राष्ट्रपति र प्रधानमन्त्रीको भ्रमणबारे संसद्लाई जानकारी गराउन कांग्रेसको माग

 जेठ ३२, २०८१ शुक्रबार १५:६:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सभामुख देवराज घिमिरेले सांसदहरूले प्रतिनिधि सभामा उठाएका विषयप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले शून्य, आकस्मिक र विशेष समयमा सांसदहरूले उठाएका विषयप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको हो । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले प्रधानमन्त्रीको भारत र राष्ट्रपतिको विदेश भ्रमणबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङसहित प्राकृतिक विपत्ति र यसबाट भइरहेको क्षति तथा सरकारले क्षति घटाउन गरिरहेका कामलगायत विभिन्न विषयमा चासो राखेका हुन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण र राष्ट्रपति रामचन्द्र पौडेलको विदेश भ्रमणको विषयमा सदनलाई जानकारी नदिएको भन्दै असन्तुष्टि जनाएको छ ।

प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक रमेश लेखकले राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो । उहाँले प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी नगराएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले सदनको नेता प्रधानमन्त्री भए पनि उहाँ सदनबाट भाग्न खाजेको आरोपसमेत लगाउनुभयो । भारत भ्रमणबाट फर्केको एक हप्ता हुँदा पनि सदनले प्रधानमन्त्री भारत भ्रमणमा गएको र फर्किएको विषयमा अखबार पढेर थाहा पाउनुपर्ने दुर्भाग्यपूर्ण अवस्था भएको नेता लेखकको भनाइ छ । उहाँले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सदनमा कांग्रेस नेताहरूमाथि लगाएका आरोपबारे पनि प्रधानमन्त्रीबाट जवाफ माग गर्नुभयो । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले मनसुनजन्य जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी तत्कालै गर्न माग गर्नुभएको छ ।

प्रतिनिधि सभा बैठकको विशेष समयमा सदस्य योगेश भट्टराईले पहाडी र हिमाली जिल्ला प्राकृतिक विपत्तिको उच्च जोखिममा भएको भन्दै सुरक्षाका लागि एकीकृत बस्ती विकासको कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । उहाँले विपद् प्राधिकरणलाई स्रोत, साधन र जनशक्तिको अभाव हुन नहुनेमा जोड दिनुभयो ।

त्यस्तै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले काठमाण्डौमा मेलम्चीको पानीले नपुग्ने, लार्के तथा याङ्ग्रीको पानी तत्काल ल्याउन सक्ने अवस्था नहुँदा काठमाण्डौवासीले खानेपानीको चरम अभाव भोग्नुपरेकोतर्फ सरकारको ध्यान पुग्न नसकेको टिप्पणी गर्नुभयो ।

अन्तिम अपडेट: भदौ १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया