मोदीको तेस्रो कार्यकालमा नेपालबारेको नीति हैन, कुटनीति परिवर्तन हुन सक्छ

 जेठ २८, २०८१ सोमबार १०:५६:५४ | गोपाल खनाल
unn.prixa.net

तस्बिर : एजेन्सी

हाम्रो मनोविज्ञान कसरी विकास भयो भने भारतमा आन्तरिक राजनीतिमा परिवर्तन हुनेबित्तिकै उसको नेपाल नीति र दृष्टिकोणमा परिवर्तन भइहाल्छ । चीन अथवा अमेरिकाको सवालमा पनि हामी त्यस्तै सोच्छौँ । भौगोलिक दृष्टिकोणले हेर्दा हामी भूगोल जोडिएका छिमेकी भएकाले स्वभाविक रुपमा केही न केही असर पर्छ ।

नीतिमा परिवर्तन नभए पनि कुनै पनि कार्य गर्दा केही न केही परिवर्तन आउँछ भन्ने हामी ठान्छौँ । त्यसरी हेर्दा ठिकै पनि लाग्छ । मेरो विचारमा नीतिगत दृष्टिले हेर्दा केही पनि परिवर्तन हुँदैन । जवाहरलाल नेहरु सन् १९४७ देखि १९६४ सम्म लगातार १७ वर्ष प्रधानमन्त्री बन्नु भयो ।

जवाहरलाल नेहरुदेखि नरेन्द्र मोदीसम्म आउँदा उहाँहरुको पार्टी फरक होला तर नेपाललाई हेर्ने दृष्टिकोणमा तात्विक परिवर्तन भएको पाईंदैन । उहाँहरुले नेपाललाई आफ्नो प्रभाव क्षेत्रभित्र पर्ने देश, हिमालयको देश र हाम्रो छिमेक भनेर भनिरहनु हुन्छ । तर नीतिगत रुपमा केही भएकै छैन । तर अब नीति परिवर्तन नभए पनि काम गर्दा केही परिवर्तन हुन सक्छ ।

नरेन्द्र मोदीले सन् २०१४ देखि अहिलेसम्म आउँदा छिमेकी प्राथमिकता भनेर नीति ल्याउनु भयो । सबै छिमेकीहरुलाई शपथग्रहणमा बोलाउनु भयो । मोदीले नीतिगतमा रुपमा ठूलो परिवर्तन नल्याए पनि छिमेकी प्राथमिकता भन्ने नीतिलाई कार्यन्वयनमा लैजाँदा व्यवहारिक रुपमा केही परिवर्तन हुन सक्ने सम्भावना देखिन्छ ।

मोदीले छिमेकीसँग जुन खालको सम्बन्ध बनाउनु सक्नुपर्थ्यो त्यसो गर्न सक्नु भएको छैन । पछिल्लो पटक माल्दिभ्सकै उदाहरण हेर्दा पनि ‘इंण्डिया आउट’ भन्ने अभियान नै शुरु भयो ।  माल्दिभ्सका एक जान राष्ट्रपतिको पहिलो भ्रमण नै चीन भएको थियो । श्रीलङ्कामा राजपाक्षे भारतको प्रभावबाट बाहिर निस्कन खोज्दैछन् भन्ने भएपछि अर्को पक्षलाई सहयोग गरेर त्यो सरकार ढाल्न प्रयास गर्नुभयो ।

बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले नीति र कार्यान्वयन दुवैमा चीन र भारतसँग सन्तुलन सम्बन्ध कायम गरेको देखिन्छ । त्यस्तै भुटानको भारतप्रति कहीँ न कहीँ बढी झुकाव छ । नेपालमा पनि एउटा खालको गलत बुझाई कायम छ ।

मोदीले जसरी छिमकीलाई साथमा लिएर जान्छु भन्ने ठान्नु भएको थियो तर कहीँ न कहीँ त्यसो हुन सकेन । त्यो उहाँको आफ्नै कारणले गर्दा हो । उहाँ आफैले शक्तिशाली प्रधानमन्त्री छु भन्ने ठान्नुभयो । तर उहाँको मत खण्डीकृत भइसकेपछि उहाँले अहिले भइरहेको विदेश नीतिको व्यवहारिकतालाई अलि बढी ख्याल गर्नुहुन्छ जस्तो लाग्छ ।

नेपालको आन्तरिक घरेलु मामिला अझै मुख्य रुपमा जे जति मुद्दा छन्, त्यसमा ख्याल गर्नु होला भनेर अपेक्षा गर्न सकिन्छ । तर के हुन्छ भनेर समयले देखाउला । म्यान्डेटले के भन्छ भने हिजो तिमीले जे गरिरहेका छौ त्यो ठिक छैन भन्ने देखाउँछ । उहाँले यसअघि ल्याएका विभिन्न योजनामाथि प्रश्न उठेको छ । त्यसको कारणले छिमेकीहरुबीच असमझदारी बढीरहेको छ। त्यो असमझदारीलाई व्यवहारिकरुपमा समाधान गर्ने प्रयासमा मोदी आउनु हुन्छ भन्ने अनुमान गर्न सकिन्छ ।

मोदीलाई नेपालसँगको सम्बन्ध कस्तो बनाउने भनेर सबैभन्दा बढी सुझाव र प्रतिकृया एस. जयशंकरबाट आउँछ । जो परराष्ट्र सचिव भएर परराष्ट्रमन्त्री हुनुभयो । उहाँले बुझ्ने नेपाल, उहाँले बुझ्ने छिमेक, उहाँले बुझ्ने चीन र अमेरिका जस्तै मोदीको बुझाइ पनि सामान्यतया उस्तै हुन्छ । नीति नराम्रो छैन तर कार्यन्वयनमा खराब छ ।

नेपालको भारतसँगको सम्बन्ध सबैतिर उठेको प्रश्न सीमा विवाद हो । सीमाकोबारेमा सन् २००६ मा नै हामीले सुस्ता र कालापानीबाहेक ५८ प्रतिशत रेखाङ्कन गरेर सहमति नै भएको छ । बाँकी सुस्ता र कालापानी हो  । अब त कालापानीबाट लिम्पियाधुरासम्म पुगिसक्यौँ ।

सन् १९६२ देखि त्यो हाम्रो क्षेत्र हो । जहाँ भारतीय सेना बसेको छ  भनेर बिरोध गरेका छाैँ। अब हामीले त हाम्रो नक्सामा राखीसक्यौँ । यो नै अहिलेको मुख्य चुनौती हो । अहिले भारतीयहरु चाहिँ त्यो नक्सालाई नेपालको नक्साबाट हटाईंदैन भने यो विषयमा कुनै पनि हालतमा सहमति गर्दैनौँ भन्ने तहमा छन् । उनीहरु यो विषय उठ्यो भने अरु विषयलाई पनि गिजोलेर नेपाललाई असहयोग गर्ने तहमा छन् । 

लिम्पियाधुरा हाम्रो नक्सामा राखीसक्यौँ, उनीहरुले पनि दाबी गरेका छन् । त्यसैले त्यसलाई थाती राखेर भए पनि अरु काम त गर्नुपर्ने छ । जमिन हामीले दाबी गर्छौं, नक्सामा छ । हामीसँग प्रमाण छ । वार्तामा बसौँ भनेर हामीले आह्वान गरिरहेका छौँ । मेरो विचारमा प्रधानमन्त्री मोदीले नेपालका सीमा मुद्दाको सन्दर्भमा सम्भवतः कुटनीतिकखालको पहलहरु गरेर सुरुवात हुन्छ कि जस्तो लाग्छ ।

अर्को कुरा ईपीजीको रिर्पोेट हो ।  ईपीजीको रिर्पोेट भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सहमतिमा बन्यो । रिर्पोट बुझाइ सकियो तर उहाँहरुले बुझ्नु भएको छैन । अब नरेन्द्र मोदीले तेस्रो कार्यकालको नेतृत्व गरिरहँदा ईपीजीको रिर्पोेट बुझ्नु पर्‍यो । 

अर्को कुरा नेपाललाई हिन्दु राष्ट्र बनाउन नरेन्द्र मोदी लागेका छन् भनिन्छ । तर मलाई त्यो कुरा त्यति तार्किक लाग्दैन । भारत आफैँ उनीहरु हिन्दु राष्ट्र होइन भन्छन् । त्यसैले छिमेकीलाई हिन्दु राष्ट्र बनाउन सहयोग गर्छ भन्ने कुराले खासै अर्थ राख्दैन । कनै बेला रत्न सिंहले भावुक भएर हिन्दु राष्ट्र खोसिनु गलत हो सच्चाउनु पर्छ भनेका हुन् तर आजसम्म पनि भाजपाको कुनै पनि नेताले त्यस्तो बोलेको देखिएको छैन ।

समय धेरै अगाडि गैसक्यो । अब नेपाललाई उहाँहरुले हिन्दु राष्ट्र बनाउन प्रयास गर्नु हुन्छ जस्तो लाग्दैन । यदि गर्नु भएछ भने पनि असफल हुनुहुन्छ । तर उहाँले एउटा काम गर्नु हुन्छ । नेपालको हिन्दुत्वकालाई प्रवर्द्धन लागि अथवा समाज पूर्वीय सनातनी सभ्यता निर्माण लागि  विभिन्न ढङ्गले  सहयोग गर्न सक्नु हुन्छ । जसले गर्दा हिन्दुत्व समाज निर्माण हुन सक्छ तर नेपालमा खासै असर पर्दैन ।

नेपाल मात्र एउटा यस्तो देश होला जहाँ यति धेरै सम्प्रदाय मिलेर एकअर्कालाई सम्मान गरेर बसेका छौँ , जसलाई बिथोल्ने बाह्य प्रयास असफल हुन्छन् । हिन्दुत्वको कुरामा भावुक हुनुपर्ने कुरा छैन । तर त्यसलाई आधार बनाएर अर्को माथि आक्रमण गर्ने कुरा गलत हो । त्यसको विरुद्ध जाँदा अहिले नयाँ सरकार, प्रधानमन्त्री मोदी अथवा भाजपाले नेपालको आन्तरिक मामिलामा बढी नै दखल दिन्छ र हिन्दु राष्ट्र बनाउन सहयोग गर्छ भन्ने मलाई लाग्दैन । 

भारतले नेपालको अन्तर्राष्ट्रिय नीति सवालमा नेपाललाई जोडेर हेर्नुपर्छ । भारतले नेपाललाई छिमेकी मान्दै गर्दा नेपाललाई हेरेर नीति बनाउनु पर्छ । चीनलाई हेरेर हुँदैन भन्ने हाम्रो मान्यता हो । नरेन्द्र मोदी तेस्रो पटक प्रधानमन्त्री भइरहँदा यसमा पनि केही परिवर्तन ल्याउनु हुन्छ भन्ने लाग्छ ।

अब उहाँले यसरी चल्दैन, नेपालमा सचेत समुदाय बढ्यो, चीन पनि आर्थिकरुपले भारतभन्दा शक्तिशाली भएकोले अब चीनसँग पनि जुध्न सक्दैनौ, त्यसैले चीन विरुद्ध नेपाललाई प्रयोग गर्ने कुरा गलत हुन्छ भन्ने कुरा महसुस गरेर समिक्षा गर्नु हुन्छ जस्तो लाग्छ । कतिपय आर्थिक सहयोगसँग जोडिएका विषय पनि छन् । अब नीति त परिवर्तन हुँदैन तर कुटनीति, कार्यनीतिमा परिर्वतन हुन सक्छ । 

(नेपाल–भारत सम्बन्धका जानकार पत्रकार गोपाल खनालसँगको कुराकानीमा आधारित)

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोपाल खनाल

नेपाल–भारत सम्बन्धका जानकार पत्रकार हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया