खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
कैलालीको धनगढी उपमहानगरपालिकाबाट आइतवार दिउँसो ३ बजे छुटेको बस सोमवार बेलुकी ५ बजेमात्रै काठमाण्डौको नयाँ बसपार्कमा आइपुग्यो । बसमा यात्रा गर्नेमध्ये एक हुनुहुन्छ दयाशंकर चैधरी पनि । ६ सय ७० किलोमिटर लामो बाटो निरन्तर यात्रा गरेर काठमाण्डौ आइपुग्दा उहाँ थकित हुनुहुन्छ । त्यसैमाथि ठाउँठाउँमा बिग्रिएको/भत्किएको सडकले यात्रा झन् कष्टकर बनायो । सामान्यता १६ घण्टा लाग्ने बाटो पार गर्न २६ घण्टा लाग्यो । त्यसकै लागि २२ सय रुपैयाँ तिर्नुपर्दा उहाँ पछुतो मान्दै हुनुहुन्छ ।
दयाशंकरले बुटवल जाने बाटोमा सडकको अवस्था नाजुक भएको भन्दै निराशा व्यक्त गर्नु भयो । उहाँले भन्नुभयो, ‘बुटवलसम्म सडक ठीकै छ, तर बर्दघाट कटेपछि खाल्डाखुल्डी र धुलो उड्ने कच्ची बाटो शुरु हुन्छ । ‘राजमार्गको बाटोमा बसको रफतार, त्यसैमाथि खाल्डाखुल्डी र उबडखाबड सडकमा घण्टौँ लामो जाम र यात्राले निकै सकस भयो । हामीले कर तिर्छाैँ, तर त्यो पैसा कहाँ जान्छ ? विकास आयोजनाका लागि कर तिरेर यसरी दुःख भोग्नुपर्ने हो ? यसरी पूर्वाधारलाई बेवास्ता गर्ने सरकारलाई कर तिर्नुको कुनै अर्थ छैन ?’, दयाशंकरले गुनासो गर्नुभयो ।
नारायणगढ–बुटवल सडक खण्डको अहिलेको अवस्था
पाँच वर्ष चार महिनाअघि मर्मत र स्तरोन्नति गर्न थालेको १ सय १४ किलोमिटर सडक आयोजनाको निर्माण समयभन्दा ढिलो छ । आउने भदौमा सकिनुपर्ने सडक निर्माणको काम अहिलेसम्म ५८ प्रतिशतमात्र सकिएको छ । शुरुमा आयोजनाले निर्माणलाई तीव्रता दिन सडकलाई पूर्व र पश्चिम खण्डमा विभाजन गरेको थियो । यद्यपि प्रगति सुस्त हुँदा समयमै काम नसकिने निश्चित छ ।
नारायणगढ–बुटवल सडक योजना : नारायणी पुलदेखि दुम्कीबाससम्म (पूर्वी खण्ड)
नारायणगढ–बुटवल सडक आयोजनाको पूर्वी भागमा नारायणी पुलदेखि दुम्कीबाससम्म ६४ दशमलव ५ किलोमिटर लामो सडक आयोजनाको काम अहिलेसम्म ५१ प्रतिशतमात्रै सकिएको वरिष्ठ डिभिजनल इन्जिनियर आशिष थापा मगरले बताउनुभयो । यस खण्डभित्र प्रगति असमान छ । गैँडाकोटदेखि चोरमारासम्मको ४० दशमलव ५ किलोमिटर सडकको एकतर्फी (आधा भाग) मा कालोपत्र गरिएको छ भने १५ किलोभिटर सडक पूर्ण कालोपत्र भइसकेको छ । तर पूर्वी खण्डमै पर्ने दाउन्नेको चार किलोमिटर खण्ड भने कच्ची नै छ । यो खण्ड साँघुरो, बर्खामा पहिरो जाने र ट्राफिक जामले विशेषगरी यात्रुलाई समस्या हुने गरेको छ । निर्माण कार्यमा ढिलाइ भए पनि इन्जिनियर थापा मगरले मनसुन शुरु हुनअघि नै आयोजनाको ७० प्रतिशत काम असारसम्म सम्पन्न हुने दाबी गर्नुभएको छ ।
नारायणगढ–बुटवल सडक योजना : बुटवलदेखि दाउन्नेसम्म (पश्चिम खण्ड)
नारायणगढ–बुटवल सडकको स्तरोन्नतिले पश्चिम खण्डमा चुनौती सामना गरिरहेको छ । ३७ किलोमिटरको बुटवल–बर्दघाट सडक सहजै छ र सम्पन्न हुने चरणमा छ भने बाँकी सडकले अवरोध खडा गरेको छ । ४९ किलोमिटर बुटवल–दाउन्ने खण्डको ५१ प्रतिशतमात्रै काम सकिएको छ । बुटवलमै १ किलोमिटर खण्डको मर्मत कार्य जारी छ । सबैभन्दा ठूलो बाधा कच्ची ९ किलोमिटर बर्दघाट–दाउन्ने खण्डमा छ जसले वर्षाको समयमा ट्राफिक जाम सिर्जना गर्दछ । मनसुनमा यस क्षेत्रमा ट्राफिक प्रवाह सुधार गर्न आयोजनाले १४ किलोमिटर सडक खण्डमा १ सय १२ वटा कल्भर्ट जडान गर्ने योजना बनाएको छ । सबै कल्भर्टको काम वर्षाअघि नै सम्पन्न हुने आयोजनाका योजना प्रमुख सिनियर डिभिजनल इन्जिनियर शशाङ्क मिश्रले बताउनुभयो । साथै मनसुनमा ट्राफिक व्यवस्थापन गर्न अन्य क्षेत्रमा ग्राभेल बिछ्याइनेछ । पहिरो हटाउने उपकरण चार वटा ठाउँमा तैनाथ गर्ने योजना पनि बनाएको उहाँको भनाइ छ ।
यो सडक खण्ड हिउँदभरि धुलाम्मे हुन्छ र वर्षामा हिमाम्मे हुन्छ । पहिरोले सडक भत्काउने र बिगार्ने गर्छ । बिग्रिएको÷भत्किएको सडक बेलैमा मर्मत नहुँदा गाडी चलाउन झनै मुश्किल हुन्छ ।
यस्तै गाडी चालक र यात्रुलाई सास्ती दिने अर्को बाटो हो पृथ्वी राजमार्गमा पर्ने पोखरा मुग्लिन सडक खण्ड ।
पृथ्वी राजमार्गमा पर्ने पोखरा–मुग्लिन सडक खण्डको अवस्था
झन्डै ८० किलोमिटर लामो सडक निर्माण र स्तरोन्नतिका कारण पोखरा–मुग्लिनबीचको यात्रा चुनौतीपूर्ण छ । आउँदो भदौसम्म निर्माण सकिसक्नुपर्ने यो सडकलाई पूर्व र पश्चिम खण्डमा विभाजन गरी तीन वर्षअघि काम शुरु भएको हो । यद्यपि प्रगति सुस्त छ, अहिलेसम्म मात्र ४३ प्रतिशत काम भएको छ । यसको अर्थ यात्रुले आउँदै गरेको वर्षामा असमान र सम्भावित रूपमा कष्टकर यात्रा गर्नुपर्ने देखिन्छ ।
मुग्लिन–पोखरा सडक आयोजनाको पूर्वी खण्ड तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको अवस्था
आँबुखैरेनीदेखि तनहुँको जामुनेसम्म ४१ किलोमिटर लामो मुग्लिन पोखरा सडक आयोजनाको पूर्व खण्डमा काम भइरहेको छ । आयोजनाले तीन वर्षभित्र मर्मत र स्तरोन्नतिको ६० प्रतिशत काम पूरा गरेको छ । अहिलेसम्म ३० किलोमिटर सडक कालोपत्र भइसकेको छ । योजनाअनुसार चार लेनको सडकमा कतै आधा भाग मात्रै त कतै एक लेन मात्रै कालोपत्र गरिएको छ । त्यसैगरी १४ वटा पुल निर्माण भइसकेका छन् भने थप तीन वटाको काम भइरहेको छ । दमौली बजारको ८ सय मिटर खण्ड अछुतो रहे पनि अहिले घाँसीकुवा क्षेत्रमा काम भइरहेको छ ।
आयोजना प्रमुख श्यामकुमार यादवले वर्षायाममा विशेषगरी दमौली नजिकैको मुसेखोला खण्ड र म्याग्दे गाउँपालिकाको एक खण्डमा पहिरोको जोखिम रहेका क्षेत्रमा अवरोध आउन सक्ने सम्भावनालाई स्वीकार गर्नुहुन्छ । तर पूर्वी खण्डमा न्यून समस्याको सामना गर्नुपर्नेमा उहाँ विश्वस्त हुनुहुन्छ । परियोजनाले धेरैजसो क्षेत्रहरूमा ट्राफिक प्रवाह सुधार गर्न भदौसम्म सबै कालोपत्र, शुरुमा एकतर्फी भए पनि पूरा गर्ने लक्ष्य राखेको छ ।
मुग्लिन–पोखरा सडक आयोजनाको पश्चिम खण्ड जामुने बजारदेखि सेती नदी पुलसम्म
३९ किलोमिटर सडक खण्डको निर्माण निर्धारित समयभन्दा निकै ढिलो भएको छ । तीन वर्ष काम गरे पनि २५ प्रतिशतमात्रै सम्पन्न भएको छ । यो खण्डमा झन्डै १५ किलोमिटर एक लेन (दुई लेन बराबर) सडक कालोपत्र भएको छ । आयोजनाका सूचना अधिकारी इन्जिनियर नारायण पौडेलले आउँदो भदौसम्ममा काम सम्पन्न हुने सम्भावना नरहेको बताउनुभयो इन्जिनियर पौडेलले निर्माणस्थलमा देखिएका चुनौती र विद्युतीय पोलले गर्दा हुने अवरोध सुस्त हुनुको कारण रहेको बताउनुहुन्छ । वर्षायाममा गाडी आवागमनमा सुधार गर्न सडकको एकतर्फ दुई लेन कालोपत्र गर्ने कामलाई प्राथमिकतामा राख्नुपर्नेमा उहाँले जोड दिनुभयो । साथै आयोजनाको पश्चिमी भागको काम सम्पन्न गर्न थप डेढ वर्ष लाग्ने उहाँको अनुमान छ ।
कञ्चनपुर–कमला सडक योजनाको पूर्व खण्ड
कञ्चनपुर–कमला सडक आयोजनाको ८७ किलोमिटर सडक खण्ड मर्मतको काम आधामात्रै सकिएको छ । कञ्चनपुर–कमला सडक खण्डको ५० किलोमिटर पूर्वी खण्डमा ६ लेनको सडक निर्माणमा ढिलाइ भइरहेको छ । सप्तरीको कुशाहादेखि कञ्चनपुरसम्मको सडक स्तरोन्नति गर्ने आयोजना तीन वर्षअघि शुरु भए पनि ४७ प्रतिशतमात्रै काम सम्पन्न भएको छ । वरिष्ठ डिभिजनल इन्जिनियर खड्गलाल श्रेष्ठले निर्माण सामग्री (गिट्टी, बालुका) को अभावमा ढिलो प्रगति भएको भन्दै मनसुनको समयमा कञ्चनपुर क्षेत्रमा बाढी आउने र सडक डुबान हुन सक्ने चिन्ता बढेको बताउनुहुन्छ ।
कञ्चनपुर–कमला सडक योजनाको पश्चिम खण्ड
कञ्चनपुर–कमला सडक योजनाअन्तर्गत पश्चिम खण्डमा अहिले कालोपत्र गर्ने काम भइरहेको छ । ४७ किलोमिटरको यो खण्ड सप्तरीको कुशाहादेखि सिरहाको कमलासम्म पर्छ । समग्रमा आयोजनाको ५० प्रतिशत काम सकिएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर विनोदकुमार मौवारले उक्त जानकारी दिनु भयो । सप्तरीमा कुशाहादेखि बलाहासम्मको साढे दुई किलोमिटर सडक कालोपत्र भइसकेको छ । त्यस्तै सिरहामा २१ किलोमिटर एक लेन सडक कालोपत्र भएको छ । यस खण्डमा वर्षायाममा भने नदी आसपासका क्षेत्रमा सडक डुबान हुन सक्ने सम्भावना छ ।
नागढुङ्गा–मुग्लिन सडक खण्ड
काठमाण्डौ जोड्ने मुख्यमार्ग नागढुङ्गा–मुग्लिन सडक खण्डमा अहिले धमाधम बाटो भत्काउने र बनाउने काम भइरहेको छ । नागढुङ्गामा गाडीको चापका कारण यसै पनि जाम हुने गरेको छ ।
सडक विभागका अनुसार अहिले नागढुङ्गा–नौबिसे खण्डको १२ किलोमिटर, नैबिसे–मलेखु खण्डको ४३ किलोमिटर र मलेखु–मुग्लिन खण्डको ३८ किलोमिटरको विभिन्न ठाउँमा मर्मतको काम भइरहेको छ । कतै सडक फराकिलो बनाउने काम भइरहेको छ भने सडक स्तरोन्नति र रुख काट्ने काम भइरहेको छ । नागढुङ्गा–नौबिसे खण्डको ५० प्रतिशत काम सकिएको छ भने नैबिसे–मलेखु र मलेखु–मुग्लिन खण्डको मर्मतको काम निकै सुस्त छ ।
नागढुङ्गाभन्दा झन्ढै साढे ३ किलोमिटर अगाडि सुरुङमार्ग बनाउने काम पनि भइरहेको छ । सुरुङमार्गकै कामले सडकमा खाल्डाखुल्डी परेका छन् । यस कारण मुग्लिन–नागढुङ्गा अन्तर्गत पर्ने प्रायः सबै सडक खण्डको यात्रा कष्टकर छ ।
सडक फराकिलो बनाउनका लागि ठाउँठाउँमा छेउ र कुना खनिएको छ । कतै नयाँ पुल बन्दैछन्, कतै पर्खाल । कतैकतै छेउकुनामा नयाँ बाटो थपेर कालोपत्र गर्ने काम पनि शुरु भएको छ । तर यी सबै काम अव्यवस्थित रूपमा हुँदा जाम बढेको छ । धुलो र जामका कारण गाडी चालक र यात्रु कष्टकर यात्रा गर्न बाध्य छन् ।
यस्तै काठमाण्डौ छिर्ने अर्को नाका हो बीपी राजमार्ग । बीपी राजमार्गमा पनि ठाउँठाउँमा नयाँ पुल बनाउने काम हुँदै छ । तुलनात्मक रूपमा बीपी राजमार्ग तुलनात्मक रूपमा अरू सडकभन्दा केही राम्रो भए पनि केही ठाउँमा बाटोको अवस्था उस्तै छ ।
काठमाण्डौ जोड्ने नुवाकोट–बालाजु सडक खण्डको अवस्था पनि उत्साहजनक छैन । यस खण्डको १० किलोमिटर तीनपिप्ले–रानीपौवा खण्डको कामले १३ वर्षपछि बल्ल गति लिएको छ । तर नुवाकोटको पिपल्टार खण्ड रानीपौवादेखि नै उस्तै छ ।
यस्तै दाङ–नेपालगञ्ज सडक पनि ठाउँठाउँमा बिग्रिएको छ । पोखरा–सुनौली जोड्ने सिद्धार्थ राजमार्गमा पर्ने सिद्घबाबा सडक खण्डमा पनि मर्मतको काम भइरहेको छ । मेची राजमार्गको इलाम खण्डमा कालोपत्र उप्किएर सडक जीर्ण बनेको छ ।
देशभरका सडकको दुरावस्थाका कारण गाडी चालक र यात्रु कष्टकर यात्रा गर्न बाध्य छन् । हिउँदमा धुलो र वर्षामा हिलोले गर्दा गाडी चालक र यात्रु आजित छन् । राजमार्गको जीर्ण अवस्था, साँघुरो लेन, खाल्डाखुल्डी र धुलोले गाडीमा क्षति मात्रै नभई यात्रुको सुरक्षामा पनि जोखिम बढाएको छ । अबको केही दिनपछि वर्षा शुरु हुन्छ र पानी पर्न थालेपछि जीर्ण सडकको अवस्था थप दयनीय बन्छ । वर्षायाममा सडक मर्मतको काम पनि हुँदैन । तर सरकारले सडक निर्माणलाई बेवास्ता गर्दै आएको छ ।
सडकको दुरावस्थाकै कारण किसानले आफ्नो उत्पादन बजारसम्म ल्याउन सङ्घर्ष गर्नुपर्छ । सडकमा कतै मर्मत गर्न भन्दै भत्काएर असरल्ल छोडिएका ढुङ्गा माटो र बालुवा गिट्टी छन् ।
नेपालमा ८० वटा राजमार्ग राष्ट्रिय रूपमा सूचीकृत भए पनि वर्षभरि मात्रै ११ हजार किलोमिटर सडक मात्र प्रयोगयोग्य छन् । बाँकी सडकमा हिउँदमा गाडी चल्ने भए पनि वर्षामा ठप्प्जस्तै हुन्छन् । सरकारले सडक पूर्वाधारमा बर्सेनि बजेट छुट्याउँदै आएको छ तर सडक विभागले पर्याप्त बजेट र जनशक्ति नहुँदा ढिलाइ हुँदै आएको बताउने गरेको छ ।
सरकारले विकास र समृद्धिको कुरा गर्छ तर देशको आधारभूत पूर्वाधार नै ध्वस्त छ । राजमार्गको यो अवस्थाले समग्र देशकै पूर्वाधारको मर्मत सम्भारको अवस्थालाई झल्काउँछ ।
सडक सुरक्षा, गुणस्तर र सहजतालाई प्राथमिकतामा राखेर काम अघि बढाइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागका सूचना अधिकारी अमित शर्माले दाबी गर्नुभयो । उहाँले अबको दुईदेखि चार वर्षभित्र अहिले भइरहेका सडक मर्मत तथा स्तरोन्नतिका काम सक्ने योजना रहेको बताउनुभयो । यो वर्षायाममा कसैले पनि कष्टकर यात्रा गर्न नपर्ने र त्यसका लागि विभाग लागिपरेको उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
महेश ज्ञवाली उज्यालाेमा कार्यरत हुनुहुन्छ ।