पाकिस्तानमा विषाक्त धूवाँका कारण एकैदिन १५ हजार जनाभन्दा धेर...
कात्तिक २९, २०८१ बिहिबार
गुरु पूर्णिमाको अघिल्लो दिन एक कम्युनिष्ट गुरुले भ्रष्टाचार गर्न सिकाउने आफ्ना अरू गुरुको सम्झना गरे । कांग्रेसले राजाबाट, एमालेले कांग्रेसबाट र माओवादीले एमालेबाट भ्रष्टाचार गर्न सिकेकाले भ्रष्टाचार गर्न सिकाउने कांग्रेसको गुरु राजा, एमालेको गुरु कांग्रेस र माओवादीको गुरु एमाले भए । राजासँगको सङ्गतबाट कांग्रेसले र कांग्रेससँगको सङ्गतबाट कम्युनिष्टहरूले भ्रष्टाचार गर्न सिके । अब कांग्रेस र कम्युनिष्टको सङ्गतले नयाँ पार्टीहरू भ्रष्टाचार गर्न सिक्दैछन् । अर्थात् भ्रष्टाचार गर्न सिकाउने गुरुहरू धमाधम थपिँदैछन् ।
अलि पहिले अहिलेका प्रधानमन्त्रीले कांग्रेसका सभापतिलाई हेर्दै संसद् विघटन गर्ने गुरुजी तपाईँ नै हो भनेका थिए । भर्खरै बालुवाटारबाट पोकापन्तुरा बोकेर खुमलटार सरेका माओवादीका अध्यक्ष आफूलाई उथलपुथलको गुरु ठान्छन् । तर उथलपुथल उल्टी खाएपछि उनी अरू गुरुहरूका चर्तिकला हेर्दै आफ्नो गुरुमन्त्रको जाँचपडतालमा व्यस्त छन् ।
राजनीतिमा नीति र थीतिभन्दा अराजनीति र बेथिति सिकाउने गुरूहरूको बिगबिगी छ । तर अहिलेलाई तपाईँ हाम्रै जीवनका गुरूहरूलाई सम्झौँ । माता पनि गुरु, धर्तीमाता पनि गुरु । बा पनि गुरु, हजुरबा हजुरआमा पनि गुरु । अक्षर सिकाउने सर, मिसहरू पनि गुरु । सङ्गीतलगायत कला सिकाउने, गायत्री–दीक्षा, मन्त्र–वेदमन्त्र दिने आचार्य, उमेर–बुद्धि–बल र अनुभवले पाका व्यक्ति पनि गुरु । पिता–माता, मामा, ससुरा, मावली बाजे, जिजुबुबा, ब्राह्मण र काका सबै गुरुकै कोटीमा पर्छन् । तर गुरु त अरू पनि कति छन् कति । तर गाडी चढ्दा बस चलाउने चालकलाई गुरुजी भन्ने र वर्षमा एकपटक आउने गुरु पूर्णिमामा शिक्षा–दीक्षा सिकाउनेलाई फेसबुकमा सम्झेजस्तो गरे पनि जिन्दगीका अरू गुरुहरूलाई मान्छेहरूले त्यति वास्ता गर्दैनन् ।
एकपटक जिन्दगीका पुराना पाना पल्टाएर हेरौँ त, हामीलाई कसले के के मात्र सिकाएनन् । स्कुलमा सर र मिसहरूले भन्दा धेरै कुरा त साथीहरूले सिकाए । मोजाको भकुन्डो, कागजको हवाईजहाज, पातीको चुङ्गी, चुईगमको धागो, पातलो ढुङ्गा घोटेर र प्लास्टिक पगालेर क्यारेमको गट्टी बनाउन साथीले सिकाए । ढुङ्गाको गट्टा, ग्यामबल, कपर्दी, छली, गुच्चा र खोपी खेल्न सिकाउने पनि साथी नै थिए । पाइपको टुक्रालाई गोलो पारेर काठको अङ्कुशे बनाएर गुडाउन र चिलाउनेको चोके काटेर गाडीको पाङ्ग्रो र सिट बनाउन सिकाउने पनि साथी ! चिप्लेटी र रुमाल लुकाइ खेल्न, डोरी नाघ्न, खर्ल्याङखुट्टी खेल्न, सुर्को नाघ्ने गरी डिलबाट हाम फाल्न, घरमा थाहा नपाउने गरी खोलामा पौडी खेल्न र माछा मार्न सिकाउने पनि साथीहरू नै हुन् नि । चोर–पुलिस खेल सिकाउँदै चोरको भूमिका गर्ने साथी नेता भइसक्यो, पुलिसको भूमिका खेल्ने साथी ट्राफिकमा छ । यत्रा विधि सीप र अनुभव सिकाउने साथीहरूलाई कसरी गुरु नमान्ने ?!
कक्षामा अघिल्लो बेञ्चमा बस्नेको कट्टुको पछिल्तिर कागजको पुच्छर हाल्न सिकाउने गुरु कहाँ होला ? उभिरहेको साथीको कट्टु तान्दिएर गललल्ल हाँस्न सिकाउने तर अर्कोले आफ्नो कट्टु तान्दिएको होश नपाउने गुरु अहिले कोट पाइन्टमा ठाँटिएर हिँड्ने भैसक्यो होला । भर्खर व्रतबन्ध गरेर आएको साथीको टोपी फुकाल्न, टुपी तान्न र जनै झिकेर फाल्न सिकाउने साथीलाई पनि त गुरु नै मान्नुपर्याे । चुईगमको रस सिद्धिएपछि मुखबाट झिकेर केटी साथी बस्ने बेञ्चमा टाँस्न सिकाउने त झनै ठूलो गुरु भैहाल्यो ।
कालोपाटीमा लेखिरहेका सर र मिसलाई कागजको डल्लो पोको पारेर हिर्काउन सिकाउने पनि गुरु । साथीदेखि सर मिसहरूको उपनाम राख्न सिकाउनेलाई झन् कसरी गुरु नमान्ने ? सर मिसले नसिकाउने कुराहरू सिकाउने सबै साथीसङ्गीहरू गुरु नै हुन् । जसले सधैँ स्कूल गइरहन खुट्टा उचाल्दिए, हौसला र प्रेरणा थपिरहे । कक्षामा सर मिसहरूले पढाउने मात्रै थिए भने को स्कूल गैरहन्थ्यो ! लेख्न, पढ्नभन्दा बढी उटपट्याङ गर्न पाइन्थ्यो र पो स्कूल जान मन लाग्थ्यो ।
अनि गोठालो जाँदा साथीहरूले भन्दा बढी उटपट्याङ कुरा सिकाउने गाउँका काका, दाइ, हजुरबाहरूलाई चाहिँ सम्झनु पर्दैन ? गाउँछिमेकका सबैजसो मान्छे कुनै न कुनै विषयका जानकार । पँधेरा र मेलापातमा जमघट भैरहने हजुरआमा, काकी, दिदीहरू पनि उत्तिकै खप्पिस । कसैले चिलाउनेको पात बजाउन सिकाए । कसैले दुईवटा औँला मुखमा राखेर सिट्ठी बजाउन सिकाए । कसैले ओठ चुच्चो पारेर सुसेली हाल्न सिकाए । कसैले बाँसको जहाज र धनुवाण बनाउन सिकाए । कसैले बाँसको ढुङ्ग्रोमा पिँडालुको बोक्रा खाँदेर बन्दुक पड्काउन सिकाए । कसैले गाईबाख्रा हराए भने एउटा हातको हत्केलामा थुक राखेर अर्को हातले छिट्याउने र थुकको छिट्टा गएको दिशातिर हराएको गाईबाख्रा हेर्न जाने विधि सिकाए । कसैले जुवातास खेल्न, चुरोट सुर्ती र जाँड–रक्सी खान सिकाए ।
कसैले माथ्लो बारीको डिलबाट पिसाब गरेर तल्लोबारीको डिलसम्म पुर्याउन सिकाए । कसैले पातीको फेदमा पिसाब गरेर पातीको बोट नै मार्न सिकाए । कसैले फोहोर कुरा बोल्न र गर्न सिकाए । तन्नेरी, तरुनी हुँदा मात्रै जान्नुपर्ने कुरा बालखैमा सिकाउनेहरू पनि सम्झनैपर्ने गुरुहरू हुन् ।
घरमा हजुरबाको जरिकोटको खल्तीबाट पैसा र पल्लोघरको आँगनबाट फूल चोर्न पनि आफैँ जानेको होइन । बाटो छेउछाउमा फलेका आँप, लिची, नासपाती, केरा चोर्न सिकाउने पनि गुरुहरू नै हुन् । घाँटीमा हातले छोएपछि फू गर्न सिकाउने पनि गुरु हुन् । बरु विज्ञान गुरुले पढाएको न्युटनको नियम बिर्सिसकियो तर हातले घाँटीमा छोयो भने फू गर्नुपर्छ भन्ने गुरुमन्त्र अझै बिर्सिएको छैन । पहिलेका यस्ता गुरु र गुरुमन्त्र सम्झने हो भने कति छन् कति !
अहिलेको कुरा गर्ने हो भने मोबाइलमा घण्टौँ घोप्टिन सिकाउने गुरुहरू नभइदिएका भए दिन कसरी बित्थ्यो ? फेसबुकमा रिल बनाउन, गेम खेल्न, लेख्न मिल्ने–नमिल्ने जे पनि लेख्न, हेर्न मिल्ने–नमिल्ने जे पनि हेर्न र देखाउनसमेत सिकाउनेहरू नभइदिएका भए बेरोजगारको सङ्ख्या कति बढ्थ्यो ? चोर्न सिकाउने गुरुहरू नभैदिएका भए प्रहरीमा जागिर खाइरहेका लाखौँ मान्छेहरू के गरेर बस्थे ? कुशासन र भ्रष्टाचार गर्न सिकाउने गुरुहरू नभैदिएका भए नेताहरूले के भनेर भोट माग्थे र आलोपालो कुर्सीमा घुमिरहन्थे ? अलिअलि यत्तिको लेख्न र पढ्न सिकाउने गुरुहरू नभइदिएका भए तपाईँ र म के गरेर बस्थ्यौँ ? त्यसैले जिन्दगीमा हुने र चाहिने मात्रै होइन, नहुने र नचाहिने कुरा सिकाउने गुरुहरूलाई सम्झना गर्दा कोही हलो, केही चलो र कोही भलो गुरुहरूको सम्झना आउँदो रहेछ । त्यसैले जीवनमा अनेक रङ्ग भर्ने हेल्लो गुरुजी ! चलो गुरुजी ! भलो गुरुजी !! सबैलाई सम्झौँ, खोजौँ र सम्मान गरौँ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।