टोल विकास संस्थामा युवाको प्रतिनिधित्व सुनिश्चित गर्नेगरी बुटवल उपमहानगरमा निर्देशिका संशोधन

 असार १५, २०८१ शनिबार १२:३६:५६ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – बुटवल उपमहानगरपालिकाले टोल विकास संस्थाको गठन प्रक्रियामा युवाको प्रतिनिधित्वलाई सुनिश्चित गर्नेगरी निर्देशिका संशोधन गरेको छ । टोल विकास संस्था गठन तथा परिचालन निर्देशिका–२०७४ लाई पाँचौ संशोधन गर्दै उपमहानगरपालिकाले १६ देखि ४० वर्ष उमेर समूहका युवाको ३० प्रतिशत प्रतिनिधित्व कार्यसमितिमा सुनिश्चित गरेको हो । यो सुनिश्चिततालाई सम्भवत नेपालमै पहिलो भएको उपमहानगरले दाबी गरेकाे छ ।

राष्ट्रिय युवा नीति– २०७२ ले १६ देखि ४० बर्ष उमेरको समूहलाई युवाको रूपमा परिभाषित गरेको छ । कार्यपालिकाबाट भएको संशोधनलाई उपमहागरपालिकाले स्थानीय राजपत्रमासमेत प्रकाशित गरिसकेको छ । स्थानीय राजपत्रमा टोल विकास संस्थाको कार्यसमितिको पदाधिकारीलाई समावेशी बनाउन ३३ प्रतिशत महिला र ३० प्रतिशत १६ देखि ४० वर्ष भित्रका युवाको सहभागिता अनिवार्य हुनुपर्ने उल्लेख छ ।

युवामैत्री स्थानीय शासनका लागि नीति निर्माणतहमा युवाको प्रतिनिधित्व आवश्यक रहेको भन्दै एकाउन्टेबिलिटी ल्याव नेपाल, स्थानीय सरोकारवाला संघसंस्था तथा विभिन्न पार्टीका भातृ, भगिनी संघसंगठनले आवाज उठाउदै आएका थिए । नगरको बिकासमा युवासँग भएको उर्जालाई प्रोत्साहन गर्न भन्दै टोल विकास संस्था गठन तथा परिचालन निर्देशिका नै संशोधन गरी ३० प्रतिशत प्रतिनिधित्वलाई सुरक्षित गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बताउनुभयो ।

युवालाई टोलदेखि नै विकासमा चासो देखाउने र बढाउने तथा विकासमा सहभागी गराउने उदेश्यले निर्देशिका संशोधन गरिएको प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बताउनुभयो । बुटवल उपमहानगर–३ का वडाध्यक्ष विष्णुप्रसाद ढकालले टोल समाजमा भएका विकास निर्माणका कार्य तथा सामाजिक काममा युवाको सहभागिता बढ्ने र सामाजिक काम गर्न लागि युवालाई प्रेरणा मिल्ने बताउनुभयो ।

कसरी हुन्छ टोल विकास संस्थाको गठन ? 

राष्ट्रिय जनगणना २०७८ का अनुसार बुटवल उपमहानगरपालिकाको जनसङ्ख्या एक लाख ९४ हजार ३३५ रहेको छ । जसमध्ये ९४ हजार ८४९ जना पुरुष र ९९ हजार ४८६ जना महिला छन् । यहाँ ५० हजार ५६५ घरधुरी रहेका छन् । १५ देखि ३९ बर्ष उमेर बीचको जनसङ्ख्या ७३ हजार ६२९ रहेको छ ।

बुटवल उपमहानगरपालिकाका सामाजिक परिचालन, अन्तर सरकार तथा संघसंस्था समन्वय शाखाका प्रमुख दामोदर ज्ञवालीका अनुसार बुटवलमा झन्डै तीन सय टोल विकास संस्था क्रियासिल रहेका छन् । पुनः सुचिकृत भएका टोल बिकास संस्थाको सङ्ख्या दुई सयको हाराहारीमा छ । राजपत्रमा कानुन संशोधन प्रकाशित भएपछि अब अधिवेशन हुने नयाँ टोल विकास संस्थाको कार्यसमितिमा युवाको ३० प्रतिशत प्रतिनिधित्व सुनिश्चित हुने प्रमुख ज्ञवालीले जानकारी दिनुभयो । टोल विकास संस्थामा अध्यक्ष, उपाध्यक्ष सचिव, कोषाध्यक्ष, सहसचिवगरी बढीमा ११ जनाको कार्यसमिति हुन्छ भने कार्यकाल दुई वर्षको हुनेछ ।

के–के काम गर्छन् टोल विकास संस्थाले ? 

टोल विकास संस्था गठन तथा परिचालन निर्देशिका २०७४ ले टोल विकास संस्थाले गर्न पाउने विभिन्न २२ वटा कार्य तोकिदिएको छ । टोल विकास संस्थाले सदस्यबाट नियमित रुपमा बचत संकलन तथा परिचालन गर्नेदेखि वार्षिक रूपमा टोल विकास संस्थाको घरधुरी सर्वेक्षण अद्यावधिक अभिलेख गर्ने, टोलमा आइपर्ने समस्या चुनौतीकाे समाधान गर्न एक अर्काको लिनेसम्मको काम गर्न पाउने निर्देशिकामा उल्लेख छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार बजेट तथा कार्यक्रम तर्जुमाका सात चरण मध्ये बस्ती टोल स्तरबाट आयोजना कार्यक्रम छनौटमा टोल विकास संस्थाको अहम भूमिका रहने भएकाले प्रतिनिधित्वको सुनिश्चितताले सकारात्मक परिणाम दिनसक्ने नेपाल सरकारका पूर्व सचिव डाक्टर दामोदर रेग्मी बताउनुहुन्छ ।

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया