मधेशमा पानीको हाहाकार, सरकार खोज्दै २५ दिन हिँडेर काठमाण्डौ

 जेठ ११, २०८१ शुक्रबार ८:५१:५१ | विकाश चापागाईँ
unn.prixa.net

काठमाण्डौ – सिरहाको लहान नगरपालिका वडा नम्बर २ की संगीतादेवी सदै चुरेक्षेत्र संरक्षणको माग गर्दै साथीहरूसँग २५ दिन हिँडेर काठमाण्डौ आउनुभएको छ ।

काठमाण्डौको माइतीघरमा त्रिपाल ओछ्याएर बस्नुभएकी संगीताले सुन्निएको खुट्टा देखाउँदै भन्नुभयो, ‘यो देशमा सरकार छैन, यदि सरकार हुन्थ्यो भने हाम्रो माग जिल्लामै उठाउँदा कसैले त सुन्थ्यो होला । त्यसैले हामी अहिले सरकार खोज्न हिँडेर काठमाण्डौ आएका छौँ ।’ यसरी काठमाण्डौ हिँडेर आएको यो तेश्रो पटक हो ।

सरकारले दुई पटकसम्म समस्या समाधानमा चासो नदेखाएपछि बाध्य भएर हिँडेरै आउन परेको चुरे दोहनबाट पीडित संगीताले बताउनुभयो । पानीको अभाव हुँदा खेतीबाली सप्रिएको छैन । पहिले घरकै बारीमा तरकारी उब्जनी हुने गरेकामा अहिले महङ्गोमा तरकारी किन्नु परेको उहाँको भनाइ छ । चुरे दोहनले गर्दा जङ्गल पनि सखाप हुन थाल्यो । जङ्गली जनावर पानीको खोजीमा गाउँ पस्न थालेका छन् ।

‘घरको चापाकल, पोखरी, इनार र खोलामा पानी सुक्यो । पानी आए पनि कहिलेकाहीँ मात्र आउँछ । लुगा धुन, नुहाउन, खेतीपाती गर्न, भैँसी र गोरुलाई खुवाउन पानी छैन,’ संगीताले भन्नुभयो, ‘आएको पानी पनि शुद्ध छैन । पानीमा बालुवा नै बालुवा आउँछ । त्यही खाएर हामी धेरै पटक बिरामी भएका छौँ ।’ 

संगीतादेवीको मात्रै होइन चुरे दोहनले धनुषाको जनकपुरधाम उप–महानगरपालिका वडा नम्बर १८ का दीपलाल मुखिया बिनलाई पनि समस्या छ । ‘पानी सुकेको दुई वर्ष भयो । आकाशबाट पानी परेको छैन । खेतीपाती गर्न गाह्रो भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘खानेपानी नभएर बोतलको पानी किनेर खान परिरहेको छ ।’ मजदुरी गरेर जीविकोपार्जन गर्ने दीपलाललाई दैनिक पानी किनेर खानु पर्दा निकै सकस परेको छ । 

मधेश प्रदेशका सिरहा, धनुषा, बारा र रौतहटका २५ जनाको टोली २५ औँ दिनमा हिजो काठमाण्डौको माइतीघरमा आइपुगेको हो । उनीहरु पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदह, ढल्केबर, हेटौँडा, चितवन, मुग्लिङ हुँदै काठमाण्डौ आएका हुन् ।

पैदल यात्रामा सहभागीले प्लास्टिक र टिनको भाँडामा ‘सरकार पानी देउ, पानीका लागि रुख बचाउ, चुरे र वनको संरक्षण गर’ लगायतका नारा लेखेर प्रदर्शन गरेका छन् । एक जोर चप्पल लगाएका उनीहरुको खुट्टा सुन्निएका छन् । माइतीघरमा त्रिपाल ओछ्याएर बसेका उनीहरु सरकारसँग समस्या समाधान गरिदिन माग गरिरहेका छन् ।

सप्तरीबाट हिँडेर आउनेहरुको नेतृत्व गर्नुभएका चुरे तथा वन जङ्गल संरक्षणका अभियन्ता सुनिल यादव चुरे क्षेत्र नजिक भएका वन जङ्गल बचाउन र अवैध उत्खनन् रोक्नका लागि आन्दोलन गरेको बताउनुहुन्छ । चुरेमा भूमिहीनका नाममा भूमाफियाहरुले कब्जा गरिरहेको र त्यसको मार स्थानीयबासिन्दाले खेप्नु परेको यादवको भनाइ छ ।

‘भूमिहीनको नाममा वन मास्ने काम हुँदैछ । वन मासेर नक्कली भूमिहीनले आफ्नो नाममा जग्गा गराएका छन्’ उहाँले भन्नुभयो, ‘हडपेको वन र सार्वजनिक जग्गा फिर्ता हुनुपर्छ । वास्तविक दलित भूमिहीनलाई सरकारले जग्गा दिनुपर्छ ।’ 

यसअघि चुरे तथा वन जङ्गल संरक्षण अभियानले दुई पटक पैदल यात्रा गरेको थियो । अभियानका संयोजक यादवकाअनुसार यसअघि पहिलो पटक अघिल्लो वर्षको असारमा वीरगञ्जदेखि काठमाण्डौ  ११ दिनमा, दोस्रो पटक फागुनमा सप्तरीदेखि वीरगञ्जसम्म ११ दिन पैदल यात्रा भएको थियो ।

चुरे र त्यहाँ रहेका वन जोगाउनुपर्ने आफूहरुको माग रहेको र माग पूरा नभएसम्म काठमाण्डौमै रहने उहाँले बताउनुभयो । अघिल्लो वर्ष पनि यही माग लिएर पैदलयात्रासहित काठमाण्डौ आउँदा सरकारले सहमति गरेको तर कार्यान्वयन नभएको उहाँले गुनासो गर्नुभयो । ‘दुई पटकसम्म सहमति गरेर पूरा नगरेपछि फेरि पनि पैदल हिँड्न बाध्य भयौँ,’ यादवले भन्नुभयो, ‘अहिलेको आन्दोलन वार कि पारको हो ।’

‘मधेशमा आज पानी सुकेर हाहाकार मचिएको छ, ट्याङरबाट पानी किनेर खान परिरहेको छ,’ उहाँले भन्नुभयो, ‘बिहान साँझ मजदुरी गरेर खाने मानिसले कसरी किनेर खान सक्छ ? अहिले हाम्रो माग पूरा भएन भने भोलिको दिनमा ठूलो सङ्कट आउने छ ।’ 

 

 

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विकाश चापागाईँ

विकाश चापागाईँ ​उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया