आत्मनिर्भरको बाटोतर्फ मधेशी महिला, घरबाहिर निस्किएर उद्यमी बन्दै

 वैशाख १०, २०८१ सोमबार १५:५६:४२ | सीता बि.के.
unn.prixa.net

मधेशका महिला घरभित्र सीमित हुन्छन् भन्ने सोचलाई चिर्दै त्यहाँका महिला आत्मनिर्भर बन्न थालेका छन् । जसमध्येकी एक हुनुहुन्छ सिरहाकाे कल्याणपुर नगरपालिका डमरीकी ४० वर्षीया रामपरी महरा । आठ महिना अघिसम्म पनि रामपरी अरू महिला जस्तै घरभित्र सीमित हुनुहुन्थ्यो तर अहिले उहाँको दैनिकी फेरिएको छ । उहाँले अहिले व्यसायिक रूपमा लुगा धुने पाउडर अर्थात् 'सर्फ' बनाउँदै आउनुभएको छ ।

रामपरीलाई आत्मनिर्भर हुनुपर्छ, आफैँ केही काम गर्नुपर्छ भन्ने सोच थियो तर त्यस्तो खालको वातावरण थिएन । रामपरीको चार धुरमा बनेको घरबाहेक अरू जग्गाजमिन छैन । त्यही घर पनि ऐलानीमा बनेको छ । अहिलेसम्म पनि उहाँको परिवारको नाममा जग्गाजमिन छैन । बढ्दाे महँगीको सामना गर्न चार सन्तानकी आमा रामपरीले विकल्पहरू खोजी रहनुभएको थियो । तर न त उहाँसँग कुनै उद्यम गर्ने अनुभव थियो, न त पढाइलेखाइ, न त सीप, न त लगानी नै थियो ।

‘म एउटा दलित ,सुकुम्बासी र गरिब परिवारको व्यक्ति जहाँ थुप्रै अभाव, असमानता र विभेद भोग्नु पर्थ्याे, महिला घरभित्रै घुम्टोमा बस्नु पर्थ्याे, घरपरिवारको रेखदेख गर्दागर्दै समय जान्थ्यो’, रामपरीले आफ्नो विगत सम्झँदै भन्नुभयाे, ‘धेरैजसो महिला परनिर्भर नै हुनु पर्थ्याे ।’

मधेशमा पितृसत्ता अझै बढी हाबी छ । त्यसैले महिलालाई हेर्ने दृष्टिकोण फरक छ । रामपरी पनि अरू महिलाले जस्तै घरधन्दा गरेर दिन बिताउनुहुन्थ्यो । उहाँलाई केही गर्ने मन त थियो तर परिवार र समाजको बन्देज तोड्न त्यति सहज थिएन ।

उहाँ भन्नुहुन्छ, ‘मधेशमा महिला काममा निस्केको त्यति राम्रो मानिँदैन, म पनि घरधन्दाको काममा व्यस्त थिएँ, आठ महिनाअघि आश्मा नेपालको हौसला र सहयोगले लुगा धुने सर्फ बनाउने १६ दिने तालिम लिएँ, अहिले सिकेको सीपलाई उद्यममा परिवर्तन गरेकी छु ।’

अहिले रामपरी बिहान ४ बजे उठेदेखि 'सर्फ' बनाउने काम गर्नुहुन्छ । उहाँको काममा छोराछोरीले पनि सहयोग गर्छन् । एक प्याकेट सर्फ एक सय रुपैयाँमा बिक्री गर्नुहुन्छ । एक प्याकेटबाट २५ रुपैयाँसम्म नाफा हुन्छ । बिस्तारै सर्फको प्रचार हुँदैछ, बिक्री पनि बढ्दो छ, त्यसै अनुरूप माग, आम्दानी र व्यस्तता पनि बढ्दै गएको छ । ‘अहिले मैले मागअनुसार घरमै सर्फ बनाउँछु, घरबाटै बिक्री गर्छु । व्यापारसँगै आम्दानी पनि बढ्दै गएको छ ।

‘अहिले मासिक २५ हजार रुपैयाँसम्म आम्दानी हुन्छ । घरखर्च चलाउन सहज भएको छ’, उहाँले भन्नुभयो, ‘मैले पढेकी छैन, नाममात्रै लेख्न जानेकी छु तर अहिले व्यापार गरिरहेकी छु ।’ घरबाहिर निस्किएर उद्यम गर्ने आँट गर्नुभएकी रामपरी आत्मनिर्भर हुने बाटोमा अगाडि बढ्नुभएको छ । हिजो उहाँको बारेमा कुरा काट्नेहरू आज राम्रो काम गरेको भन्दै तारिफ गर्छन् ।

अहिले परिवार र समाजले पनि सकारात्मक दृष्टिकोणले हेर्न थालेका छन् । त्यस्तै समाजमा पनि महिलाले पनि केही गर्नुपर्छ भनेर धेरैले उहाँको सिको गर्न थालेका छन् । रामपरीका श्रीमान् अहिले वैदेशिक रोजगारीका लागि मलेसिया जानुभएको छ । घरपरिवार, छोराछोरी र व्यवसाय रामपरीले नै सम्हाल्दै आउनुभएको छ । आफैँ आत्मनिर्भर हुँदा धेरै सजिलो हुने उहाँ बताउनुहुन्छ । रामपरीले सिकेको सीप अहिले जीविका चलाउने गतिलो आयस्रोतको माध्यम बनेको छ ।

चुराको मागसँगै व्यस्तता र आम्दानी

रामपरीको जस्तै भोगाइ कर्जन्हा नगरपालिका सिमराकी ३९ वर्षीया चन्द्रीकादेवी सिंहको पनि छ । आठ महिना अघिसम्म उहाँ पनि घरधन्दामै सीमित हुनुहुन्थ्यो । अहिले उहाँको दैनिकी फेरिएको छ । चन्द्रीकादेवी अहिले घरबाहिर निस्किएर आयआर्जनमा जुट्नुभएको छ ।

उहाँले लाहाचुरा उत्पादन गर्न थाल्नुभएको छ । उहाँ भन्नु हुन्छ, ‘शुरुवातमा त घरबाहिर निस्कन पनि गाह्रो भयो, मधेशमा महिलाले त घरबाट निस्कन घर र समाजसँग नै सङ्घर्ष गर्नुपर्छ । पछि चुरा बनाउने तालिम लिएँ, त्यसपछि अब आयआर्जन गर्नुपर्छ भन्ने सोच आयो ।’ चन्द्रीकादेवीको पनि आर्थिक अवस्था निकै दयनीय छ । ऐलानी चारधुर जग्गामा बनेको घरबाहेक अरू केही छैन ।

उहाँका श्रीमान् जीविका चलाउनकै लागि भारतमा मजदुरी गर्न जानुभएकाे छ । तीन सन्तानकी आमा चन्द्रीकादेवीको जसोतसो गुजारा चलेको थियो । घरव्यवहार सहज तरिकाले चलाउन उहाँलाई आफूले पनि गर्न पाए हुन्थ्यो भन्ने लागेको थियो । पछि उहाँले १६ दिनको चुरा बनाउने तालिम लिनुभयो । त्यसपछि सीपलाई व्यावसायिक बनाउनुभयो । घरबाटै शुरु गर्नुभयो लाहाचुरा बनाउने काम । अहिले उहाँको परिचय चुरा उद्यमी भनेर थपिएको छ ।

‘अहिले म आफ्नै व्यवसायमा नै व्यस्त छु, चुराको माग बढिरहेको छ, होलसेलबाट पनि माग आउँछ, समय हुँदा गाउँमा डुलेर पनि बिक्री गर्छु । आम्दानी राम्रै छ । आत्मनिर्भर हुन पाउँदा खुशी छु’, चन्द्रीकादेवी भन्नुहुन्छ, ‘अरू बेलाभन्दा विवाहको सिजनमा अझै बढी व्यापार हुन्छ, त्यति बेला भ्याइनभ्याइ नै हुन्छ ।’ उहाँको कामलाई अहिले घरपरिवारको पनि सहयोग छ ।

त्यस्तै पहिला कुरा काट्ने समाजले अहिले राम्रो भनेर भन्ने गरेको उहाँले बताउनुभयो । चन्द्रीकादेवीले चुरा एक सेटको एक सयदेखि पन्ध्र सय रुपैयाँसम्ममा बेच्ने गरेको बताउनुभयो । उहाँले मासिक २५ हजार रुपैयाँसम्म आम्दानी गर्नुहुन्छ ।

गायत्री बानियाँकाे ‘मिथिला आर्ट’

रामपरी र चन्द्रीकादेवी जस्तै घरबाहिर निस्किएर उद्यमी बन्ने बाटोमा लम्किनुभएकाे छ, महाेत्तरीकाे पिपरा गाउँपालिका–७ की गायत्री बानियाँ । उहाँले स्थानीय स्रोत साधनको प्रयोग गरेर आफ्नै आमा, हजुरआमाबाट सिकेको सीपलाई ‘मिथिला आर्ट’ भनेर शुरु गर्नुभएको छ ।

हुन त मिथिला आर्ट विभिन्न तरिका, विभिन्न सामग्रीको प्रयोग गरेर गर्ने गरिन्छ तर उहाँले अझै फरक तरिका अपनाउनुभएको छ । उहाँले स्थानीय गाईको गोबरबाट विभिन्न सामग्री निमार्ण गर्नुहुन्छ । स्थानीय गाईको गोबरलाई प्रशोधन गरेर, सुकाएर, गोबरमा जडीबुटी मिसाएर, पुटिङ गरेर, रङ लगाएर त्यसबाट विभिन्न आर्कषक सामग्री बनाउनुहुन्छ ।

गायत्री भन्नुहुन्छ, ‘प्रकृति र संस्कृति एकसाथ लिएर गोबरबाट मिथिला आर्ट बनाउँछु जसले प्रकृतिमा कुनै असर गर्दैन ।’ उहाँले चलेका फेसनअनुसारका सामग्री गोबरबाट बनाउने गरेको बताउनुभयो । उहाँ गोबरबाट भगवानका मूर्ति, लोप हुन लागेका सामग्री, भान्सामा सजाउने सामग्री, ढि‌की, जातो, गमला, फूलदानी, किरीङ, गरगहना, अगरबत्ती आदि बनाउने गर्नुहुन्छ ।

गोबरबाट बनेका सामग्री एक सय रुपैयाँदेखि दुई हजार रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ । उहाँले व्यवसाय शुरु गरेको सात महिनामात्रै भएको छ । अहिले मासिक १५/२० हजार रुपैयाँसम्म आम्दानी हुन थालेकोले उहाँ उत्साहित हुनुहुन्छ । उहाँको व्यवसायमा उहाँको दाइले उत्तिकै साथ, सहयोग, हौसल, प्रेरणा दिनुभएको छ ।

गायत्रीले आफू आत्मनिर्भर हुनुका साथै अरू महिलालाई पनि आत्मनिर्भर बनाउने, गाई संरक्षण गर्ने, मिथिला आर्टलाई अझै व्यसायिकीकरण गर्ने र स्थानीय स्रोत साधनको प्रयोग गर्दै प्रकृतिमैत्री काम गर्ने सोच राख्नुभएको छ ।

अन्तिम अपडेट: असोज २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीता बि.के.

सीता बि.के. उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया