सदनमा ठग खुट्याउन साह्रो, सडकमा ठगबाट बच्न गाह्रो !

 वैशाख ३०, २०८१ आइतबार १३:५१:१४ | मिलन तिमिल्सिना
unn.prixa.net

नाम त बाझाबाझ अधिवेशन हुनुपर्थ्याे, तर देश बनाउँछु भन्नेहरूले बजेट अधिवेशन भने । बजेट अधिवेशन नै भए देशको थैली र नागरिकको खल्ती रित्तो भएको कुरा हुन्थ्यो होला, तर कुरा “तँ ठग कि म ठग” को मात्रै हुन्छ । आफूलाई नेता भन्छन्, तर चोरको कुरा गर्छन् । चोर औँलो ठड्याएर एउटाले भन्छ– तँ सहकारी ठग । अर्को पाखुरा सुर्केर भन्छ– सत्तामा हुँदा ठग्नु ठगेकोले तै ठग । दुवैथरि एकले अर्कोलाई चोर भन्छन् । उनीहरूको कुरा सुन्दा सुन्दै आफूलाई चाहिँ असली चोर यिनै पो हुन् कि जस्तो लाग्न थालेको धेरै भो । यति ठूला मान्छे चोर त नहोलान् भनेर मन बुझाउन खोज्यो फेरि दुवैथरि एकले अर्कोलाई ठूलो स्वरमा चोरको बात लाउँछन् । जो चोर उसकै ठूलो स्वर भन्ने उखान सुनेको हो । तर दुवैथरिको स्वर ठूलो छ । अनि कुन सक्कली र कुन नक्कली भनेर असली चोर कसरी छुट्याउनु !?

हातको चार औँला आफूतिर र एक औँलो अर्कोतिर देखाएर तँ नै ठग भनेर वादविवाद गरिरहेकाहरू कुन चाहिँ पानीमाथिको ओभानो छन् भन्ने त जगजागेर नै छ । संसदमा हाजिर गर्ने, भत्ता कमाउने, अनि काम छोडेर बाझाबाझ गर्ने सबै ठग नै हुनुपर्ने हो । तर कुहिएको आलुको थुप्रोमा कुन सद्दे, कुन बिग्रिएको भनेर छुट्याउन गाह्रो भएझैँ सदनमा को ठग हो, को हैन भनेर छुट्याउनै मुश्किल छ ।

संसदमा ठग खुट्याउन साह्रो छ भने यता सडकमा चाहिँ ठगबाट जोगिन गाह्रो छ । रातदिन हाडछाला घोटेपछि बल्लतल्ल एउटा हात्ती भएको नोट हात पर्छ । नोट हात परेपछि खुट्टाले बजार ताक्छ । हिँडेर एक, डेढ घण्टासम्म पुग्न सकिने ठाउँमा गाडी चढ्ने बानी छैन । पानी दर्के पनि, घाम चर्के पनि लखरलखर हिँडिन्छ । हिँड्दाहिँड्दै हजार रुपैयाँको जुत्ता १० दिनमै फाटे पनि गाडी नचढेर २० रुपैयाँ जोगिएकोमा मख्ख परिन्छ । कहिलेकाहीँ खाजा नखाएर उब्रिएको पैसा हुँदा चाहिँ गाडी चढ्ने रहर लाग्छ । गाडी चढ्नुअघि नै भाडा ठिक्क पारेर राख्ने बानी लागेको छ । किनभने गाडीबाट झर्ने बेलामा सुरुवालको इँजारसमेत खोलेर छामछुम पार्दा भाडा नभेटेर भाटा भेटेको तीतो अनुभव छ । त्यसैले गाडी चढ्नुअघि नै हातमा २० को नोट ठिक्क पारेर राख्न थालेको हो ।

अस्तिसम्म त हातमा २० को नोट लिएर उभिएको देखेपछि सहचालकले परैबाट मुसुक्क हाँसेर गाडीको ढोकामा ढ्याप्प हान्थे, ल ल भित्र छिर्नुहोस् भनेर ढोकाबाट धकेल्थे । यसपालि त हातमा २० को नोट मात्रै देखेपछि सहचालकले परैबाट एउटा हातले लोप्पा खुवाउँदै भने, २० रुपैयाँमा गाडी चढ्ने दिन गए बाजे, अर्को ५ रुपैयाँ थप्ने भए मात्र गाडी चढ्ने ! नत्र हिँडेरै जाने ।

भाडाका लागि छुट्याएको २० रुपैयाँमा ५ रुपैयाँ थप्यो भने तिउन तरकारी र भुटनका लागि ठिक्क पारेको हिसाब गोलमाल हुन्छ । ५ रुपैयाँ थपेर गाडी चढ्नुभन्दा त हिँडेकै जाति । यसैगरी ५ रुपैयाँको नोट २० पटक जम्मा पार्न सकियो भने एकदिन होटलमा पसेर राँगाको मःम खान पुग्छ ।

मःमको स्वाद सम्झँदै हिँडेर तरकारी पसल पुगियो । आलु, घिरौँला, लौका, भिण्डी, करेला, बोडी, सिमी के मात्रै खानु । गाउँमा हुँदा आफूले बारीमा लगाउँदा कि घिरौँला मात्रै फल्थ्यो, कि लौका मात्रै । शहरमा फलाउने ठाउँ छैन तर रोजीरोजी सस्तो किनेरै खाइन्छ । अस्तिसम्म सय रुपैयाँ दिएपछि दुई दिनलाई टन्न झोल हाल्न पुग्नेगरी तरकारी पाइन्थ्यो । अहिले हातमा निकालेको सय रुपैयाँ देखेर पनि पसलेले मुन्टो बटारे । हैन साहुजी तरकारी दिनुस् न भनेको त दुवै हातले नाकको डाँडी नै भाँचौँला झैँ गरी लोपरे– सय रुपैयाँमा तरकारी किन्ने जमाना गए बाजे, तरकारी लाने भए अर्को सय निकाल्नु, हैन भने घर गएर पानीमा नुनबेसार हालेर भात मुछ्नु ।

सय रुपैयाँमा तरकारी नपाए पनि चार सय रुपैयाँमा तरकारीमा हाल्ने तेल त पाइएला कि । भान्साको कुनामा दुई डल्ला आलु बाँकी नै छ । त्यही आलुलाई दुई थोपा तेलमा रङ्ग्याएर भात खाइन्छ नि । अलि पहिलेसम्म डेढ सय रुपैयाँमा पाइने तेलको भाउ बढेपछि अलिदिन तेलै नहाली तरकारी झ्वाई पारेको हो । तर सधैँ तेल नराखी तरकारी खान नसकिने रैछ । तेलका लागि चामलको मात्रा घटाइयो । हरेक छाकमा पाँच गास भात कम खाए पनि बाँचिने रैछ । छाकैपिच्छे पाँच गास भात कटाउँदा महिना दिनमा पाँच, सात किलो चामल कम किन्दा हुने भयो । अनि चामलमा कटौती भएको त्यही पैसामा अलिकति थपथाप पारेर तेल किन्न थालेको । दुइटा गेडा मेथी पड्काउन मिल्ने दुई थोपा मात्रै तेल हाल्दा पनि तरकारी पाकिहाल्ने रैछ । अहिलेसम्म यसैगरी चामल र तेलको तालमेल मिल्दै आएको छ । तर यसपालि तेल पसलमा सधै झैँ चार सय रुपैयाँ देखाउँदा पसलेले रातो आँखा बनाउँदै लोप्पा खुवाए– चार सय रुपैयाँमा तेल खोज्ने हो भने फेरि पानी मात्रै उमालेर भात मुछ्नु ।

आफ्नै खेतबारीमा फलेको तोरी पेलेर खाने तेल बेच्नेले त लोप्पा खुवायो । उता खानीको तेल बेच्ने पेट्रोल पम्पमा पुगेको भए के हाल हुन्थ्यो होला ? धन्न घरमा खानीको तेल खाने मोटरसाइकल छैन । भएको भए पम्पवालाले भन्दा पहिले मोटरसाइकलले नै लोप्पा खुवाउँथ्यो होला । एकपटकमा दुई सय रुपैयाँ जतिको पेट्रोल नहाले अचेल त्यस्ले घ्वार्र पनि गर्दैन । अलि वर्ष पहिलेसम्म त दुई सय रुपैयाँको पेट्रोलले दुई दिनसम्म गुडाउन पुग्थ्यो । अहिले दुई सय रुपैयाँको पेट्रोल हाल्ने हो भने स्टार्ट सम्म हुन्छ । स्टार्ट गर्न पुग्ने, तर कुद्न नपुग्ने तेल हाल्दा मोटरसाइकलले आफूलाई बोक्नुको साटो ठोक्नुको मज्जा लिन्थ्यो होला ।

मोटरसाइकलको लोप्पा खानबाट शुरु मै बचियो । सहचालकदेखि तेलवालासम्मले लोप्पा खुवाएर पठाए पछि हात्तीको छाप भएको नोट आफैसित रह्यो । त्यसलाई बचाउन पाउँदा मन गद्गद भैरह्यो । गोजीमा एउटा हात्ती हुँदासम्म के को डर भनेर मख्ख परेर हिँडिरहँदा अघिल्तिर प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री र नेताको पद भिरेका सेता हात्तीका लस्कर देखिए ।

उबेला पेट्रोलमा एक सुको भाउ बढ्दा सडकमा ढुङ्गा हान्ने मान्छे अहिले मन्त्री बनेर रमिता हेर्दैछन् । गरिबले न्याय पाएनन् भनेर अर्काको टाउको ताकी हिँड्ने अर्को मन्त्री उतापट्टि फर्किएर हात्ती नै हात्ती भएको नोटको बिटो गन्दैछन् । जनताको दुःख देख्न सक्दिनँ भनेर भाषण गरेर नथाक्ने अर्को नेता आफ्नै सुखसयलको जिन्दगी सम्झेर गदगद हुँदैछन् । दिनहुँ चाहिने दानापानीका लागि नागरिकको भर पर्ने, तर कहिलेकाहीँ नागरिकलाई अप्ठ्यारो पर्दा एकदानो सहयोग नगर्ने यी सेता हात्तीहरूसँग सोझो हात्ती हातमा बोकेको मान्छेको भेट भयो । भेट हुनेबित्तिकै सेता हात्तीहरूले एकैपटक लोप्पा खुवाएर झपारे– एउटा जाबो हात्ती बोकेर तँ मुला जनतालाई भात खानुपर्ने ? गाडी चढ्नुपर्ने ? बाँचिरहनुपर्ने ? हामीलाई चाहिएको बेला, भोट दिने बेला बाँचे भैहाल्यो नि, सधैँ बाँचिरहनुपर्छ भन्ने के छ ? बाँच्नै मन लागेको भए बेलाबेला भाउ बढाउँदै, अलिअलि घटाइदिएजस्तो गरौँला ! मनोरञ्जनका लागि सदनमा गाईजात्रा पनि देखाई रहौँला ! यसो भन्दै सडकबाट उनीहरू सोझै सदनमा पसे । कुर्सीमा बसे र सभा शुरु भएपछि चोर औँलो ठड्याउँदै एकले अर्कोलाई तँ चोर, तँ डाका, तँ ठग, तँ लुटाहा भन्न थाले । सदनमा चोरैचोर छन् कि एक दुई जना नक्कली चोर पनि छन् भनेर म चाहिँ हात्तीले हम्कदै गम खाँदैछु !

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया