टी–२० विश्वकप : अहिलेसम्म १३ वटा देशकाे टाेली घाेषणा, पाकिस्तानसहित ७ देशकाे अझै टुङ्गाे लागेन

 बैशाख २५, २०८१ मंगलबार १५:११:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : आईसीसी

काठमाण्डाै – आईसीसी टी–२० विश्वकप क्रिकेटका लागि अहिलेसम्म १३ वटा देशले टोली घोषणा गरेका छन् । आउँदो जुन १ देखि जुन २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने नवौँ संस्करणको प्रतियोगिताका लागि अहिलेसम्म १३ वटा देशले टोली घोषणा गरेका अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जानकारी दिएको छ ।

टी–२० विश्वकपका लागि सबैभन्दा पहिला न्युजिल्यान्डले टोली घोषणा गरेको थियो । न्युजिल्यान्डले केन विलियमसनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ । यस्तै नेपालले रोहितकुमार पौडेल, भारतले रोहित शर्मा, पूर्वविजेता इङ्ग्ल्यान्डले जोस बटलर, दक्षिण अफ्रिकाले एडन मार्करमको कप्तानीमा टोली घोषणा गरेको छ ।

यसैगरी अफगानिस्तानले राशिद खान, अस्ट्रेलियाले मिचेल मार्श, क्यानडाले साद बिन जफर, ओमानले अकिब इलियास, स्कटल्यान्डले रिची बेरिङटन, युगान्डाले ब्रेन मसाबा, अमेरिकाले मोनान्क पटेल र वेस्ट इन्डिजले रवमान पावेलको कप्तानीमा टोली घोषणा गरेको छ ।

२० वटा देश सहभागी हुने प्रतियोगिताका लागि बङ्ग्लादेश, आयरल्यान्ड, नामिबिया, नेदरल्यान्ड्स, पपुवा न्यु गिनी (पीएनजी), पाकिस्तान, श्रीलङ्काले टोली घोषणा गर्न बाँकी छ ।

टी–२० विश्वकपको समूह ‘ए’ मा आयरल्यान्ड, क्यानडा, अमेरिका, भारत र पाकिस्तान छन् । यस्तै समूह ‘बी’ मा अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड, ओमान र इङ्ग्ल्यान्ड छन् । समूह ‘सी’ मा अफगानिस्तान, युगान्डा, पीएनजी, न्युजिल्यान्ड र वेस्ट इन्डिज छन् । यस्तै समूह ‘डी’ मा नेपाल, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलङ्का र बङ्ग्लादेश छन् । जुन १ मा उद्घाटन खेलमा अमेरिका र क्यानडाबीच प्रतिस्पर्धा हुनेछ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया