काठमाण्डौमा साउन १५ गतेदेखि 'टेक एक्स' हुँदै, एआई र रोबोटको प्रदर्शनी मुख्य आकर्षण

 साउन १२, २०८१ शनिबार १८:२७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सूचना प्रविधिका विद्यार्थीले निर्माण गरेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोवटिक्स र साइबर सुरक्षासम्बन्धी परियोजनाको प्रदर्शनी 'टेक एक्स २०२४'  काठमाण्डौमा आयोजना हुने भएको छ ।

प्रदर्शनीमा रोबोटिक कुकुर, पुस्तकालय तथा विमानस्थल व्यवस्थापनलाई लक्षित गरी निर्माण गरिएका सहायक एआई रोबोट र गोदाम व्यवस्थापनको अर्धस्वचालित प्रविधि अवलोकन गर्न पाइने छ । काठमाण्डौको सफ्टवेरिका कलेज अफ आइटी एन्ड इकमर्सको आयोजनामा कलेज प्राङ्गणमा हुने प्रदर्शनी यही साउन १५ गतेदेखि २० गतेसम्म ६ दिन सञ्चालन हुनेछ ।

विद्यार्थीले पासवर्ड क्र्याकिङको विश्लेषण गर्ने रोबर्ट प्रदर्शनीमा राख्ने तयारी छ । प्रदर्शनीमा एआई रोबटिक टिचर, बैंकिङ रोबट, टुर गाइड रोबट, रोबट फूटबल, एआई असिस्टेन्ट फर आई हस्पिटल, रोबोटिक वेटर, वोबोट वारलगायतका ३० वटाभन्दा बढी रचनात्मक परियोजना रहनेछन् ।

प्रदर्शनीमा 'रोबोट वारियर्स लिग, २०२४' शुरुवातसमेत हुनेछ । लिगमा ४० वटाभन्दा बढी रोबर्टले विभिन्न कम्पनीको प्रतिनिधित्व गर्दै रोबो वार ब्याटलमा सहभागी हुनेछन् । लिग छ महिनासम्म चल्नेछ । 

कार्यक्रमको मुख्य उद्देश्य पछिल्लो समय आइटीको क्षेत्रमा भइरहेको आमूल परिवर्तनबारे जानकारी दिनु रहेको आयोजकले जनाएको छ । विद्यार्थीले आइटी अध्ययनपश्चात् जीवन उपयोगी सीप विकासमा कस्तो भूमिका खेलिरहेका छन् भन्नेबारे पनि कार्यक्रममा चर्चा गरिने कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताउनुभयो ।

'आइटीको क्षेत्रमा पछिल्लो समय के–कस्ता परिवर्तन भइरहेका छन् । यही क्षेत्रमा के–के परिवर्तन गर्न सकिन्छ । आइटी अध्ययनले हाम्रो जीवनमा कस्तो भूमिका खेलिरहेको छ । र, हामीलाई आइटी अध्ययन किन जरुरी छ भन्ने जस्ता कुराको ज्ञान दिन कार्यक्रम आयोजना गरिएको हो,' कलेज प्रमुख प्रमोद पौडेलले भन्नुभयो । उहाँले कार्यक्रममा सहभागी भएर प्रविधिको भविष्यलाई अनुभव गर्न अनुरोध गर्नुभएको छ ।

विद्यार्थीका सूचना प्रविधि लक्षित परियोजनाको प्रदर्शनी गर्दै 'आइओटी प्रदर्शनी' नामबाट सफ्ट्वेरिकाले शुरु गरेको प्रदर्शनीलाई गत वर्षबाट 'टेक एक्स' नाममा आयोजना गर्दै आइएको छ । यस पटकको कार्यक्रम चौथो स‌ंस्करण हो ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया