग्यो । केही विकास भएजस्तो लाग्यो । तर, पनि सेवा, सुविधा, कमाइ, सहज जीवनका कारण उहाँलाई अहिले विदेश नै ठीक लाग्न थालेको छ ।
उहाँको अब तीन वर्षको करार अवधि बाँकी छ । त्यति समय त उहाँ दुबइ नै बस्नुहुन्छ । तर, त्यसपछि पनि करार थपियो भने उहाँको उतै बस्ने चाहना छ । ‘उता झण्डै यहाँको एक लाख जति तलब हुन्छ । सेवा, सुविधा छँदैछ । नेपालमा भएको भए ३०/३५ हजार हुन्थ्यो होला’ उहाँले भन्नुभयो ।
उहाँ आफू बाध्यताले विदेशिनु परेको बताउनुहुन्छ । यहाँ कुनै पनि काम गरिहाले, भइहाले पनि त्यसलाई निरन्तरता दिन नसकिने कारण पनि आफूजस्तै धेरै मानिस वैदेशिक रोजगारमा जानुपरेको उहाँको तर्क छ । उहाँ भन्नुहुन्छ, ‘एक, दुई महिना गरिन्छ, एक, दुई वर्ष गरिन्छ त्यसपछि त्यो स्वतः हटेर जान्छ । अनि के गर्ने हुन्छ । भविष्यको लागि सोच्न सकिँदैन ।’
नेपालमा सानो कुरामा पनि राजनीतिक चलखेल हुने कारणले पनि यहाँ काम तथा विकास र रोजगारी नभएको भन्ने लाग्छ उहाँलाई । उहाँ भन्नुहुन्छ, ‘यहाँ काम गरेअनुसारको फल नै हुँदैन ।’
देशमा योग्यता अनुसारको काम पाइँदैन । रोजगारीको चरम अभाव छ । युवाहरु रोजगारीका लागि विदेशिन बाध्य छन् । गएको पुष १३ गते शुक्रवार वैदेशिक रोजगारीका लागि कोरिया जान रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको आवेदन फारम भर्न पाउनुपर्ने भन्दै परीक्षार्थीले प्रदर्शन गर्दा प्रहरीको गोली लागेर दुई जनाले ज्यान गुमाए । रोजगारीको लागि विदेशिनुपर्ने बाध्यताको यो एउटा दुष्परिणाम हो ।
देशमा रोजगारीको अवसर नभएपछि अध्ययनका लागि विदेश जाने र उतै रोजगारी गरेर बस्नेहरुको सङ्ख्या धेरै छ । वीरगञ्ज उपमहानगरपालिका–१६ की स्थायी बासिन्दा आस्था शर्माले ‘बिजनेश एनलाइटिक्स’ विषयमा स्नातक गरिसक्नु भएको छ । उहाँले काम नपाउनु भएको पनि होइन । काम पनि गर्दैहुनुहुन्थ्यो । तर, पनि यो सबै छोडेर उहाँ ‘बिजनेश एनलाइटिक्स’को स्नातकोत्तर तहमा पढ्न अमेरिका जाँदै हुनुहुन्छ । यहाँको कामसमेत छोडेर जानुपर्ने कारण बताउँदै उहाँ भन्नुहुन्छ, ‘काम धेरै गर्नुपर्ने तर तलब कम । एउटा मात्र काम गरेर नहुने चारैतिरको काम भ्याउनुपर्ने । काम पनि सबै गर्नुपर्ने । तर, त्यसअनुसारको तलब छैन।’
उहाँलाई अमेरिकाले आकर्षण गर्नुमा त्यहाँको व्यवहारिक शिक्षा नै प्रमुख कारण हो । त्यसमा पनि पढाइसँगै हुने कामको अवसर अर्को लोभ्याउने विषय हो । उहाँ भन्नुहुन्छ, ‘राम्रा युनिभर्सिटीहरु अमेरिकामै छन् ।अमेरिकामा रिसर्च बेस्ड स्टडी धेरै हुन्छ ।’ विषय नयाँ भएको र अमेरिकामा यो विषयको विज्ञता राम्रो भएका कारण पनि आफू अमेरिका जान लागेको उहाँ बताउनुहुन्छ ।
अमेरिका जानका लागि आफूले निकै दुःख गर्नुपरेको भन्नुहुन्छ शर्मा । यसका लागि धैर्यता भने सबैभन्दा ठूलो रहेको पनि उहाँको अनुभव छ । अध्ययन सकिएपछि नेपाल आउने उहाँको सोच त छ । तर, यो भविष्यको विषय भएको हुनाले अहिले नै केही भन्न नसकिने पनि शर्मा भन्नुहुन्छ ।
वैदेशिक रोजगार तथा अध्ययनका लागि पनि त्यति सहज भने छैन । अलि राम्रा देशमा जानका लागि पैसा पनि धेरै खर्च गर्नुपर्ने अनि दलालबाट ठगिने सम्भावना पनि त्यत्तिकै छ । अध्ययनका लागि पनि ठूलो धनराशी खर्च गर्नुपर्ने तथा कागजी प्रक्रिया मिलाउन पनि समय, श्रम र पैसा पनि धेरै नै लाग्छ ।
तर, जे जे भए पनि वैदेशिक रोजगारी तथा अध्ययन बाध्यता भएको बताउनुहुन्छ नवलपरासी गैँडाकोटका रविन वाग्ले । उहाँ ब्याचलर इन कम्प्युटर साइन्स विषय पढ्न अमेरिका जान लाग्नु भएको हो ।
स्तरका हिसाबले अमेरिकाको पढाइ एकदमै गुणस्तरीय भएको र डिग्री पनि विश्वको जुनसुकै देशमा मान्य हुने भएका कारण पनि आफू अध्ययनका लाग अमेरिका जान लागेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘यहाँको डिग्री वर्ल्डवाइड मान्यता हुँदैन । र उताको डिग्री वर्ल्डवाइड मान्यता हुन्छ । उताको एजुकेशन प्राक्टिकल बेस्ड हुन्छ भने यता थ्योरी बेस्ड हुन्छ ।’
यहाँको पढाइ परम्परागत भएको र उताको भने नयाँ शैलीको भएको हुनाले पनि पढ्न अमेरिका जान लागेको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘यहाँको पढाइ भनेको घोक्ने नै हुन्छ । उताको भनेको फरक हुन्छ । यहाँ ६ दिन नै पढ्न जानुपर्छ । उता भने २/३ दिन क्लास गए पुग्छ ।’
अरु विषयमा नभए पनि आईटी सेक्टरमा भने राम्रै सम्भावना रहेकोले उहाँ पढाइ सकेपछि भने नेपालमै फर्किने बताउनुहुन्छ । फर्केर कुनै कम्पनी वा अरु कुनै व्यवसाय गर्ने उहाँको चाहना छ । तर, भविष्यको कुरा अहिले यसै भन्न नसकिने भन्नुहुन्छ वाग्ले।
अध्ययन होस् वा रोजगारी विदेश सजिलो छैन । तर, पनि पैसा, श्रम र समय सबै खर्चेर विदेशिनु युवाहरुको बाध्यता रहेको छ ।
वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ ।