इलामको सुखानीमा नयाँ प्रजातिको बैजनी कोइली चरा भेटियो

 वैशाख ३, २०८२ बुधबार १२:२३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इलामको सुखानीमा नयाँ प्रजातिको बैजनी कोइली चरा फेला परेको छ । नेपाल पक्षीविद् सङ्घले आज विज्ञप्ति निकालेर नयाँ चरा बैजनी कोइली ‘भ्वाइलेट कुक्कु’ अभिलेख गरिएको जानकारी दिएको हो ।

गएको चैत २५ गते नेपालका चराविद् राजेन्द्र गुरुङसहितको टोलीले चरा अवलोकनका क्रममा समुद्र सतहबाट तीन सय मिटर उचाइमा रहेको सुखानी वन क्षेत्रमा चरा फेला पारेको थियो । गुरुङको साथमा मलेशियाका चरा विज्ञ एलेकजान्डर जोन आङ याङ र रोजर रोबर्ट राजा पनि हुनुहुन्थ्यो ।

साथै टोलीमा नेपाली चराविद् अनिश तिमिल्सिना पनि संलग्न हुनुहुन्थ्यो । थप पुष्टिका लागि चराका फोटो र भिडियो चैत २८ गते नेपाल बर्ड रेकर्ड कमिटीमा पठाएकोमा विज्ञको राय लिएर बैजनी कोइली चरा नेपालका लागि नयाँ भएको पत्ता लगाएको कमिटीका तर्फबाट डा. तुलसी सुवेदीले जानकारी दिनुभएको छ ।

अङ्ग्रेजीमा भ्याइलेट कुक्कु भनिने यो चराको वैज्ञानिक नाम क्राइसोककस साइन्थोरिङ्कस हो । योसँगै नेपालमा पाइने चराको प्रजातिको सङ्ख्या ८ सय ९९ पुगेको छ ।

यो चरा भुटान, मलेशिया, सिङ्गापुर, बङ्गलादेश, ब्रुनाई, चीन, भारत, इन्डोनेशिया, लाओस, फिलिपिन्स, म्यानमार, थाइल्याण्ड र भियतनाममा आवासीय रूपमा नै पाइने गरेको नेपाल पक्षीविद् सङ्घले जनाएको छ । यसले भुटान, फिलिपिन्स र सिंगापुरमा प्रजनन गर्ने गर्छ ।

यस्तै झापाको मेचीनगर काँकरभिट्टामा समुद्र सतहबाट एक सय ४२ मिटरको उचाइमा हरित परेवा पनि अभिलेख गरिएको छ ।

नेपालका चराविद् युवीन श्रेष्ठ र दीपक बुढाथोकीको टोलीले चरा अवलोकन गर्ने क्रममा चैत्र १६ गते मेचीनगर काँकरभिट्टा शहरी क्षेत्रभित्र रहेको काँकरभिट्टा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको परिसरमा चरा फेला पारेको थियो । यो नेपालमा गरिएको दोस्रो अभिलेख रहेको नेपाल पक्षीविद् सङ्घले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया