उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
काठमाण्डौ – गोरखाको बारपाक सुलिकोट गाउँपालिका–६ की करुणा जोशीलाई विगतमा कोदोको महत्त्व त्यति धेरै जानकारी थिएन । महत्त्व नबुझेकै कारण खेती र उत्पादन गर्नेतर्फ उतिसारो चासो पनि भएन । तर विगत दुई/तीन वर्षयता उहाँले थोरै भए पनि कोदो रोप्न थाल्नुभएको छ ।
अनि हप्ताको एक पटक भए पनि भान्सामा कोदोको परिकार पकाउने र खाने गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘पहिला कोदोलाई गाउँघरमा कुअन्न भनेर हेला गरिन्थ्यो, हामीले पनि खासै चासो दिएका थिएनौँ, तर अहिले बिस्तारै यो बालीको महत्त्व बुझ्न थालिएको छ । म आफैँले हप्तामा एक पटक भए पनि रोटी, ढिडोँ र हलुवा बनाएर खाने गर्छु । साथीभाइ जमघट हुँदा पनि ढिडोँ बनाएर खाने गरेका छौँ ।’
बारपाक सुलिकोट–६ बाहकोटकी सरला श्रेष्ठ पनि यसै भन्नुहुन्छ । उहाँलाई पनि यतिबेला कोदो रोप्ने चटारो छ । गाउँघरमा अहिले पनि कोदोखेती परम्परागत पद्धतिमै गर्ने गरिएको श्रेष्ठ बताउनुहुन्छ । करुणा र सरलाजस्तै कतिपय किसानलाई कोदो रोप्न भ्याइनभ्याइ छ ।
विशेषगरी असार/साउनको दुई महिना धेरैजसो किसानलाई खेतीबाली लगाउने, गोडमेल गर्ने र मलको व्यवस्थापन गर्न भ्याइनभ्याइ हुन्छ । नेपालमा धान, मकै गहुँपछि कोदो चौथो मुख्य बालीका रूपमा रहेको छ । विगतमा कुअन्न भनिएको र गरिबको खान्कीका रूपमा लिने गरिएको कोदो पहिलेदेखि नै हेलामा परेको बाली हो । तर कोदो देशका सबैजसो जिल्लामा खेती हुन्छ ।
क्षेत्रफल घट्दो तर उत्पादन र उपभोग बढ्दो
कोदोजन्य बालीमा कोदो, जुनेलो, चिनो, कागुनो पर्छन् । पश्चिम क्षेत्रमा चिनो, कागुनो उत्पादन हुन्छ । कोदोका मुख्य ६ जात– रातो कोदो, ओख्ले–१, डल्ले–१, काभ्रे कोदो–१, काभ्रे कोदो–२ र सैलुङ्गे कोदो–१ सिफारिश भएका नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वरिष्ठ वैज्ञानिक डा. कृष्णहरि घिमिरे बताउनुहुन्छ । रैथाने बाली कोदो खाद्य सुरक्षा र स्वास्थ्यको हिसाबले महत्त्वपूर्ण बाली हो । कोदोको रोटी, ढिँडो, खोले, पुवालगायतका परिकार बनाएर खान सकिन्छ । तर तथ्याङ्कअनुसार पछिल्ला वर्ष कोदोजन्य बालीको क्षेत्रफल घट्दै गएको छ ।
आर्थिक वर्ष २०७०/७१ मा झन्डै २ लाख ७१ हजार हेक्टर क्षेत्रफलमा कोदो उत्पादन भए पनि अहिले घटेर २ लाख ६५ हजार हेक्टरमा झरेको छ । क्षेत्रफल घटे पनि उत्पादन भने केही बढेको पाइन्छ । आर्थिक वर्ष २०७०/७१ मा काेदाे उत्पादन ३ लाख ४ हजार टन थियो तर अहिलेको उत्पादन झन्डै ३ लाख २५ हजार टन पुगेको छ । कोदो लगाउने क्षेत्रफल घटे पनि उत्पादन र उत्पादकत्व बढ्नुको मुख्य कारण हाइब्रिड जात र मलको उचित प्रयोग रहेको कृषि विज्ञ बताउँछन् । उत्पादनसँगै अहिले कोदो खानुपर्छ भन्ने चेतना बिस्तारै बढ्दै गएको छ भन्नुहुन्छ नार्कका वरिष्ठ वैज्ञानिक डा. घिमिरे ।
माग धान्न आयात गर्नुपर्ने बाध्यता
देशभित्र कोदोको उत्पादन पर्याप्त नहुँदा माग धान्नकै लागि आयात गर्नुपर्ने बाध्यता छ । लागत महँगो पर्ने, खेती गर्न झन्झट, वन्यजन्तुबाट उत्पादन जोगाउन नसक्नेलगायतका कारण किसानले कोदो रोप्न छोड्दै गएका हुन् । त्यसमाथि अहिले गाउँघरमा काम गर्न सक्ने युवा जनशक्ति नहुँदा खेतबारी बाँझै हुन थालेको छ । अरू बालीमा जस्तो कोदोमा उन्नत प्रविधिको अभाव छ । यस्तै अनेक समस्याले कोदोखेतीमा किसानको आकर्षण बढ्न सकेको छैन । तर शहर बजारमा बस्नेहरूले कोदो खोज्न थालेसँगै पछिल्ला वर्ष माग उच्च छ ।
बजारमा कतिपय बिक्रेताले ‘यहाँ कोदो/फापरको पिठो पाइन्छ’ भनेर लेखेरै टाँस्नेसमेत गरेका छन् । कोदोको महत्त्व र फाइदा बुझ्न थालेसँगै उपभोक्ताले पिठोमात्र नभएर यसबाट बनेका परिकार पनि खोज्न थालेका छन् । यसैका कारण बाहिरबाट हुने आयात निकै बढेको छ । आर्थिक वर्ष २०७०/७१ मा तीन करोड तीन लाख रुपैयाँको मात्रै कोदो आयात भएको थियो । तर भन्सार विभागको भर्खरै सार्वजनिक तथ्याङ्कअनुसार झन्डै ७५ करोड रुपैयाँ बराबरको कोदो आयात भएको छ ।
कोदो प्रवर्द्धनका लागि प्रयास भइरहेको सरकारको दाबी
उन्नत प्रविधि, मल, बीउ र किसानलाई आकर्षित गर्ने खालका कार्यक्रम र कोदो खेती विस्तार सरकारको प्राथमिकता नपरेको किसानको गुनासो छ । अहिले आयात उच्च देखिए पनि कोदोलगायत रैथाने बालीको प्रवर्द्धनका लागि सरकारले शुरू गरेका कार्यक्रम र प्रयासबाट सकारात्मक नतिजा देखिन थालेको कृषि मन्त्रालयको दाबी छ ।
मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठकाअनुसार पालिकासँगको समन्वयमा कोदो खेती गर्ने किसानलाई प्रोत्साहन अनुदान पनि दिन थालिएको छ । विगत पाँच वर्षमा झन्डै चार सय पालिकामा कोदो प्रवर्द्धनका लागि एक अर्ब रुपैयाँ लगानी भएको अवस्था छ । उहाँ भन्नुहुन्छ, ‘खाद्य तथा पोषण सुरक्षा, जलवायु अनुकूलन, धार्मिक–सांस्कृतिक हिसाबले निकै महत्त्वपूर्ण बाली कोदोको खेतीको विस्तारलाई जोड दिनुपर्ने खाँचो छ । सरकारको प्रयासमा भइरहेका यस्ता कार्यक्रमबाट किसानको आयआर्जन बढाउन टेवा पुगेको छ ।’
साउन १५ लाई स्वतःस्फुर्त रूपमा मनाउने गरिएको कोदो दिवस
संयुक्त राष्ट्रसङ्घले सन् २०२३ लाई ‘अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष’ कै रूपमा मनाएको थियो । अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्षका रूपमा नेपालमा पनि विभिन्न कार्यक्रम गरिएको थियो । सरकारले साउन १५ लाई आधार मानेर कोदो दिवस मनाउने गरी प्रक्रिया अगाडि बढाएको कृषि मन्त्रालयका सहसचिव डा. श्रेष्ठले जानकारी दिनुभएको छ । सरकारले औपचारिक घोषणा नगरेको भए पनि नेपालमा विगत चार वर्षदेखि नै स्वतःस्फुर्त रूपमा साउन १५ लाई कोदो दिवसका रुपमा मनाउने गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।