‘सुनकाटी जन्तरै’ यूट्यूबमा सार्वजनिक

 जेठ २८, २०७५ सोमबार १४:४१:१९ | उज्यालो सहकर्मी

काठमाडाैं - लोक गायक फणीन्द्र सुवेदीको लोकगीतको सङ्ग्रह पुर्खादेखि एल्बमकाे गीत सुनकाटी जन्तरै ठेट रोईला गीत हालै यूट्यूबमा सार्वजनिक भएको छ  ।

शुभग संगीत प्रतिष्ठानको प्रस्तुति रहेको यो गीत प्रथम पटक २०३४ सालमा लोक गायक फणीन्द्र सुवेदी र वरिष्ठ गायिका तिर्थकुमारीको स्वरमा रेकर्ड भएको थियो ।

त्यसताका यो गीत निकै चर्चित थियो । 

चालिस वर्षपछि यो गीतलाई गायक फणीन्द्र सुवेदी र गायिका माण्डवी त्रिपाठीको स्वरमा पुनः रेकर्ड गरिएको छ  ।

यस गीतका संकलक श्री दिपक विश्वकर्मा र श्रीमति मिला सुवेदी हुनुहुन्छ । 

६० वर्षीय सुवेदी भोजपुरको दिङलामा जन्मेर राजधानीमा बसोबास गर्दै गीतसंगीतको क्षेत्रमा क्रियाशील हुनुहुन्छ । 

उहाँले २०३४ सालमा रोइला गीत रेडियो नेपालमा रेकर्ड गराएपछि सुरु भएको गायन यात्रा बीचमा केही वर्षको लागि रोकिएकाे थियो ।

विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुमा काम गर्ने सिलसिलामा व्यस्तताका कारण उहाँले सांगीतिक यात्रालाई केही समय विश्राम दिनुपरेको थियो ।

 

अहिलेको नेपाली लोक गीतसंगीतमा मौलिकता हराइरहेकोमा गायक सुवेदी चिन्ता व्यक्त गर्नुहुन्छ । 

उहाँ भविष्यमा पुराना र आफूले मेचीदेखि महाकाली सम्म डुलेर संकलन गरेका मौलिक ठेट लोक गीतहरु मौलिक लोक बाजाहरुकाे प्रयोग गरेर रेकर्डिङ्ग गर्ने सोचमा हुनुहुन्छ ।

सुवेदीले रेडियो नेपाल मार्फत् मेचीदेखि महाकालीसम्म गाइने धेरै लोकगीतहरु श्रोता माझ प्रस्तुत गरिसक्नुभएको छ ।

 शास्त्रीय सङ्गीतमा प्रभाकर शिक्षा उत्तीर्ण लोक गायक सुवेदीका मङ्सिर महिना,  फुल्का खाँदैछु, पुर्खादेखि जस्ता धेरै लोक गीतहरु तथा भजनहरुको सङ्ग्रह (एल्बम) बजारमा आइसकेका छन् ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया