आन्दाेलनले सर्वसाधारणलाई सास्ती
बैशाख ७, २०८२ आइतबार
हामी जस्ता लाखौँ विद्यार्थीले कक्षा १२ को परीक्षाको तयारी गरिरहेका छन् । परीक्षा समयमै हुनुपर्छ । शैक्षिक सत्र नै पछि सर्ने अवस्था आइसकेको छ । शिक्षकहरू सडकमा हुँदा बालबालिकाको पढाइ नै प्रभावित भएको अवस्था छ । सरकारले शिक्षकका जायज माग सम्बोधन गर्नुपर्छ । नेपालमा अरू कर्मचारीको तुलनामा शिक्षकहरूलाई कामको भार अलि बढी छ । यदि शिक्षकको माग पूरा भएन भने विद्यार्थीको भविष्यमाथि नै प्रश्न उठ्ने अवस्था आउन सक्छ । अर्कोतर्फ सरकारलाई पनि एकैपटक सबै माग समाधान गर्न समस्या त होला । त्यसैले दुवै पक्ष मिलेर सहमति गर्नुपर्छ । शिक्षकले भने अनुसार सेवा सुविधा एकैपटक दिनुपर्दा राज्यलाई आर्थिक भार पनि पर्ने देखिन्छ ।
मलाई राजनीतिमा त्यति चासो त छैन तर मैले बुझेसम्म अहिलेको नेपालको राजनीति अस्थिर छ । नागरिकमा धेरै असन्तुष्टि छ । आम नागरिकले पाउने आधारभूत आवश्यकता पनि पूरा भएको छैन जस्तो अवस्था छ । सरकारले पनि नागरिकको कुरा सुन्नुपर्यो, काम गर्ने शैली परिवर्तन गर्नुपर्यो । संविधानमा लेखिएअनुसार व्यवहारमा कार्यान्वयन हुनुपर्यो । स्रोतसाधनको सही सदुपयोग हुनुपर्यो, अहिले दक्ष जनशक्ति बाहिरिएको छ, तिनीहरूलाई देशमै बस्ने वातावरण बन्नुपर्यो । रोजगारीको वातावरण सृजना हुनुपर्यो । देशमा व्याप्त भ्रष्टाचार अन्त्य हुनुपर्यो । स्वास्थ्य क्षेत्रमा सुधार हुनुपर्यो, स्वास्थ्यमा दक्ष जनशक्तिको उत्पादन हुन सकेको छैन ।
थोरै भए पनि पहिले र अहिलेमा स्वास्थ्य क्षेत्रमा धेरै परिवर्तन भएको छ । अहिले खानपानले पनि धेरै समस्या हुने गरेको छ । समयक्रम अनुसार हाम्रो जीवनशैली परिवर्तन भएको छ । दुई दशकअघिको कुरा गर्दा राजतन्त्रमा बोल्ने स्वतन्त्रता थिएन, तर अहिले नेतृत्वले सही काम नगर्दा नागरिकमा असन्तुष्टी छाएको छ । सुशासन कायम हुनुपर्यो ।
मेरो सोच चाहिँ नेपालमै केही गर्छु भन्ने नै छ । त्यसका लागि सरकारले पहिले त रोजगारीको वातावरण तयार गर्नुपर्यो भन्ने लाग्छ । राज्यले गरेन भनेर मात्रै हुँदैन, त्यसका लागि सबै क्षेत्रबाट लाग्न जरुरी छ । पढिसकेपछि स्वदेशमै केही गर्ने वातावरण निर्माण हुन जरुरी छ । अहिले पढ्दै गरिएको शिक्षा पूर्ण रूपमा व्यवहारिक हुन सकेको छैन । विशेषगरी पाठ्यक्रम पनि त्यही अनुसार निर्माण हुनुपर्यो । पढेको कुरा प्रयोग हुने ठाउँ हुनुपर्यो । शिक्षामा सुधार आयो भने देशको समग्र अवस्था नै सुधार हुन्छ । अहिले व्यवस्था भन्दा पनि अवस्था परिवर्तन गर्नतर्फ लाग्न जरुरी छ । देशको नेतृत्वमा युवा पुस्ताले नेतृत्व लिनुपर्छ । उदाहरणका लागि म काठमाण्डौका मेयर बालेन्द्र शाहले गरेको कामलाई लिन्छु । सबैले आ–आफ्नो ठाउँबाट देश सुधार गर्न आवश्यक छ ।
अहिलेको पुस्ता प्रविधिसँगै हुर्किएको हो । प्रविधिलाई पढाइसँगै जोड्न सकियो भने त्यसको सदुपयोग हुन्छ । त्यसैले यसको सही सदुपयोग गर्नुपर्छ । तर प्रविधिको दुरुपयोग गरियो भने कतिपय आपराधिक घटना पनि हुने गरेका छन् । पछिल्लो पुस्ता दुर्वयसनकाे शिकार बन्दै गएको अवस्था पनि छ । यसबाट हामी बच्न जरुरी छ । विशेषगरी अभिभावक पनि जागरुक हुनुपर्यो । सकारात्मक सोच राखेर सही मार्गमा हिँड्न सकियो भने सम्भावना धेरै छ, निराश हुनुपर्ने केही छैन ।
शिक्षकहरू आन्दोलनमा रहेका कारण अहिले विद्यार्थीहरूसँग नयाँ किताब छैन, घरमा खाली बसेको अवस्था छ । त्यस्तो अवस्थामा प्रविधिको सही सदुपयोग गर्न सकिन्छ । अहिलेको डिजिटल युगमा शिक्षक नहुँदा पनि प्रविधिको प्रयोग गर्दै पढाई अगाडि बढाउन सकिन्छ । अभिभावकले पनि आफ्ना बालबालिकाको रुचि र क्षमता अनुसारको क्षेत्रमा लाग्न अभिप्रेरित गर्नुपर्छ । यसमा घर, परिवार र राज्यको भूमिका महत्त्वपूर्ण हुन्छ । आजका बालबालिका भोलिका कर्णधार हुन भन्ने बुझ्नुपर्छ । जे होस युवालाई देशमै गरीखाने वातावरण राज्यले बनाउनुपर्छ । सम्भावना स्वदेशमै छ अहिले शिक्षकहरु आन्दोलनमा छन् । म भन्छु शिक्षक मात्रै नभएर कुनै पनि वर्ग, क्षेत्र, समुदाय यसरी सडकमा आउने वातावरण हुनु हुँदैन ।
कुसुम पाैडेल
विद्यालयको पढाइअनुसार तयारी त पहिलेदेखि नै गर्दै आएको छु । राम्रै तयारी गरेका छौँ । कक्षा १२ को बोर्ड परीक्षा देशकै लागि संवेदनशील विषय भएकाले यसमा सबैजना गम्भीर हुनु आवश्यक छ । परीक्षा तोकिएको समयमै हुनुपर्छ । त्यसका लागि सरकारले छिटोभन्दा छिटो शिक्षकहरूको माग पूरा गरेर समयमै परीक्षा लिने वातावरण निर्माण गर्नुपर्छ । परीक्षाको तयारीका लागि विद्यार्थीहरू मानसिक रूपमै तयार हुने अवस्था निर्माण गर्नु जरुरी छ । जब कुनै सामान्य आवश्यकता पनि पूरा नहुने अवस्था आउँछ, त्यसपछि त्यसको प्रतिक्रिया हुनु स्वाभाविक हो । अहिलेको शिक्षकहरूको आन्दोलन पनि त्यही प्रतिक्रिया हो जस्तो लाग्छ । शिक्षकहरू पनि बाध्य भएर नै सडकमा आउनुभएको हो । विद्यार्थीलाई राम्रो सिकाइ तथा राम्रो नतिजा दिनका लागि शिक्षकहरू स्वयम् सन्तुष्ट हुनु जरुरी छ ।
नेपालको सन्दर्भमा अहिले आधाभन्दा बढी युवा पुस्ता विदेशमा छन् । कतिपय शिक्षकहरूमा समेत ‘यही अवस्था रह्यो भने देशमा के गर्ने ?’ भन्ने अन्योल देखिन्छ । कतै शिक्षकहरू नै विदेश पलायन त हुने होइनन् भन्ने आशङ्का पनि बढ्न थालेको छ । अहिलेको मुख्य आवश्यकता व्यवहारिक ज्ञान हो । हामीले सैद्धान्तिक ज्ञान मात्रै बढी दिन थाल्यौँ, त्यसैले देशमा उद्यमशीलता विकास हुन सकेन । मानिसहरू बेरोजगार बन्न पुगे । संसार धेरै अगाडि पुगिसक्दा पनि हाम्रो देशमा अझै कतिपय गाउँहरूमा समयमा पाठ्यपुस्तक पुग्दैनन् भन्ने समस्या थियो, जुन गएको एक–डेढ वर्षयता मात्र समाधान भएको देखिन्छ । अबको शिक्षा प्रविधिमुलक हुनुपर्छ । व्यक्तिगत जीवनमा व्यवहारिक शिक्षा लागू भएमा अहिलेको पुस्ता स्वरोजगार बन्न सक्छ । गाउँहरूमा उच्च शिक्षाका शैक्षिक संस्थाहरू भए पनि गुणस्तरको प्रश्न उठिरहेको छ ।
मेरो व्यक्तिगत कुरा गर्दा म अहिले पनि नेपालमै केही गर्छु भन्ने अठोट राखेको छु । अहिलेको विदेश पलायन राज्यको कमजोरीकै परिणाम हो । समस्या छ भन्दै विदेशिनेभन्दा नेपालमै सम्भावनाको खोजी गर्नु आजको आवश्यकता हो । देशको अवस्था राम्रो छैन भनेर विदेशिने होइन, त्यसलाई सुधार्न सबै लाग्न जरुरी छ । राजनीतिज्ञ वा देश चलाउनेहरूलाई मात्रै दोष दिएर समस्याको समाधान हुँदैन; सबै नागरिक एकजुट भएर लाग्न आवश्यक छ । विशेषगरी म स्वास्थ्य विज्ञानतर्फ रुचि राख्छु, तर त्यो विषय अध्ययन गर्न आर्थिक भार बढी पर्छ । कलेजहरू त छन् तर हामीजस्ता मध्यम तथा निम्न वर्गका लागि त्यो थेग्न गाह्रो छ । त्यसैले विदेशजस्तै पार्टटाइम जागिरसहितको शिक्षाको व्यवस्था आवश्यक छ, जसबाट हामीजस्ता विद्यार्थीहरूले पढ्दै कमाउँदै अघि बढ्न सकून् ।
आजको अर्को मुख्य चुनौती भनेको गुणस्तरीय शिक्षाको अभाव हो । शैक्षिक क्षेत्रको नेतृत्व अब शिक्षित तथा जानकार वर्गले लिनुपर्छ । अहिले विद्यालयहरूमा शिक्षकको अभाव छ । त्यसैगरी अतिरिक्त क्रियाकलापहरूको पनि कमी छ, जसमा ध्यान दिन जरुरी छ । शिक्षकहरूलाई आधुनिक तालिम दिनुपर्छ, पुरानै पढाउने शैलीले अब काम गर्दैन । नयाँ पुस्ताका लागि प्रविधिमैत्री शैक्षिक गतिविधिमा जोड दिनुपर्छ । अहिलेको पुस्ताले आधुनिक प्रविधिको सदुपयोग गर्न सक्यो भने धेरै भाग्यमानी हुनेछन्, तर त्यसको दुरुपयोग हुने डर पनि छ । शिक्षामा सूचना प्रविधिको प्रयोग बढाउन जरुरी छ ।
देशका दुर्गम ठाउँहरूमा अझै पनि शिक्षाको चेतना कम छ । त्यस्ता ठाउँहरुमा किताब समयमा पुगे पनि शैक्षिक सामग्रीको अभाव देखिन्छ । विद्यालय छोड्ने बालबालिकाका हकमा अभिभावक सचेत हुन आवश्यक छ । पालिकाले अभिभावकलाई जागरूक बनाउन विशेष पहल गर्नुपर्छ । बालबालिकाहरू विद्यालयको पहुँच बाहिर जानु हुँदैन ।
अहिले देशको राजनीतिक अवस्था हेर्दा दिक्क लाग्छ, तर यसको विकल्प विदेशिने होइन, यसलाई सुधार गर्नु नै हो । हाम्रो पुस्ता गणतन्त्रमै जन्मियो र हुर्कियो, त्यसैले मलाई गणतन्त्रको विकल्प उन्नत र परिस्कृत गणतन्त्र नै हो भन्ने लाग्छ । तर अहिलेको संघीयताले देशमा केही हदसम्म भार बढाएको अनुभव हुन्छ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र संघीय सरकारसहित पालिका तह मात्र भए पनि पुग्ने देखिन्छ । पछिल्लो समयमा प्रदेशहरूको भूमिका खासै देखिएको छैन ।
शिक्षाको महत्व बुझेर देशमै केही गर्नुपर्छ भन्ने मेरो दृढ मान्यता हो । त्यसैले हामीजस्ता युवावर्गले देशको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ ।
निर्मल बिक
(विश्वनिकेतन स्कूल काठमाण्डौमा कक्षा १२ मा पढ्ने कुसुम पौडेल र निर्मल बिकसँगको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पाैडेल र बिक विश्वनिकेतन स्कूल काठमाण्डौमा कक्षा १२ मा पढ्नुहुन्छ ।