Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

कार्यक्रम देश परदेशको अंक ६५५

कार्यक्रम देश परदेशको अंक ६५५ मा हामीले सुरक्षित बैदेशिक रोजगारीका विभिन्न पाटाहरु केलाएका छौं । किनकी सुरक्षित बैदेशिक रोजगारीका लागि अहिले विभिन्न संघ संस्थाले काम गरिरहेता पनि यस अन्तर्गत बैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम स्वीकृति लिएका छन् वा छैनन् ? सीप, तालिम लिएका छन् कि छैनन्, छन् भने त्यो सीप कुन प्रकारको छ ? गन्तव्य देशबारे बुझेका छन वा छैनन् ? भन्ने विषयमा ध्यान दिंदा दिंदै पनि बैदेशिक रोजगारीमा जाने तयारी गरिरहेका र गन्तव्य देश पुगेका श्रमिक ठगीने र समस्यामा परिरहेका हुन्छन् । कोहि आफन्तीकै जालमा पर्छन् त कोहि आफैं श्रम स्वीकृति लिएर बैदेशिक रोजगारीमा जाने क्रममा समस्यामा पर्छन् । कार्यक्रममा सुरक्षित बैदेशिक रोजगारी, सीप र सामाजिक सुरक्षा कोषबारे तपाईंले सोध्नुभएका प्रश्नको जवाफ जोडेका छौं । सुरक्षित बैदेशिक रोजागारीबारे बैदेशिक रोजगार बोर्डका निर्देशक टिकाराम ढकालसँगको कुराकानी सुन्न सक्नुहुन्छ । सीप सम्बन्धी तपाईले राख्नुभएको जिज्ञासाको जवाफ राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानकी निर्देशक बिन्दा आचार्यले मेटाउनुभएको छ । त्यसैगरी, सामाजिक सुरक्षा कोष सम्बन्धी तपाईंको प्रश्नको जवाफ दिनुभएको छ, सामाजिक सुरक्षा कोषका निर्देशक उत्तमराज नेपालले ।