अर्घाखाँचीको भूमिकास्थानमा चुनढुङ्गा उत्खननको विषयलाई लिएर विवाद बढ्दै

 चैत २४, २०८० शनिबार १२:२५:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

अर्घाखाँची – भूमिकास्थानमा चुनढुंगा उत्खननको विषयलाई लिएर विवाद बढ्दै गएको छ । नगरपालिकाबाट गरिएको सिफारिस किर्ते भएकोबारेमा मेयर झविलाल थापाले जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा उजुरी दिनुभएको थियो । तर उजुरी दिँदा आफुलाई थाहै नदिएको, आफ्ना मान्छेलाई जोगाउन खाजेको, मेयरले एकलौटी गरेको भन्दै उपमेयर बालकृष्ण बन्जाडेसहित भूमिकास्थान नगर कार्यपालिकाका बहुमत सदस्यले विरोध गरेका छन् ।

किर्ते भनिएको सिफारिस दिएका व्यक्तिको नामै तोकेर विजया सिमेन्टले खानी तथा भूगर्भ विभागमा पत्र पठाउँदा पनि ती व्यक्तिलाई बचाउन मेयर लागि परेको आरोपसहित उपमेयरसहितका सदस्यले असन्तुष्टी जनाएका छन् । भूमिकास्थान नगरपालिका वडा नम्बर–९, ढिकुराको सान्डेभामा रहेको चुनढुङ्गा उत्खनन्को विषयमा जालझेल भएको र आफूहरु यसको विरोधमा रहेको वडा नम्वर–५ का वडा अध्यक्ष जयगोपाल श्रेष्ठले बताउनुभयो ।

कपिलवस्तुको कृष्णनगरमा रहेको विजया सिमेन्ट्सले २०८० फागुन १४ गते खानी तथा भूगर्भ विभागबाट चुनढुंगा उत्खनन्को अनुमति–पत्र पाएको थियो । नगरपालिकाको कार्यालयले गएको मङ्सिर ५ गते खानी तथा भूगर्भ विभागलाई आशय पत्र पठाएको देखिन्छ ।

मङ्सिर ५ गते नगरपालिकाको लेटरप्याडमा मेयर थापाको हस्ताक्षरसहितको पत्र विभागमा पुगेको थियो । तर पत्र नगरपालिकाबाट नलेखिएको मेयर थापाको दावी छ । नगरपालिकाको लेटरप्याड, छाप र हस्ताक्षर चोरी गरेर चुनढुङ्गाको उत्खनन् अनुमती लिइएको उहाँको भनाई छ ।

चुनढुंगा विवादले नगरपालिकाको कार्यपालिकाको बैठक पनि बस्न सकेको छैन । खानेपानीको मुहान रहेको क्षेत्रमा पर्ने चुनढुंगा खानी उत्खनन्मा नगरपालिकाको लेटरप्याड चोरी गरेर किर्ते सिफारिस बनाउनेलाई कारबाही नभएसम्म कार्यपालिकाको बैठक बस्न नसक्ने वडा नम्वर–७ का वडाअध्यक्ष रामचन्द्र ढुंगानाले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया