Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

कार्यक्रम देशपरदेशको ५२८औँ अंक

कार्यक्रम देश परदेशको अङ्क ५२८ विदेशबाट फर्किएकाको पुनः एकीकरणका लागि सरकारी योजना र जापानको रोजगारीमा केन्द्रित छ । गएको हप्ता सकिएको नेपाल जापान संयुक्त कार्यसमितिको बैठकमा के कस्ता विषयमा छलफल भए ? र, भाषा र सीप परीक्षणमा उत्तिर्ण भएकाहरू रोजगारीमा जापान जाने प्रक्रिया के कस्तो हुन्छ त भन्ने विषयमा जानकारी दिन हामीसित हुनुहुन्छ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह प्रवक्ता तथा उपसचिव डा.थानेश्वर भुसाल । वैदेशिक रोजगारीबाट फर्किएकाहरूको लागि पुनः एकीकरण कार्यक्रम भनेको के हो र कस्ता कार्यक्रम कसरी सञ्चालन हुन्छन् त भनेर वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठसित कुराकानी गरेका छौँ । अनि, वैदेशिक रोजगारीबाट फर्किएका महिला श्रमिकले पुनः एकीकरण प्रक्रियामा भोगेका अप्ठेरा र महिला श्रमिकका समस्या सम्बोधन हुने गरी सरकारले निर्देशिकामै गर्नुपर्ने व्यवस्थाबारे आप्रवासी महिला अधिकारकर्मी मञ्जु गुरुङको बिचार पनि कार्यक्रममा समेटिएको छ । साथमा छ तपाईँले सोधेका प्रश्नमा हामीले खाेजेका उत्तर र हप्ताभरिका रोजगार गतिविधि पनि ।