अटिजमबारे मेरो अन्तर्मनको कथा

 साउन १०, २०८१ बिहीबार १८:२९:५३ | अर्जुन कोन्दा
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – मलाई अस्पताल खासै जान मन पर्दैन । आखिर पञ्चभौतिक तत्त्वले बनेको शरीर न पर्‍यो मन नपरे पनि कहिलेकाहीँ बाध्यताले जानुपर्दाे रहेछ । केही महिनाअघिको कुरा हो । पारिवारिक कारणले अस्पताल जानुपर्ने भयो ।

टिकटका लागि अस्पतालको प्राङ्गणमा यताउति गर्दै थिएँ । अचानक मेरो नजर एक बालकमा पर्‍यो । बालकको रूपरङ्ग देखेर म प्रभावित भएँ । हेर्दै बोलौँझैँ लाग्ने त्यो सुन्दर बालकको कलिलो उमेर, आकर्षक शरीर देखेर म मन्त्रमुग्ध भएँ । अनायासै म बालकतिर आकर्षित भएँ । बालकमा सबै कुरा पूर्ण थियो । भगवानले एकदम फुर्सदमा बनाएको सृष्टिको अनुपम नमुनाजस्तै देखिएको थियो ।

सबै कुरा राम्रो हुँदाहुँदै म अकस्मात् बिचलित भएँ । बालकका हातहरू उसका बाबाले कसेर समाइएका थिए । उसका आँखाहरू गन्तव्यहीन दिशातर्फ भौतारिइरहेका थिए । ऊ आँखा जुधाएर हेर्न सक्दैन थियाे । उसका खुट्टाहरू दौडन तम्तयार देखिन्थे । उसका हातहरू कसिएर समाइएकोले होला, ऊ ठुल्ठुलो स्वरमा चिच्याइरहेको थियो । उसको चिच्याहटले अस्पताल नै थर्केको थियो । ऊ भन्दै थियो, ‘बाबा म पनि जाने ।’ कता जाने थाहा भएन तर उसका शब्दहरू दोहोरिइरहेका थिए ।

बेलुका घर पुग्दा अँध्यारो भइसकेको थियो । सपनामा मैले उनै बालकलाई देखेँ । बालकसँग शरीर र आत्मा दुवै थियो तर बोली थिएन । दुई चार शब्दबाहेक अरू केही थिएन । सायद ऊ हामीभन्दा फरक थियो । ऊ फरक थियो र सुन्दर थियो । उसले मलाई एकनासले हेरिरह्यो । भावले भरिएका उसका सुन्दर आँखाले केही भन्न खोजिरहेका थिए । बिस्तारै उसका ओठ सल्बलाउन थाले । उसका हातहरूले विभिन्न हाउभाउ गर्न थाले । म भावुक भई उसका कुराहरू सुन्न थालेँ । ऊ आफ्नी आमालाई सम्बोधन गर्दै थियो ।

आमा, सायद म स्वयंलाई थाहा छैन, म को हुँ ? कहाँ छु ? के गर्दैछु ? कोसँग बोल्दैछु ? मलाई यति पनि थाहा छैन कि मेरा आफन्त को हुन् ? मलाई माया गर्ने सबै आफन्तझैँ लाग्छन् । म तपाईंँ र बाबाबाहेक अरूलाई चिन्दिनँ । कहिलेकाहीँ म तपाईँलाई पनि बिर्सन पुग्छु अनि आमा कता छिन् भनी सोध्छु ।

मेरा कलिला हातहरू कहिले के गर्छन्, कहिले के ? मसँग हात छ तर हातमा लगाम छैन । मसँग मुख छ तर के बोल्ने थाहा छैन । थोरै शब्दहरू बोल्न सक्छु, त्यही दोहोर्‍याउँछु । मैले बोलेका कुराहरू म आफैँ बुझ्दिनँ । तपाईंँलाई झन् बुझ्न गाह्रो हुन्छ होला । तपाईंँका कुराहरू बुझ्न मलाई पनि कठिन लाग्छ । मलाई शब्दलाई मिलाएर प्रयोग गर्न आउँदैन । मेरो शब्दले भावलाई स्पष्ट बनाउन सक्दैन । तपाईंँ मेरो शब्दमात्र सुन्न सक्नुहुन्छ तर भावमा अलमलिनु हुन्छ ।

म मेरा साथीहरूसँग घुलमिल हुन सक्दिनँ । एक्लै खेल्न र दौडन मन लाग्छ । माथिल्लो ठाउँ चढ्न मन लाग्छ । नयाँ ठाउँमा डुल्न मन लाग्छ । आमा, तपाईँ मसँग डराउनुहुन्छ र सुँक्कसुँक्क गर्नुहुन्छ । मसँग स्मरण छ । म गन्ती गर्न सक्छु तर मैले गरेको गन्ती आफैँलाई गीतझैँ लाग्छ । अक्षरहरू चिन्दिनँ म, अक्षरहरू मेरा अगाडि छमछम नाच्छन् । लेख्न पनि सक्दिनँ । चित्रहरू सम्झन्छु तर एउटा चित्र हेरेर अर्कै शब्द बोल्छु ।

मलाई डुलिरहन मन लाग्छ । मेरो अवचेतन मन शरीरसँगै डुलिरहन्छ । मलाई एक ठाउँमा अल्झनु सजायझैँ लाग्छ । कहिलेकाहीँ आफ्नै आँखाले म चाहेको दृश्य हेर्न सक्दिनँ । आँखामा आँखा जुधाउन सक्दिनँ । प्रायः जसो खाना खाँदा पोखाउँछु । मेरो आफ्नै हातले मेरो मुख चिन्दैन । मलाई आफ्ना इन्द्रियहरू नै आफ्नो अधीनमा छैन जस्तो लाग्छ ।

म आफ्नो अभिभावक चिन्दिनँ । केले हानी हुन्छ ? केले फाइदा हुन्छ थाहा छैन । भान्सामा बस्दा आगो छोएर पोल्ने/नपोल्ने थाहा पाउँछु । पानीमा खेलेर पानीले भिज्छ भन्ने थाहा पाउँछु । मलाई नरमाइलो तब लाग्छ जब मैले हिजो सिकेका कुरा आज बिर्सिसकेको हुन्छु ।

मलाई नयाँ कुरा सिक्न मन लाग्छ आमा । मैले जति कोशिश गरे पनि नयाँ कुरा सिक्न सकिरहेको छैन । म किन तपाईँको संसारमा रम्न सक्दिनँ ? हिजोझैँ लाग्छ तपाईँले मेरो हात समाई तातेताते गराउनुभएको । आज पनि मलाई तातेताते गर्ने रहर छ । बुबाले काँधमा बोक्नुभएको त कहाँ बिर्सन सक्छु र आमा । तपाईँसँग जमेर गफिन मन छ, नसकेर पो त । अरूको जस्तै तपाईँको पनि व्यवहार फेरिएको छ । मलाई आजभोलि किन हिजोजस्तै व्यवहार गर्नहुन्न आमा ? म हिजो जस्तो थिएँ, आज नि उस्तै छु । मेरो शरीरको तौल र आकार बढेको होला, मेरो मन आज नि उस्तै छ ।

म विद्यालयमा साथीहरूसँग खेल्न चाहन्छु । मायाले अँगालो हाल्दा साथीहरू मसँग डराउँछन् । गुरुहरू मलाई भिन्न व्यवहार गर्नुहुन्छ । म अरूभन्दा बेग्लै रे । कहिलेकाहीँ विद्यालयबाट निकालिन्छु । तपाईँ मेरो स्कुल फेर्दा–फेर्दा थाक्नुहुन्छ । बेस्सरी रुनुहुन्छ, मानाँ मेरो कुनै भविष्य छैन । हो आमा, मेरो भविष्य छ । म पनि भोलि केही गर्छु ।

आज मलाई अटिजम भन्ने रोग लागेको छ आमा । हिजो मैले दुःख दिँदा मोबाइल दिएर भुलाउनुभो नि । अस्ति तपाईँ मेरो चिकित्सकसँग छलफल गरिरहँदा थाहा पाएँ कि त्यही मोबाइलले मेरो यस्तो हालत भएको रहेछ । म सानो छु । चकचक गर्छु । सम्झाउनुहोस् तर बदलामा मलाई मोबाइल नदिनुहोस् । मलाई नाच्न मन लाग्दा तपाईँ ताराबाजी लैलै गाउनुहोस्, म नाचौँला । तपाईँले देउसी रे भट्याउँदा देउसी रे भनौँला । खेल्न मन लाग्दा तपाईँसँगै खेल्ने मौका दिनुहोस् ।

मोबाइलको खेलभन्दा लुकामारी मज्जा लाग्छ । मलाई डुल्न मन लाग्दा प्राकृतिक सेरोफेरोमा डुलाउनुहोस् । मलाई रुखका हाँगा, पात र जराबारे बताउनुहोस् । अझ आकाशमा भुर्रर्र उड्ने चरा र तिनको गुँडबारे सिकाउनुहोस् । नजिक पाइने कुकुर, बिरालो र मुसाको आवाज नक्कल गर्न सिकाउनुहोस् । माटोमा खेल्न र रमाउन दिनुहोस् । खुला आकाशमुनि दुबोको घाँसमा हिँड्न सिकाउनुहोस् । बन्द कोठामा भन्दा प्रकृतिको काखमा खेल्न पाउँदा म साँच्चै खुशी हुन्छु ।

फुर्सदमा पीपलको छहारीमुनि बस्ने मौका दिनुहोस् । कर्कलाको पातमा अडेको पानी देखाई जीवनको महत्त्व सिकाउनुहोस् । म तुरुन्त बुझ्दिनँ होला, मलाई सिक्न समय लाग्छ । झर्को नमानी सिकाउनुहोस् । तपाईँ मलाई जति समय दिनुहुन्छ, म उति चाँडो निको हुन्छु आमा । मलाई पनि चाँडो निको हुने रहर छ । म फरक स्वभावको अवश्य छु तर कृपया मलाई अर्कै संसारको नठानी दिनुहोला ।

म थोरै शब्दहरू मात्र बोल्छु, दोहोर्‍याउँछु तर मेरो भाव बेग्लै हुन्छ । म अभिव्यक्त गर्न जान्दिनँ होला तर म भावशून्य छैन, होइन । समग्रमा मेरो चेतना मस्तिष्कको एक कुनामा लुकी बसेको छ । तपाईँहरूको साथले म चाँडै नै लुकिरहेको मेरो स्मरण, बुद्धि र चेतना खोजेर सामान्य बन्नसक्छु । ममा प्रतिभाको खजाना छ । सक्नुहुन्छ भने ती प्रतिभाहरू प्रस्फुटन गर्न सहयोग गर्नुहोस् ।

आमा, तपाईं मेरो उपचार गर्न अस्पताल जानुभएको मैले बिर्सेको छैन । रोग पत्ता नलागी तपाईँ छटपटिनुभएको भुलेको छैन । तपाईँ चिकित्सकसँग कुराकानी गर्दागर्दै एक्कासी चिच्याउनुभएको अझै याद छ । तपाईंको अमूल्य सन्तान एकाएक गायब हुँदा उर्लिएको मातृस्नेह देखेर म विह्वल छु ।

अस्पतालमा खोजीको साइरन बज्दा म एकक्षण बाहिर खेल्दै थिएँ । तपाईँ अतालिनुभयो । केही बेरपछि म सुरक्षागार्डसँग तपाईँसामु आइपुगेँ । तपाईँ शब्दहीन हुनुभयो र मलाई बेस्सरी अँगालो हालेर रुनुभयो । तपाईँको आँसुले मलाई पोल्छ आमा । तपाईँको प्रेमले म चाँडो निको हुन सक्छु । गुरुहरूको स्नेह र मायाले म अघि बढ्न सक्छु । साथीहरूको हिमचिमले असल कुराहरू सिक्न सक्छु, समाजमा घुलमिल हुन सक्छु ।

कतिलाई लाग्दो हो, यो पूर्वजन्मको फल हो तर सानो छँदा अत्यधिक मोबाइल फोनको प्रयोगले म यस्तो भएको हुँ । छोराछोरीले दुःख दिँदा, खाना नखाँदा मोबाइल दिने चलनले ममा समस्या देखिएको हो । आधुनिक विज्ञानले मोबाइलसँगै दिएको उपहारस्वरूप ममा अटिजम भन्ने रोग लागेको रहेछ आमा । यद्यपि रोगको प्रकृति हेरी समयमै निदानमा लागे रोग निको हुन सक्ने थाहा पाएर म खुशी छु ।

अब तपाईँले आफ्ना सन्तानलाई कहिल्यै पनि मोबाइलको लतमा नपार्ने प्रण गरेको हेर्न चाहन्छु । सपनामा उसले बाँकी के के बोल्यो, याद भएन । सपनाका कुराहरू सम्झिन पनि त गाह्रो छ । लाग्यो, उसको अन्तर्मनले आफ्नो कथा ममार्फत भन्न चाहेको हो ।

अल्बर्ट आइन्स्टाइनको पनि चार वर्षसम्म बोली फुटेको थिएन र सात वर्षसम्म शब्दहरू दोहोर्‍याउँथे । चार्ल्स डार्बिन पनि सानोमा समाजमा घुलमिल हुन सक्दैनथे । अटिजम भइकन पनि उनी एक महान् वैज्ञानिक बने । हामी भने अटिजमलाई रोगको रूपमा बुझिरहेका छौँ ।

अटिजम एक मानसिक अवस्था हो । यसले अटिजम भएको जोकोहीलाई भेट्दा अरूभन्दा फरक भएको महसुस हुन्छ । यही फरकपनालाई मौकाको रूपमा चिन्दैनौँ । अटिजमका अनेक कारणहरू छन् । कोही जन्मजात अटिजमका शिकार हुन्छन् त कोही प्रविधिको गलत प्रयोगले ।

हुन त यसबारेमा जति बोल्न सजिलो छ, व्यवहारमा उतिकै चुनौतीहरू छन् । राज्यले अटिजम भएकाहरूका लागि विशेष व्यवस्था गरेको छैन । केही सीमित सङ्घ–संस्थाको भरमा सञ्चालित यसको निदान र विशेष शिक्षा एकादेशको कथा बनिरहेको छ । यस्तो अवस्थामा अटिजम अभिभावकहरूका लागि चुनौतीको जटिल पहाड अवश्य हो । तरिका नजानेर हामी आफ्ना बालबच्चालाई थप जटिल समस्यातर्फ ढकेलिरहेका हुन सक्छौँ ।

कुन आमाबुबालाई आफ्ना सन्तानको माया हुँदैन ? सबैलाई आफ्ना सन्तानले प्रगति गरेको हेर्ने र उसको सुखमा रमाउने रहर हुन्छ । मायाको नाममा उमेरै नपुगी हामी सन्तानलाई मोबाइल किनिदिन्छौँ । उनीहरूले मोबाइलमा के हेर्छ ? के हेर्दैन ? हामीलाई थाहा हुँदैन । आफूलाई दुःख नदिए पुग्ने मानसिकताले कतै हामी आफ्नै सन्तानलाई आफूबाट टाढा बनाइरहेका त छैनौँ ? कतै हामी मायाको नाममा गल्ती त गरिरहेका छैनौँ ? यसको मतलब मोबाइल छुनै नहुने भन्ने होइन । विज्ञानलाई सही तरिकाले प्रयोग गरे वरदान साबित हुन्छ अनि नगरे अभिशाप ।

(भक्तपुरका अर्जुन कोन्दा ख्वप माध्यमिकमा विद्यालयमा अध्यापनरत हुनुहुन्छ । )

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अर्जुन कोन्दा

ख्वप माध्यमिक विद्यालय भक्तपुरमा अध्यापनरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया