पाल्पाको रामपुरमा बालबालिकाकाे मोबाइल हेर्ने बानी हटाउन सङ्गीत कक्षा

 साउन १०, २०८१ बिहीबार ७:२३:३२ | रासस
unn.prixa.net

तस्बिर : रासस

पाल्पा  – अहिले बालबालिकाले मोबाइलमा बढी समय व्यतित गर्न थालेका छन् । उनीहरु समय मिल्नासाथ मोबाइलमा झुम्मिन्छन् । बालबालिका मोबाइलप्रति आकर्षित हुन थालेपछि उनीहरुको बानी ब्रिगन्छ कि भनेर अभिभावक चिन्तित बनेका छन् । आफ्ना बालबच्चालाई मोबाइल हेर्ने बानी कसरी हटाउने भन्ने चिन्ता अभिभावकमा देखिन्छ । धेरैले यो बानी हटाउने उपाय खोजिरहेका छन् । तर, हटाउन भने नसकिरहेको अभिभावकहरु बताउँछन् । 

शैक्षिक क्षेत्रमा रचनात्मक क्रियाकलाप गराउँदै आइरहेको पाल्पा रामपुरको एउटा विद्यालयले भने नयाँ अभ्यास शुरु गरिसकेको छ । बालबालिकालाई मोबाइलमा व्यस्त रहने बानी हटाउन विद्यालयले साङ्गीतिक कक्षाको सुरुवात गरेको छ ।

रामपुर नगरपालिका–५ रामपुर आधारभूत विद्यालय अहिले सङ्गीतमय हुन थालेको छ । विद्यालयले सुरुवात गरेको सङ्गीत कक्षाले विद्यार्थी, अभिभावक मात्र नभइ. समुदायका अन्य विद्यालय, सरोकारवालाको ध्यानसमेत तानिरहेको छ । यहाँ बिहानको समयमा सङ्गीत कक्षा चलिरहेको छ । विद्यालय समयमा पढाइ प्रभावित नहोस् भनेर बिहान सङ्गीत कक्षा सञ्चालन गरिएको विद्यालयले जनाएको छ । 

विद्यार्थी हसिलो मुद्रामा उत्साहित हुँदै सङ्गीत सिकिरहेको दृश्य देख्न सकिन्छ । यो सिकाइले छिमेकी विद्यालय तथा समुदायमा राम्रो प्रभाव पारेको छ । विद्यार्थीलाई घरमा मोबाइल हेर्ने बानी हटाउन, बिदाको दिनमा विद्यार्थीले केही नयाँ कुरा सिकुन भनेर शैक्षिक सत्रको वर्षे बिदा शुरु भएपछि बिहानमा वाद्यवादन सिकाउन थालिएको प्रधानाध्यापक विजय शर्मा बताउनुहुन्छ । 

विद्यालयले हार्मोनियम, झ्याली, मादल, झुर्मा, बाँसुरी, मजुरा लगायतका विभिन्न बाद्यवादनका सामग्रीको बन्दोबस्त गरेको छ । बाद्यवादनका सामग्री खरिदका लागि जापानी नागरिक काजुमासा काकीमी (ओकेबाजे) ले ५० हजार रुपैयाँ सहयोग गरेको प्रधानाध्यापक शर्माले बताउनुभयो ।

ओकेबाजेको सहयोग र विद्यालयको आन्तरिक स्रोतबाट गरी करिब  एक लाख रुपैयाँको बाद्यवादनका सामग्री खरिद गरी सङ्गीत कक्षा थालनी गरिएको उहाँको भनाइ छ । विद्यार्थी तथा अभिभावक, सरोकारवाला निकायले विद्यालय समयमा नै सङ्गीतका लागि छुट्टै कक्षा सञ्चालन गर्न माग आएमा सङ्गीत कक्षा चलाउने प्रधानाध्यापक शर्मा बताउनुहुन्छ ।

सबै विद्यार्थीलाई एकै ठाउँमा राखेर नभइ समूह बनाएर फरक–फरक खालको बाजा बजाउन सिकाउने गरिएको छ । विद्यालयका सङ्गीतद्वय शिक्षक चोलाकान्ती विक र तुल्सी गौतमलाई बाद्यवादन सिकाइको जिम्मेवारी दिएर कक्षा चलाइरहेको छ । बिदाको समयमा हरेक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म सङ्गीत कक्षा सञ्चालन गरिएको छ । बाद्यवादन कार्यमा कक्षा २ देखि ८ सम्मका विद्यार्थी सहभागी छन् ।

विद्यालयबाट घरमा आएपछि गृहकार्य सकाएर मोबाइल हेर्ने, खेल्ने गरेर समय बिताउने गरेकोमा अहिले विद्यालयले सङ्गीत कक्षा शुरु गरेपछि मोबाइल हेर्ने समय रचनात्मक कार्यमा बिताइरहेको अभिभावक भगवती खनाल बताउनुहुन्छ ।

विद्यालयमा आएर मादल, हार्मोनियम लगायतका बाजा बजाउन सिक्दा रमाइलो लागेको कक्षा ६ मा पढ्ने छात्र प्रयास अधिकारीले बताउनुभयो । उहाँले घरमा गृहकार्य सकाएर विद्यालयमा विभिन्न थरीथरिका बाजा बजाउन सिकिरहनुभएको छ ।

अहिलेको समस्या भनेको बालबालिकालाई मोबाइल हेर्न कसरी छुटाउने भन्ने छ । यो समस्याले अभिभावलाई पिरोलिरहेको हुन्छ । सङ्गीत कक्षाले यो समस्या समाधानमा सहयोग गरेपछि यहाँका अभिभावक खुसी छन् ।

यहाँ सञ्चालन भएको सङ्गीत कक्षा बाद्यबादक भुपराज पौडेलले चलाउनुभएको छ । विद्यालयले यस कार्यलाई निरन्तरता दिँदै जाने जनाएको छ । विद्यार्थीलाई सैद्धान्तिक ज्ञान बाहेक रचनात्मक तथा सीपमूलक कार्यमा जोड दिएर विद्यालय सञ्चालन गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद गौतमले बताउनुभयो । 

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया