Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

कार्यक्रम देश परदेशको ५८२औँ अंक

कार्यक्रम देश परदेशको अङ्क ५८२ मा सामाजिक सञ्जालमार्फत वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने पछिल्लो प्रवृत्ति र वैदेशिक रोजगार बोर्डमार्फत पाइने आर्थिक सहायताको विविध समेटिएको छ । कार्यक्रममा सामाजिक सञ्जालमार्फत बढेको वैदेशिक रोजगार ठगी र यसबाट बच्न अपनाउन पर्ने सावधानीबारे वैदेशिक रोजगार विभागका निर्देशक तथा सूचना अधिकारी कविराज उप्रेतीसँग गरिएको कुराकानी सुन्न सकिन्छ । सरकारले वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकका परिवारले पाउने आर्थिक सहायता रकम बढाउने गृहकार्य थालेको छ । अब बढ्दा कति रकम बढ्छ र बढेको रकम कहिलेदेखि के कसरी पाइएला त ? वैदेशिक रोजगार बोर्डका निर्देशक तथा सूचना अधिकारी राजन पौडेलले दिनुभएको जानकारी पनि कार्यक्रममा समावेश छ । साथमा छ तपाईँले सोधेका प्रश्नमा हामीले खोजेका उत्तर र हप्ताभरिका श्रम तथा रोजगार गतिविधि पनि ।