सरकार फेरिने हल्लासँगै प्रचण्ड र ओलीबीच ३ घण्टासम्म छलफल, अहिलेकै गठबन्धन बलियो बनाउने कुराकानी भएको दाबी

 असार १७, २०८१ सोमबार १८:०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमाले र नेपाली कांग्रेसबीच सहकार्यको हल्ला चलिरहेको बेला आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

हिजो लामै समय छलफल गरेका प्रचण्ड र ओलीबीच आज पनि झन्डै तीन घण्टा एक्लाएक्लै छलफल भएको छ । छलफलमा अहिलेको सत्ता समीकरण कसरी बलियो बनाउने, शान्ति प्रक्रिया कसरी टुङ्गोमा पुर्‍याउने, बजेटको प्रभावकारी कार्यान्वयन गरेर आर्थिक अवस्थामा कसरी सुधार ल्याउने लगायतका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

एमाले र कांग्रेसबीच नयाँ समीकरण बन्न लागेको हल्लालाई प्रधानमन्त्रीको सचिवालयले गलत भएको दाबी गरेको छ । गएको शनिवार कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच बालकोटमा साढे दुई घण्टा लामो छलफलपछि माओवादी झस्किएको छ ।

कांग्रेसका नेताहरूले एमालेसँग चाँडै समीकरणबारे सहमति हुने बताउँदै आएका छन् । उज्यालोसँगको कुराकानीमा कांग्रेसका नेता मीनेन्द्र रिजालले अब एमाले र कांग्रेस मिलेर अघि बढ्ने, संविधान संशोधन गरेर निर्वाचन प्रणाली सुधार्ने र साना दलको कारण सत्ता अस्थिर हुने अहिलेको अवस्था बदल्ने विषयमा सहमति हुन लागेको बताउनुभएको छ । लामो समय प्रयास गर्दा पनि सफल नभएको तर यसपटक कांग्रेस र एमालेबीचको सहकार्य सफल हुने रिजालको दाबी छ ।

तर एमाले र माओवादीका नेताहरूले भने दुई जना नेताहरूबीचको छलफललाई बढाइचढाइ गर्न उचित नहुने तर्क गरेका छन् । आजको संसद् बैठकमा माओवादीका सांसद माधव सापकोटाले नेताहरू भेटेकै विषयलाई लिएर सत्ता समीकरण फेरिने हल्लाको पछि लाग्न नहुने बताउनुभएको छ । उहाँले दुई नेताबीचको विषयलाई लिएर सत्ता नै फेरिन थाल्यो रे भन्ने खालका 'हेडलाइन' बन्नु अचम्मको कुरा भएको बताउनुभएको हो ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् गृहमन्त्री रवि लामिछानेले पनि सत्ता समीकरण परिवर्तन नहुने र त्यसको सम्भावना पनि नरहेको बताउनुभएको छ ।

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया