यस्तो बन्दैछ नारायणी नदीमाथिको पुल

 जेठ १६, २०८१ बुधबार १३:१९:१८ | विकाश चापागाईँ
unn.prixa.net

नयाँ बन्ने पुल (प्रतीकात्मक तस्बिर)

काठमाण्डौ – पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवन र नवलपरासी बर्दघाट सुस्ता पूर्व जोड्ने नारायणी नदीमाथि नयाँ पुल बन्दैछ । अहिलेको पुल पुरानो र साँघुरो भएकाले यसैसँग जोडेर उत्तरतर्फ नयाँ पुल बनाउन लागिएको हो ।

नयाँ पुल अहिले कर्णाली नदीमाथि भएको पुलजस्तै देखिनेछ । नारायणी नदीमा तीन हजार टन क्षमताका ठूला डुङ्गा अर्थात् पानीजहाज आवतजावत गर्न मिल्ने गरी नयाँ पुल बनाउन लागिएको हो । पहिलो एक वर्ष डिजाइन समय हो भने बाँकी तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी काम अघि बढेको सडक विभागको पुल महाशाखाले जनाएको छ ।

नयाँ बन्ने पुल

महाशाखाका डिभिजनल इन्जिनियर एवम् पुलको योजना प्रमुख कृष्ण अधिकारीकाअनुसार आधुनिक प्रविधि प्रयाेग गरी 'केबल स्टेट ब्रिज' अर्थात् दुईतिर टावर निर्माण गरी लठ्ठा बाँधेर पुल बनाउने तयारी भइरहेको छ । ‘दुईतिर ५० मिटरको टावर हुन्छ, टावरमा केबल राखेर बनाइन्छ । हेर्दा कर्णाली नदीमाथि बनाइएको पुलजस्तै देखिनेछ,’ उहाँले भन्नुभयो ।

नयाँ बन्ने पुल

यो पुल चार सय २० मिटर लामो हुनेछ । पुल १२ मिटर फराकिलो हुनेछ । बीचमा साढे सात मिटर फराकिलो सडक रहनेछ भने उत्तरतर्फ बाँकी भागमा फराकिलो फुटपाथ हुनेछ, जहाँ साइकलसमेत चलाउन सकिने छ । जम्मा चार वटा पिलर रहने पुलको मुनि नदीमा वर्षको तीन सय दिन तीन हजार टन क्षमतासम्मका कार्गाे जहाज सजिलै चल्न सक्ने योजना प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

अहिलेकाे पुल

‘ठूलो नदी भएकाले पानीको गहिराइ हेरेर तीन हजार टनसम्मको पानीजहाज ओहोरदोहोर गर्न सक्ने बनाइने छ,’ उहाँले भन्नुभयो,’ पुलकाे उचाइ दक्षिण एशियाको स्तरअनुसार बनाउँदैछौँ ।’

अहिले भएको नारायणी नदीमाथिको पुल २०३८ सालमा बनेको हो । यो पुलमा १४ वटा पिलर छन् । नयाँ बन्ने पुलको डिजाइनको धेरै अवधारणा आइसकेको छ । डिजाइनको काम झन्डै सकिएको छ । ‘लगभग सबै अवधारणा आइसकेको छ, अब 'सेस्मिक एनलाइस' अथार्त् भूकम्पीय जोखिमको अवस्था हेर्नलाई एउटा परीक्षण बाँकी छ’, पुलको योजना प्रमुख कृष्ण अधिकारीले भन्नुभयो, ‘कहिलेकाहीँ नेपाली कामदारमा क्षमता नहुँदा बाहिरबाट ल्याउनुपर्छ । त्यसरी बाहिरबाट कामदार र निर्माणमा प्रयोग हुने प्राविधिक सामग्री ल्याउन पर्‍यो भने मात्र समय लाग्ला नभए काम समयमै सकिन्छ ।’

नयाँ पुलको प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले गएको वैशाख ३१ गते शिलान्यास गर्नुभएको थियो । 

अहिलेकाे पुल

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विकाश चापागाईँ

विकाश चापागाईँ ​उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया