नाङ्गा मन्त्री, नाङ्गा बादशाह र गुण्डालाई झण्डा !

 साउन १३, २०८१ आइतबार १३:६:३० | मिलन तिमिल्सिना
unn.prixa.net

सिद्धान्त समावेशी र समानुपातिक भए पनि दलित, महिला र अल्पसङ्ख्यकले मन्त्री पद नपाए केही बिग्रन्न, तर गुण्डाको कोटा नछुट्याए सरकार चल्दैन, बरु ढल्छ । त्यसैले मन्त्रिपरिषदमा गुण्डालाई गद्दा छुट्टयाउनै पर्छ । नत्र साना ठूला पार्टीका शीर्ष कहलिएका नेताले गुन्टा बोकेर काशीको बाटो लाग्ने अवस्था आइहाल्छ । त्यसैले सङ्घदेखि प्रदेशसम्मका सरकारमा कुनै न कुनै गुण्डाले झण्डा हल्लाएकै हुन्छ । यसपटक पनि यस्तै भएको छ ।

सबैले गुण्डा भनेर चिन्ने दीपक मनाङे भनिने राजीव गुरुङ गन्डकीमा तथा बादशाह कुर्मी र रोज राणा भनिने सरोज थापा लुम्बिनीमा मन्त्री छन् । आमनागरिकको नजर र प्रहरीको रेकर्डमा उनीहरू हत्या, अपहरण, फिरौती, ज्यान मार्ने धम्की, मानव बेचबिखन र हातहतियार खरखजानाजस्ता अपराधमा मुद्दा खेपेका व्यक्ति हुन् । तर नेताहरूको नजरमा उनीहरू सरकार चलाउन विलक्षण प्रतिभा भएका सर्वगुण सम्पन्न मान्छे हुन् । उनीहरू विना न सुशासन सम्भव छ न समृद्धि । जो नामअनुसार मन्त्रिपरिषदमा ठाउँ पाउने र ठाउँ पाउनेबित्तिकै नामअनुसार काम गर्नु यी सबैको विशेषता हो ।

सबैभन्दा पहिले दीपक मनाङेको कुरा गरौँ । मनाङेलाई म नाङ्गे भन्न बढी सुहाउँछ । मनाङेलाई पार्टी र सरकारमा ल्याउन पहिले सबै पार्टीका नेताहरू नाङ्गिए । तँ नाङ्गो कि म नाङ्गो भन्ने प्रतिस्पर्धा चल्दा सबैको लगौँटी वर्षाैँ अघि खुस्कियो । लगौँटी फुकालेरै भए पनि तँछाडमछाड गरेर मनाङेलाई आफ्नो पार्टी र सरकारमा भित्र्याए । मनाङे त पहिलेदेखि नाङ्गो थिए नै, उनले सबै पार्टीका मै हुँ भन्नेहरूलाई पनि नङ्ग्याए । दलहरूको नाङ्गो नाचमा रमाउँदै उनी जो सत्तामा पुग्यो, उसकै पार्टीका मान्छे भैदिए । गण्डकीमा उनी सदाबहार मन्त्रीको रूपमा विराजमान छन् । मन्त्रीमा विराजमान भैसकेपछि पनि उनी बेलाबेला नाङ्गी रहन्छन् । अलि पहिले उनी कार्यकक्षमै कर्मचारी कुटेर नाङ्गिएका थिए । यसपटक चाहिँ उनी लुगै फुकालेर नाङ्गिए । गन्जी लगाएर मन्त्रालयको कुर्सीमा बसेको उनको तस्बिर सबैलाई यति धेरै मन पर्‍याे, सबैले त्यसको तारिफ गरिरहेकै छन् । गन्जी मात्रै लगाएको तस्बिर मन पर्नु उनको लोकप्रियता बढेको लक्षण हो भन्न अब कसैले पनि धक मान्नु पर्दैन । बिर्सिसकेका मान्छेले पनि म नाङ्गेलाई फेरि सम्झिएका छन् । उनलाई नामअनुसारको काम गर्ने अर्थात् बेलाबेला नाङ्गिने देशको प्रतिभावान् मन्त्रीका रूपमा देख्न पाउँदा नागरिक झनै कृतज्ञ छन् ।

अब लुम्बिनीका दुई जना मन्त्रीलाई हेरौँ । बादशाह कुर्मी र सरोज थापा अर्थात् रोज राणा । बादशाहलाई नेपालगञ्ज–१७ परस्पुरकी निर्मला कुर्मीको अपहरण तथा शरीर बन्धक तथा हत्या र उनको सम्पत्ति हडपेको कसुर लागेको छ । अरू सोझासिधा मान्छेलाई यस्तो आरोप लागेको भए प्रहरीले उहिल्यै झ्याँइकुटी पारेर लैजान्थ्यो र खोरमा जाकिसक्थ्यो । तर उनको त नाम नै बादशाह । बादशाह भन्नेबित्तिकै धेरैलाई नयाँ लुगा लगाएको ठानेर नाङ्गै हिँडेका राजाको कथा दिमागमा आउँछ । त्यो कथा एकजना यस्तो राजा अर्थात् बादशाहको विषयमा हो जो सधैँ नयाँ नयाँ पोशाक लगाउन मन पराउँथे । एकपटक दुई जना मान्छेले उनलाई अहिलेसम्म अरू कसैले सपनामा समेत नदेखेका असाध्यै राम्रो पोशाक तयार गर्न सक्ने दाबी गरे । मूर्ख र अयोग्य मान्छेले यस्तो पोशाक देख्न पनि नसक्ने भनेपछि बादशाहले आफ्ना लागि पोशाक तयार गर्न आदेश दिए । त्यसपछि उनीहरूले कपडा बुनेको, काटेको र सिएको अभिनय गरेर हावामा हात चलाउन थाले । बादशाहले आफ्ना मन्त्रीहरूलाई पोशाक तयार गर्ने कामको प्रगति कति भएको छ भनेर निरीक्षण गर्न पठाए । मन्त्रीहरूले पनि पोशाक आफ्नै आँखाले देखेको र त्यो असाध्यै राम्रो भएको कुरा बताए । वास्तवमा तिनीहरू कसैले केही पनि देखेका थिएनन्, तर उनीहरू मूर्ख बन्न अथवा आफ्नो पदका लागि अयोग्य हुन चाहँदैनथे । नयाँ कपडा तयार भैसकेको खबर आएपछि एकदिन बादशाहले एउटा विशेष कार्यक्रमको आयोजना गरेर त्यही समारोहमा नयाँ पोशाक लगाउने तयारी भयो । नयाँ पोशाक लगाउने निर्धारित दिनमा पोशाक बनाउँछु भन्नेहरूले बादशाहलाई पुराना सबै पोशाक फुकाल्न भने । त्यसपछि उनीहरूले नयाँ पोशाक लगाउन बादशाहलाई सघाएजस्तो गरेर हावामा हात चलाए । बादशाहका नोकरचाकरहरू आफूलाई मूर्ख बनाउन र आफ्नो पदका लागि अयोग्य हुनबाट बच्न चाहन्थे । त्यसैले तिनीहरू सबैले आँखा चिम्लेर नाङ्गै भएको बादशाहको प्रशंसा गरे । मख्ख पर्दै बादशाह नाङ्गै बाहिर निस्किए र विशेष समारोहका बीच अग्रपङ्क्तिमा बसेर निर्वस्त्र शहर घुम्न थाले । सडकका दुवै किनारामा लाम लागेर बसेका मानिसहरूले पनि आफूहरू मूर्ख बन्नुपर्ला र पदका लागि अयोग्य हुनुपर्ला भन्ने डरले सत्य कुरा भन्न सकेनन् र तिनीहरूले बादशाहको नयाँ पोशाक साँच्चै नै देखेझैँ गरेर प्रशंसा गर्दै जयजयकार गरे । तर एक जना बालकले अकस्मात् भन्यो, ‘आच्या, त्यो मानिसको शरीरमा त एउटा पनि लुगा छैन नि ! किन बुङ्गै हिँडेको हँ ?’

जब त्यस समारोहका मानिसहरूले बालकले भनेको त्यो कुरा सुने, तिनीहरू आफूले सुनेको कुरा आफू नजिकका अरू सबै मानिसलाई भने र तिनीहरू एकआपसमा मुखामुख गर्दै हाँस्न र कराउन थाले । ‘साँच्चै हो, बादशाह त सर्वाङ्ग नाङ्गै हुनुहुन्छ ।’ मानिसहरूबीच खासखुस गर्दै गरिएको त्यो कुरा पनि बादशाहले सुने । तर उनी अरूले देख्न नसक्ने लुगा लगाएको भ्रम पालेर नाङ्गै हिँडिरहे ।

लुम्बिनीका बादशाह र उनलाई मन्त्री बनाउनेहरूले त यो कथाका बादशाहलाई पनि लज्जित पारेका छन् । गण्डकीका मनाङेलाई आफू नाङ्गिँदै अरूलाई पनि पटकपटक नङ्ग्याएको कुरा थाहा छ, तर लुम्बिनीका बादशाह चाहिँ आफू नाङ्गो नभएको अभिनय गर्दैछन् । उनलाई मन्त्री बनाउनेहरूलाई त आफ्नै लगौँटी खुस्केको समेत पत्तो छैन ।

लुम्बिनीकै अर्का मन्त्री रोज राणा भनेर चिनिने सरोज थापाको कुरा गरौँ । उनी आफूलाई सरोज भन्दा पनि रोजको रूपमा चिनाउन चाहन्छन् । सरोज या रोज जे भने पनि उनी पार्टीको रोजाइमा सधैँ पर्छन् । पहिले उनी आफूलाई चलचित्र निर्माता र निर्देशकका रूपमा चिनाउँथे, अहिले पार्टीको नेता र मन्त्रीको रूपमा चिनाउन खोज्छन् । तर प्रहरीले उनलाई गुन्डागर्दीमा सामेल व्यक्तिको रूपमा चिन्छ । उनी विभिन्न कसुरमा ५ पटकसम्म पक्राउ पर्दै छुटेका व्यक्ति हुन् । तर नाम नै रोज भएपछि उनी पार्टीको रोजाइमा परिरहन्छन् र रोजेको अड्डाको गद्दामा बसिरहन्छन् ।

यी त भए नामअनुसार काम गर्ने र गराउने नाम चलेका केही झण्डावाल गुण्डाका कुरा । यसरी सरकारी अड्डाको गद्दामा बसेर झण्डा हल्लाउने अरू गुण्डाहरू कति छन् कति । नाम सुनिएका/नसुनिएका, देखिएका/नदेखिएका गुन्डाहरू गन्न थाल्ने हो भने डँडाल्नोमा डन्डा बर्सिन बेर छैन । त्यसैले सुशासन र समृद्धिका लागि काम गर्न आएको सरकारका मान्छेहरूको कुरा काटेर डाह नगरौँ । देशमा केही त हुन्छ हुन्छ भनेर मख्ख परौँ ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया