‘६०/७० हजार रुपैयाँ कमाउन विदेश जानै पर्दैन’

 मंसिर ७, २०७५ शुक्रबार १०:१५:२७ | मोहन पौडेल
unn.prixa.net

देशभित्र कामको अवसर पाइएन भनेर धेरै युवाहरु विदेशिएका छन् । हरेक दिन एक हजारदेखि १५ सय युवा कामको लागि विदेशिने गरेको तथ्यांक छ । उनीहरुमध्ये ७५ प्रतिशतभन्दा धेरै त अदक्ष कामदार छन् । दक्ष भएर जानेहरु २ प्रतिशत मात्रै छन् । उनीहरुले कामको अवसर छैन भनिरहेका बेला निर्माण व्यवसायीहरु भने महिनामा ७० हजारसम्म कमाउन विदेश जानै नपर्ने बताउँछन् । तर त्यसका लागि केही सीप सिक्नुपर्छ ? यसै सन्दर्भमा नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष पेम्बा लामा शेर्पासँग निर्माण क्षेत्रमा कामको अवसर र कमाईको विषयमा कुराकानी गरेका छौं । 

निर्माण क्षेत्रमा चाहिने कामदार कसरी ल्याउनुहुन्छ ? 

कामदार ल्याउने काम नाइकेले गर्छन् । नाइके भनेको नेतृत्व गर्ने मान्छे । हामीलाई कामदार चाहिएपछि उनीहरुलाई भन्छौं । सबैलाई हामीले नै ल्याउन सम्भव हुँदैन । त्यसैले उही एक जना मान्छेलाई हामीलाई यो यो काम गर्ने मान्छे चाहिएको छ । पैसा यति हुन्छ भनेपछि उसैले मान्छे खोजेर ल्याउँछ । 

तपाईंहरुले कामदार पाउन र कामदारले काम पाउन कत्तिको सजिलो हुन्छ ?

कामदार पाउन सजिलो छैन । भनेको बेलामा आफूलाई चाहिएको कामदार पाइँदैन । निर्माण क्षेत्रमा काम गर्ने मान्छे अरु क्षेत्रमा काम गर्ने मान्छे जस्तो चिटिक्ट परेर, सुकिलो मुकिलो भएर हिँड्न पाइँदैन । फिल्डमा प्रायः धुलो धुवाँमै काम गरिरहनु परेको हुन्छ । भनेको समयमा खान अनि आफूले चाहेको जस्तो बनेर हिँड्न पाइँदैन । त्यसैले पनि हत्तपत्त यो काम गर्न खोज्दैनन् मान्छेहरुले । 

निर्माण क्षेत्रमा तपाईंहरुलाई कस्ता कस्ता कामदार चाहिन्छन् ?

हामीलाई चाहिने कामदार भनेको लेबरदेखि सुरु हुन्छ । लेबर अनि त्योभन्दा अलिक सीप भएका मिस्त्रीहरु धेरै चाहिन्छ । त्योसँगै अपरेटर र ड्राइभरहरु पनि चाहिन्छ । मुख्य चाहिँ लेबर र मिस्त्री नै हो । यदि एउटा ठाउँमा २० जनाको काम छ भने त्यहाँ ८ जना मिस्त्री र १२ जना लेबर चाहिन्छ । 

कामदार नपाएर भनेको समयमा काम पूरा हुन नसकेको उदाहरण पनि छ ? 

छ नि, किन नहुनु । कामदार पाउन मुश्किल छ । पाइहाल्यो भने पनि आफूले भनेको ठाउँमा जान मान्दैनन् । 

कामदार नपाउनुको कारण चाहिँ के हो ? 

मिस्त्रीले देशमै बसेर भनेको बेलामा परिवारसँग भेट्ने समय पनि पाउँछ र ३५ हजार रुपैयाँसम्म कमाउँछन् । लेबरले २५ हजारसम्म कमाउँछन् । तर निर्माण क्षेत्रको काम गर्नेलाई हेर्ने समाजको दृष्टिकोण राम्रो छैन । त्यही भएर उनीहरु त्यति नै पैसा कमाउन विदेश गइरहेका छन् । 

त्यो कुरा हामीले दिनदिनै उनीहरुले भन्ने कुराबाट थाहा पाएका हौं । काम गर्छौं भनेर आएका कामदारहरु पनि आफ्नो गाउँठाउँमा काम गर्न चाहँदैनन् । हामीलाई अरु जिल्लामा पठाउने भए मात्रै काम गर्छौं भन्छन् । 

भनेपछि कामदारहरु यहाँभन्दा विदेश जानै खोज्छन् ? 

हो । त्यसको पछाडि अघि मैले भनेको जस्तो समाजको हेराइ त हो नै । अर्को कारण त्यहाँ पाउनु सुविधा पनि हो । सामान्य कुराको उदाहरण हेरौं न, हामीसँग निर्माण क्षेत्रमा काम गर्नेहरुले दिनभरी काम गरेर बेलुका न सफा सुग्घर भएर बस्न पाउँछन्, न त त्यही अनुसारको खाना खान नै । तर विदेशमा भनेको जति काम गरेर आएपछि आराम गर्नेसहित सुविधा हुन्छन् । त्यही भएर धेरैले विदेश जाने सोच बनाउँछन् । 

यहाँ कमाइ हुन्छ, तर बचाउँदैनन् । विदेशमा महिनामा एकैचोटी पैसा आउँदा बच्छ । अनि फेरि विदेश गएपछि चाहिँ परिवारभन्दा टाढा कमाउनकै लागि आएको हो, बचाउनुपर्छ भन्ने लाग्दो रहेछ कि क्या हो बचाउँछन् पनि । त्यसैले यहीँ काम गरेर विदेशको जति कमाउन सक्नेहरु पनि विदेश नै गइरहेका छन् । 

लेबर र मिस्त्री भन्नुभयो, लेबर र मिस्त्रीले कमाउने चाहिँ कति हो ? 

लेबरले २० देखि २५ हजार रुपैयाँ कमाउन सक्छन । मिस्त्रीले चाहिँ ३५ हजारसम्म कमाउँछन् । सरकारले त लेबरको दिनको ६ सय ५० रुपैयाँ तोकेको छ । तर यो दरमा त कसैले पनि काम गर्दैन । तर हामीले लेबरलाई ठाउँ हेरेर ८ सय र मिस्त्रीलाई दिनको १२ सयसम्म दिइरहेका छौं । 

भनेपछि त १५/२० हजार कमाउकै लागि त विदेश जानु पर्ने रहेनछ नि, हैन ? 

हो, यहाँ काम गर्ने हो भने विदेश जानु पर्दैन । तर समस्या त्यही छ आफ्नो ठाउँमा उनीहरु काम गर्न चाहँदैनन् । किनकी हाम्रो समाजमा उसले काम गरिरहेको छ भन्ने भन्दा पनि ज्यामी काम गर्छ भन्ने परिपाटी छ । जसले गर्दा युवाहरु यहाँ काम गर्न चाहँदैनन् । 

यी त लेबर र मिस्त्रीका कुरा भए । यही क्षेत्रमा अरु के कस्ता काम छन् अनि उनीहरुले कतिसम्म कमाउन सक्छन् ?

मुख्य त अघि मैले भनिहालें लेबर र मिस्त्री हो । त्यसपछि चाहिँ निर्माण क्षेत्रमा प्रयोग हुने साधनहरु ग्रेडर, लोडर, डोजर, टिपर, ब्याक लोडर जस्ता साधन चलाउने ड्राइभर र अपरेटरहरुको पनि त्यतिकै खाँचो छ । 

अपरेटरहरुको तलबचाहिँ कति हुन्छ ? 

अपरेटरहरुले ६० देखि ७० हजार रुपैयाँसम्म कमाउँछन् । अपरेटरहरुले दिनको ५ हजार त भत्ता मागिरहेका छन् । ४ हजारसम्म त हामीले दिइरहेका छौं । यो ग्रेडर चलाउने अपरेटरको । ग्रेडर भनेको सडक बनाउने ठाउँमा सम्याउन प्रयोग गरिने मेसिन हो । स्काभेटर चलाउनेहरुको दिनको दुई हजार रुपैयाँ भत्ता हुन्छ ।अनि महिनाको तलब १५ हजार रुपैयाँसम्म हुन्छ ।

ब्याक लोडर चलाउनेहरुको दिनमा १५ सय भत्ता हुन्छ अनि १० हजार तलब हुन्छ । उनीहरुले पनि महिनाको ४५÷५० हजार रुपैयाँ कमाइहाल्छन् । अनि रोलर चलाउनेहरु पनि ४० देखि ४५ हजारसम्म कमाउँछन् । अनि टिपर ड्राइभरहरुले पनि ४० हजार रुपैयाँ कमाउँछन् । 

त्यति कमाउन कस्तो सीप चाहिन्छ अनि कति समयको तालिम लिएको हुनुपर्छ ? 

यस्ता सीपहरु त विभिन्न इन्स्टिच्यूटहरु सिकाइरहेका छन् । तर त्यति मात्रै भन्दा पनि तालिम लिएर काम गर्दै सिक्दा चाहिँ प्रभावकारी हुन्छ । जस्तै गाडीमा सहयोगीको काम गरेर ड्राइभर भएको छ भने उसलाई धेरै कुरा थाहा हुन्छ । 

त्यसरी सिकेको छ भने गाडी कुदाउन मात्रै होइन त्यसमा कहिलेकाहीँ समस्या आइहाल्यो भने पनि बनाउन सकिन्छ । यहीँनेर जोड्न मन लाग्यो । अहिले यस्ता लेभी इक्युपमेण्ट अथवा ठूला सवारी साधन मर्मत गर्ने जनशक्तिको अभाव छ । उनीहरुले दिनको ४ हजार भत्ता लिन्छन् । त्यति हुँदा पनि यस्ता कामदार पाउन समस्या छ । अहिले मैले मेरो कम्पनीमा काम गर्न एक जना कामदार राखेको छु, ठूला सवारी साधन बनाउने । उनलाई मैले महिनाको ५० हजार रुपैयाँ तलब दिएको छु खाने, बस्ने सुविधासहित । 

भनेपछि निर्माण क्षेत्रमा त धेरै अवसर पो रहेछन् त । 

हो नि । हामीले यकिन तथ्याङ्क त राखेका छैनौं, तर यो क्षेत्रमा अहिले झण्डै १२ लाखले रोजगारी पाएका छन् । त्यसमा लेबर र मिस्त्रीको सङ्ख्या जोडिएको छैन । किनकी उनीहरु स्थायी रुपमा हुँदैनन् । काम परेको बेलामा ल्याउँछौं, अनि काम सकिएपछि उनीहरु फेरि अर्को ठाउँमा जान्छन् । 

 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मोहन पौडेल

मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।    

2 Comments

  • yog bahadur gurung Ganga jamuna gaupalika

    Nov. 24, 2018, 12:13 p.m.

    निर्माण मजदुरलाई स्थानीय निकायमा मजदुरहरुको पंजीकरण गर्ने व्यवस्था गरियोस /पंजीकरण गर्न मान्यताप्राप्त ट्रेडयुनियनको शिफारिस अनिवार्य गरियोस / मजदुरलाई परिचयपत्र दिने व्यवस्था गरियोस / भवन निर्माणको नक्सा पास गर्दा नै निर्माण मजदुरहरुको अनिवार्य दुर्घटना बीमा गर्ने व्यवस्था गरियोस /अंगभंग भएमा बाँच्न पुग्ने गरि रकमको व्यवस्था तथा मृत्यु न्हेमा उचित क्षतिपूर्तिको व्यवस्था गरियोस / निर्माण मजदुरलाई काम गरेको अनुभवको आधारमा दक्षताको प्रमाणपत्र स्थानीय निकायवाट दिने व्यवस्था तथा स्थानीय निकायवाट मजदुरलाई कार्य दक्षता अभिवृद्दिको लागि डकर्मी, बिद्द्युतकर्मी , प्लम्बर, सिकर्मी, पेंटिंग सम्वन्धी तालिमको लागि हरेक आर्थिक वर्षको बजेट समेत व्यवस्था गरियोस / वालश्रम मुक्त नगरपालिका घोषणा गरियोस/भवन निर्माणको काम गर्ने र गराउने बिच अनिवार्य लिखित सम्झौता र सुरक्षा सामग्री घरधनीले नै दिने व्यवस्था गरियोस/निर्माण क्षेत्रमा भएको असमान ज्याला दिने लैंगिक बिभेद अन्त्य गरि समान ज्याला अनिवार्य लागु गरियोस/ ....भित्रका भवन निर्माणका लागि निर्माणकर्ताले दक्ष निर्माणकर्मी छनौट गरिमात्र नक्सापासको व्यवस्था गरियोस/....भित्र हुने निर्माणका विभिन्न समस्यावारे स्थानीय निकाय र ट्रेडयुनियन छलफल गर्नकोलागी मान्यताप्राप्त युनियनको सहभागितामा श्रम विवादसमाधान समिति गठन गरियोस / ..

  •  0 Reply
  • Samshudin

    Nov. 23, 2018, 7:22 p.m.

    8 Years experience as a loader opretor at doha qatar , nowadays live in nepal cont.9803569114

  •  0 Reply

तपाईको प्रतिक्रिया